भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
सारांश
- नेपाल क्रिकेट सङ्घ (क्यान) ले भुटानी ब्याटरलाई 'टाइम-आउट' आउट गराएको घटनामा भुटान क्रिकेट, खेलाडी र सरोकारवालाहरूसँग माफी मागेको छ ।
- क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा खेलको नियमभित्र रहेर आउट गराइएको भए तापनि यसले क्रिकेटको साख र मूल्य मान्यतालाई प्रतिनिधित्व नगर्ने उल्लेख छ ।
- क्यानले क्रिकेटको लिखित नियमभन्दा माथि खेल भावना रहने र मैदानमा सधैँ खेल भावनालाई नै केन्द्रमा राख्नुपर्ने कुरा स्पष्ट पारेको छ ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सम्पन्न खेलमा भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनाप्रति आधिकारिक रूपमा माफी मागेको छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले गरेको उक्त निर्णय खेलको भावना विपरीत भएको स्वीकार गर्दै क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सरोकारवालाहरूसँग क्षमायाचना गरेको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा खेलको नियम भित्रै रहेर आउट गराइएको भए तापनि यसले क्रिकेटको साख र मूल्य मान्यतालाई प्रतिनिधित्व नगर्ने उल्लेख छ ।
क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीको उक्त कदमप्रति दुःखी भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आजको खेलमा भुटानी ब्याटरलाई टाइम–आउट गराइएको घटनाले नेपाल क्रिकेट सङ्घले सदैव आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य र भावनालाई झल्काउँदैन। यस विषयमा हाम्रो राष्ट्रिय महिला टोलीले चालेको कदमका लागि नेपाल क्रिकेट सङ्घका तर्फबाट हामी हार्दिक माफी माग्दछौँ ।’
क्यानले क्रिकेटको लिखित नियमभन्दा माथि खेल भावना रहने र मैदानमा सधैँ खेल भावनालाई नै केन्द्रमा राख्नुपर्ने कुरा स्पष्ट पारेको छ। एक विकासोन्मुख क्रिकेट राष्ट्रका रूपमा नेपालले सधैँ खेलकुदको मर्यादा, आपसी सम्मान र फेयर प्लेलाई उच्च प्राथमिकता दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
यो घटनाले क्यानले तय गरेको उच्च मापदण्ड पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट पर्न गएको निराशाप्रति सङ्घले खेद प्रकट गरेको छ। क्यानले भुटान क्रिकेट र सम्बन्धित ब्याटरलाई सम्बोधन गर्दै लेखेको छ, ‘हामी भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सबै सरोकारवालाहरूसँग निष्कपट माफी चाहन्छौँ ।’
मैदानभित्र र बाहिर दुवैतर्फ क्रिकेटको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान सदैव दृढ प्रतिबद्ध रहने प्रतिबद्धता सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्रिकेट इतिहासमा विरलै हुने यस्ता ’टाइम–आउट’ का घटनाले खेल भावनाको विषयलाई लिएर विश्वभर नै ठुलो बहस निम्त्याउने गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण