बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त
बुधबार, २० जेठ २०८३, २२ : १०
बुधबार, २० जेठ २०८३

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरी पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
  • नयाँ मन्त्रीहरूमा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना समावेश छन्।
  • नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्‌मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक सांसदलाई मन्त्री बनाइएकाे छ । 

नयाँ जिम्मेवारीअनुसार एमालेका तुलसीप्रसाद चौधरी लाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए।

यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप