आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘हामी खरबुजा होइन, गाजर जस्तो स्पष्ट सरकार हौँ’ : मुख्यमन्त्री बानियाँ

मङ्गलबार, १९ जेठ २०८३, २० : २२
मङ्गलबार, १९ जेठ २०८३

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जे बोल्छ, त्यही व्यवहारमा उतार्ने दाबी गरेका छन् । 

मंगलबारकाे प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री बानियाँले आफ्नो सरकार ‘भित्र र बाहिर’ एउटै भएको बताए ।

मुख्यमन्त्री बानियाँले स्पष्ट र पारदर्शी रहेको दाबी गर्दै सरकारलाई ’गाजर’ सँग तुलना गरे । मुख्यमन्त्रीले आगामी बजेटमा स्थानीय उत्पादन (रैथाने) लाई विशेष प्राथमिकता दिइने बताए । प्रदेशका ११९ वटै पालिकामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी सरकारले कार्यक्रम तयार गरेको उनले बताए ।

‘मान्छेको स्वभाव दुई किसिमको हुन्छ । एउटा खरबुजा जस्तो– बाहिर हेर्दा हरियो, भित्र रातो, अर्थात् मुखमा एउटा र मनमा अर्कै कुरा हुने । तर यो सरकार गाजर जस्तै हुन्छ । जो बाहिर पनि रातो र भित्र पनि रातो छ । हामी जे बोल्छौँ, त्यही गर्छौँ ।’ उनले भने, ‘सूचकका आधारमा पछाडि परेका पालिकाहरूमा रैथाने उत्पादन सङ्कलन केन्द्र र प्रशोधन केन्द्र स्थापना गरिनेछ । साथै, एक पालिका, एक खाना घरको अवधारणालाई बजेटमार्फत ठोस रूपमा कार्यान्वयन गरिनेछ ।’

मुख्यमन्त्री बानियाँले बजेट निर्माणमा नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई सम्बोधन गर्ने बताए । विशेष गरी दलित सशक्तीकरणका लागि बजेटमा निश्चित रकम नै विनियोजन गरिने बताए । नीति तथा कार्यक्रम एउटा बाटो मात्र भएको र बजेटमा हामी ठोस कार्यक्रम र रकमसहित आउने उनको उनको भनाई छ।

संसद् विचार विमर्शको थलो भएको र सरकार रचनात्मक आलोचना सुन्न सधैँ तयार रहेको उनले बताए। उनले नीति तथा कार्यक्रमलाई साझा दस्ताबेजको रूपमा लिन आग्रह गरे । सरकार गरी खाने वर्ग, किसान र मजदुरहरूको पक्षमा रहेको र सीप विकास तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिने मुख्यमन्त्री बानियाँको भनाइ छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप