बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस

बिहीबार, २१ जेठ २०८३, १५ : ०९
बिहीबार, २१ जेठ २०८३

सारांश

  • प्रसिद्ध चलचित्र निर्देशक मार्टिन स्कोर्सेसले चलचित्र निर्माणको प्रि-प्रोडक्सन प्रक्रियामा आफूलाई सिर्जनात्मक रूपमा स्वतन्त्र महसुस गराएको भन्दै एआई प्रविधिलाई समर्थन गरेका छन् ।
  • स्कोर्सेसले एआई प्रयोग गरेर स्टोरीबोर्डका लागि तत्कालै तस्बिरहरू तयार गरेको र यसले कल्पनाहरूलाई अझ स्पष्ट र प्रभावकारी रूपमा बुझाउन सहयोग गर्ने बताएका छन् ।
  • चलचित्र उद्योगका केही व्यक्तिहरूले एआईले सिर्जनात्मक प्रक्रिया र रोजगारीमा पार्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गर्दै स्कोर्सेसको आलोचना गरेका छन् ।

प्रसिद्ध चलचित्र निर्देशक मार्टिन स्कोर्सेस हलिउडमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगबारे चलिरहेको तीव्र बहसमा प्रवेश गरेका छन् । उनले एक एआई प्रविधिलाई समर्थन गर्दै यसले चलचित्र निर्माणको ‘प्रि–प्रोडक्सन’ प्रक्रियामा आफूलाई ‘सिर्जनात्मक रूपमा स्वतन्त्र महसुस गराएको’ बताएका छन् । 

‘ट्याक्सी ड्राइभर’, ‘गुडफेल्लास’ र ‘द वुल्फ अफ वाल स्ट्रिट’ जस्ता चर्चित चलचित्रका निर्देशक स्कोर्सेस एआई कम्पनी ब्ल्याक फरेस्ट ल्याब्सका सल्लाहकार बनेका छन् । उनले आफूले ‘दर्शकहरूका लागि अझ गहन र सशक्त अनुभव सिर्जना गर्दै सिर्जनशिलताको सीमालाई विस्तार गर्न’ चाहेको बताएका छन् । 

कम्पनीले सार्वजनिक गरेको एक भिडिओमा स्कोर्सेसले एआई प्रयोग गरेर तत्कालै स्टोरीबोर्डका लागि तस्बिरहरू तयार गरेको देखाइएको छ, ती स्टोरीबोर्डहरूले मुख्य पात्र, स्थान र दृश्यहरू कस्ता देखिनुपर्छ भन्ने कुरा देखाउँछन् । 

स्कोर्सेस एआईलाई खुलेर अँगाल्ने पछिल्ला चर्चित निर्देशक बनेका छन् । तर चलचित्र उद्योगका केही व्यक्तिहरूले यसले सिर्जनात्मक प्रक्रिया र रोजगारीमा पार्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गर्दै उनको आलोचना गरेका छन् । 

८३ वर्षीय ओस्कार विजेता स्कोर्सेसले एक वक्तव्यमा आफूले सधैं स्टोरीबोर्डमार्फत ‘आफ्नो दिमागमा देखेको कुरा कलाकार र प्राविधिक टोलीलाई बुझाउन कठिनाइ’ हुने गरेको बताएका छन् । उनले भने, ‘म प्रविधि र कथावाचनको संयोजनमा रुचि राख्छु, र यसले कसरी सिर्जनशिलताको सीमालाई विस्तार गरेर दर्शकका लागि अझ गहन र सशक्त अनुभव पस्कन सक्छ भन्ने कुरा हेर्न चाहन्छु ।’

उनले थपे, ‘सिनेमा अझै तन्नेरी माध्यम हो, यसको इतिहास करिब १२५ वर्ष मात्रै भएको छ । त्यसैले यसको विकास कसरी हुन्छ भन्ने विषयमा हामी उदार हुनुपर्छ ।’ 

स्कोर्सेसले सन् २०११ को चलचित्र ह्युगो मा थ्रीडी प्रविधि प्रयोग गरेको र सन् २०१९ को चलचित्र द आइरिसम्यानमा पात्रहरूलाई जवान देखाउने ‘डी–एजिङ’ प्रविधि प्रयोग गरेको स्मरण गराए । अब एआईले उत्पादन डिजाइनर, कला निर्देशक र छायांकन निर्देशकलगायत आफ्ना रचनात्मक सहकर्मीहरूलाई आफ्ना कल्पनाहरू ‘अझ स्पष्ट र प्रभावकारी रूपमा’ बुझाउन मद्दत गर्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘मैले हालै एउटा दृश्यमा यसको परीक्षण गरें । स्टोरीबोर्डलाई दृश्यात्मक रूपमा तयार गरेर तुरुन्तै देखाउन सक्ने क्षमताले मलाई सिर्जनात्मक रूपमा सहज बनायो ।’ ‘पूर्वतयारी (प्रि–प्रोडक्सन) प्रक्रियामा समय भनेको पैसा हो । यसले गुणस्तर वा कलात्मकता घटाउनुपर्ने अवस्था नआउँदै हामीलाई छिटो अघि बढ्न मद्दत गर्‍यो,’ उनले थपे ।

तर स्कोर्सेसको यो उत्साह चलचित्र उद्योगका केही सदस्य र प्रशंसकका लागि भने पाच्य भएन ।

कार्ला ओर्टिज जसले एभेन्जरः इन्डगेम, ब्ल्याक प्यान्थर र डक्टर स्ट्रयान्ज जस्ता चलचित्रहरूको कला विभागमा काम गरेकी थिइन्, उनले सामाजिक सञ्जाल एक्समा लेखिन्ः

‘उनले आफ्नो करियरभर काम गरेका सबै स्टोरीबोर्ड कलाकारहरूलाई धोका दिएका छन् । उनी ती कलाकारहरूको जीविकोपार्जन ध्वस्त पार्ने प्रविधिको समर्थन गरिरहेका छन्, जबकि ती एआई मोडेलहरू सम्भवतः त्यही कलाकारहरूको काममा आधारित भएर प्रशिक्षित भएका हुन् ।’ 

उनले थपिन्, ‘आफ्नो विरासत र प्रभावलाई यसका लागि प्रयोग गर्नु अत्यन्तै घृणित कुरा हो ।’

एनिमेसन निर्देशक स्यामुयल डेट्सले भने, ‘मलाई एउटा दृश्यको स्टोरीबोर्ड बनाउन केही सेकेन्ड मात्र लाग्छ । लाखौं कलाकारको चोरिएको भनिएका काममा आधारित एआईको आवश्यकता नै छैन । आफ्नो पेशाप्रति केही गर्व र सहकर्मीहरूप्रति सम्मान देखाउनुपर्छ ।’

सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भने स्कोर्सेस र चलचित्र क्षेत्रमा एआई प्रयोगको पक्षमा तर्क गरे । एक प्रयोगकर्ताले लेखे, ‘एआई प्रयोग गर्नु भनेको सीजीआई जस्तै अर्को विशेष प्रभावको साधन मात्र हो । स्कोर्सेस पहिले पनि यस्ता प्राविधिक विकासहरूको विरोधी थिएनन् ।’

अर्काले भनेका छन्, ‘यदि एआईले स्कोर्सेसजस्ता व्यक्तिलाई आफ्नो छायांकन निर्देशक वा निर्माण टोलीलाई आफ्नो कल्पना अझ छिटो देखाउन मद्दत गर्छ भने, त्यसमा समस्या देख्दिनँ ।’ उनले थपे, ‘त्यो अवस्थामा एआईले सिर्जनशिलतालाई प्रतिस्थापन गरेको जस्तो होइन, बरु सिर्जनात्मक प्रक्रियालाई अझ राम्रो तरिका उपलब्ध गराएको जस्तो लाग्छ ।’ 

स्कोर्सेस एआईको सम्भावनाबारे उत्साहित हुने पहिलो चर्चित निर्देशक भने होइनन् । निर्देशक डारिन अरोनोफ्स्कीको स्टुडियोले छोटो चलचित्रहरूको एक शृंखलामा एआई प्रयोग गरेर अमेरिकी क्रान्तिको पुनर्निर्माण गरेको थियो । त्यस्तै स्टेभन सोडरबर्गले जोन लेनन सम्बन्धी नयाँ वृत्तचित्रमा दृश्य सिर्जना गर्न एआई प्रयोग गरेका छन् । 

स्वर्गीय अभिनेता भाल किल्मरलाई पनि एआईमार्फत पुनः सिर्जना गरी आगामी चलचित्रमा देखाइने भएको छ । उनले अप्रिल २०२५ मा निधन हुनुअघि उक्त चलचित्रमा अभिनय गर्ने सम्झौता गरेका थिए । निर्देशक स्टेभन स्पाइलबर्गले हालै एआईले छायांकन स्थल खोज्ने जस्ता काम गरेर ‘हामीलाई धेरै मेहनत बचाउन’ सक्ने बताए । तर उनले एआईलाई ‘ठूलो टुलबक्स भित्रको एउटा साधन मात्र’ हुनुपर्ने र सिर्जनात्मक निर्णयमा ‘अन्तिम निर्णयक’ भने हुनुहुँदैन भन्ने धारणा व्यक्त गरेका छन् । 

त्यसैगरी निर्देशक गुइलरमो डेल तोरोले गत वर्ष आफू एआई प्रयोग गर्नु भन्दा ‘मर्न तयार’ रहेको टिप्पणी गरेका थिए । 

मंगलबार निर्देशक अदाम सान्कम्यानले आफ्नो नयाँ चलचित्र स्टप! स्टप! स्टप! मा एआई प्रयोग गरिएको भन्ने दाबीको प्रतिवाद गरे । उक्त चलचित्रमा रुपाउलले अभिनय गरेका छन् । सान्कम्यानले इन्स्टाग्राममा लेखे, ‘स्टप! स्टप! स्टप! का प्रत्येक दृश्य मानव हातले बनाइएको हो । चलचित्रमा एआईद्वारा कल्पना गरिएका दृश्यहरूको संख्या शून्य छ ।’ उनले थपे, ‘हामीले सयौं भिजुअल इफेक्ट्स (भिएफएक्स) कलाकारहरूलाई रोजगारी दिएका थियौं, जसले चलचित्रलाई प्रदर्शनका लागि तयार पार्न अथक मेहनत गरे । कुनै पनि काम मानव हातबाट खोसिएको छैन ।’ 

बीबीसीबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप