अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
सारांश
- निर्मला कुमारी फुलाराले संघर्ष गरेर सुदूरपश्चिम प्रदेशबाट डिभिजनल वन अधिकृत बन्ने पहिलो महिलाको कीर्तिमान कायम गरेकी छन् ।
- आमाको प्रेरणा र बुवाआमाको फरक सोचले गर्दा निर्मलाले पढाइलाई निरन्तरता दिइन्, विवाह र सन्तानपछि पनि शैक्षिक यात्रा जारी राखिन् ।
- निर्मलाले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी उपसचिव पदमा बढुवा भई सुदूरपश्चिमबाट यो पदमा पुग्ने पहिलो महिला बनेकी छन् ।
धनगढी । निर्मला कुमारी फुलाराकी आमा पढेलेखेकी थिइनन् । कलमको अक्षरको महत्त्व भने राम्रोसँग थाहा थियो उनलाई । घाँस–दाउरा र मेलापातमा आफ्नो जीवन बिताएकी उनले छोरी निर्मलालाई सधैँ एउटै कुरा भनिरहन्थिन्- ‘तिमीले घाँस–दाउरामा ध्यान दिनुभन्दा कलमको टुप्पोबाट जीवन जिउन सिक्नुपर्छ ।’
आमाको त्यही साथ र सुझावले ४४ वर्षीय निर्मला आज सुदूरपश्चिम प्रदेशबाट ‘डिभिजनल वन अधिकृत’ अर्थात् उपसचिव हुने पहिलो महिला बनेकी छन् । रेन्जरबाट सरकारी सेवा प्रवेश गरेकी उनी अहिले वन सेवाको माथिल्लो तहमा पुगेर धेरैका लागि प्रेरणाको स्रोत बनेकी हुन् ।
डोटीको शिखर नगरपालिका–६, चुडी गाउँमा जन्मिएकी निर्मला चार भाइबहिनीमध्येकी जेठी छोरी हुन् । उनी जन्मिएको समयमा सुदूरपश्चिमका गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना खासै विकास भइसकेको थिएन । खेतीपाती र सानो किराना पसल चलाएर जीविकोपार्जन गर्ने उनका आमाबुवाको सोच भने अरूभन्दा केही फरक अर्थात् छोराछोरीलाई धेरै पढाउने सपना थियो ।
एक पटक निर्मलालाई कक्षा ८ पढ्ने बेला विवाहका लागि घरमा प्रस्ताव आएको थियो । पढ्ने उमेरमा कहाँ छोरीको बिहे गर्छु भनेर आमाबुबाले बिहेका लागि आएका प्रस्ताव स्विकारेनन् ।
निर्मलाले गाउँकै सरस्वती निमाविबाट कक्षा ८ सम्मको पढाइ पूरा गरिन् । त्यसपछि सीताराम उच्च माविबाट २०५४ सालमा उनले एसएलसी उत्तीर्ण गरिन् ।
६३ जना परीक्षार्थीमध्ये ५ जनामात्र छात्रा रहेको त्यस समयमा उनले ५९ प्रतिशत अङ्क ल्याउनु ठुलो सफलता थियो । स्कुल पढ्दा उनी सधैँजसो प्रथम हुन्थिन् ।
‘पढाइ भनेपछि मलाई अरू केही चाहिँदैनथ्यो । बिदाको समयमा मात्र घरको काममा सघाउँथेँ,’ निर्मलाले भनिन् ।
एसएलसीपछि गाउँमा क्याम्पस नहुँदा उनले डेढ वर्ष पढाइबाट टाढा बस्नुपर्यो । त्यही समयमा उनले डानिडा प्रोजेक्टमा फेमिली मोटिभेटर भएर काम गरिन् र आफू पढेको स्कुलमा स्वयंसेवक शिक्षकका रूपमा पढाइन् । ५ हजार तलबमा काम गर्दागर्दै उनले डोटी क्याम्पसमा ११ कक्षामा भर्ना भएर पुनः आफ्नो शैक्षिक यात्रा अगाडि बढाइन् ।
धेरैजसो महिलाको विवाहपछि पढाइ र करियर रोकिन्छ भन्ने आमधारणा छ । निर्मलाको हकमा भने त्यो लागु भएन । उनले विवाहपछि नै पढाइका लागि थप सङ्घर्ष गरिन् । डोटीमा कार्यरत रेन्जर रामबिचारी ठाकुरसँग उनको प्रेम विवाह भयो । फरक समुदायमा विवाह गर्नु त्यो बेला ठुलो चुनौती थियो । परिवार सहमत हुने कुरा पनि थिएन । उनले हिम्मत हारिनन् ।
विवाहपछि श्रीमान् वन विज्ञान पढ्न पोखरा गए । निर्मला पनि श्रीमानसँगै पोखरा पुगिन् र त्यहाँको वन विज्ञान क्याम्पसमा इन्ट्रान्स दिएर नाम निकालिन् । आइएससी फरेस्ट्रीको पढाइ निकै चुनौतीपूर्ण थियो । त्यही समयमा उनी गर्भवती भइन् । एकातिर घरको जिम्मेवारी, अर्कोतिर कठिन विषयको पढाइ र शारीरिक कमजोरी ।
‘कतिपय परीक्षा त मैले उभिएरै पनि दिएकी छु । पेटमा बच्चा थियो, उभिन पनि गाह्रो हुन्थ्यो, तर मलाई जसरी पनि पढ्नु थियो,’ उनले भनिन् ।
उनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिइन् । बच्चा सानै हुँदा पनि उनले मेहनत छोडिनन् र २०६० सालमा ६८ प्रतिशत अङ्क ल्याएर आइएससी फरेस्ट्री उत्तीर्ण गरिन् ।
_kKDdBalABO.jpg)
आइएससी फरेस्ट्रीको पढाइपछि केही समय उनी बच्चा हुर्काउनमा लागिन् । यस्तैमा फेरि दोस्रो सन्तान छोरा जन्मियो । काखमा दुई/दुई सन्तान थिए । उनलाई ‘यसरी त हुँदैन केही न केही त गर्नुपर्छ’ भन्ने सोच पलायो ।
त्यसपछि पढाइ र सन्तानको स्याहारसँगै उनले रोजगारीको खोजी पनि सुरु गरिन् । कान्छो छोरा ९ महिनाको हुँदा उनले सल्यानमा 'एलएफपी पार्टनरसिप’ मा सुपरभाइजरको जागिर पाइन् । जागिरकै सिलसिलामा उनले लोकसेवा आयोगको तयारी पनि गरिन् ।
२०६५ सालमा उनले लोकसेवा आयोगमार्फत रेन्जर पदमा नाम निकालिन् । त्यो बेला उनले खुला, महिला लगायत चार वटा कोटामा नाम निकालेकी थिइन् । सुदूरपश्चिमबाट रेन्जर बन्ने उनी पहिलो महिला हुन् । उनको पहिलो पोस्टिङ रोल्पामा भयो । त्यसपछि दाङ लगायतका जिल्लामा उनले रेन्जरका रूपमा काम गरिन् ।
रेन्जर भएकै समयमा उनले ३ वर्षको अध्ययन बिदा लिएर बीएससी फरेस्ट्री पढिन् । इन्ट्रान्समा नाम निकालेका कारण उनले सहुलियत शुल्कमा पढ्न पाइन् । ६८ प्रतिशत नै अङ्क ल्याएर स्नातक तह पूरा गरेपछि उनले फेरि अधिकृतको तयारी सुरु गरिन् । २०७४ सालमा उनी वन सेवाको अधिकृत सातौँ तह भइन् । वन सेवाको अधिकृतमा नाम निकाल्ने उनी सुदूरपश्चिमकी दोस्रो महिला हुन् ।
अधिकृत भएपछि उनले काठमाडौँको वन विभाग, गण्डकी प्रदेशको वन निर्देशनालय र वन तथा वातावरण मन्त्रीको निजी सचिवालयमा बसेर काम गरिन् ।
अधिकृत भएर काम गर्दागर्दै पनि निर्मलाको अध्ययनको भोक मरेको थिएन । उनले जागिरसँगै एमएससी एजी पढाइ पनि गरिन् । पढाइ, जागिरसँगै उनले उपसचिव पदको तयारी गरिन् ।
‘मैले कहिल्यै तीज, बिहे वा सामाजिक उत्सव भनेर समय खेर फालिनँ । सामाजिक सञ्जालमा फेसबुक, टिकटकमा टाइमपास गरिनँ । सामाजिक सञ्जालमा उपयोगी अन्तर्वार्ता र पुस्तकहरूमा ध्यान दिन्थेँ । राजनीति सम्बन्धी सफल व्यक्तिहरूको अन्तरवार्ता प्रायः हेर्छु,’ निर्मलाले भनिन् ।
उनले काम गर्दा उपसचिवको तयारीका लागि धेरै मेहनत पनि गरिन् । ‘बिहान ५ देखि ९ बजेसम्म पढ्थेँ, राति पनि काम सकेर पढाइमै ध्यान दिन्थेँ,’ उनले भनिन् ।
यही जेठ १५ गते निर्मलाको त्यही मेहनतले अर्को सफलता मिल्यो । उनी लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी 'डिभिजनल वन अधिकृत’मा बढुवा भइन् । सुदूरपश्चिम प्रदेशबाट यो पदमा पुग्ने उनी पहिलो महिला हुन् । अहिले उनी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियुक्त भएकी छन् । आफ्नै प्रदेशमा सेवा गर्ने अवसर पाएकोमा उनी निकै उत्साहित छिन् ।
यही सफलताले उनलाई अझै पढाई गर्न ऊर्जा मिलेको छ । अहिले उनी सहसचिवको तयारी गर्ने सोचमा छिन् । ‘जब पढेर नाम, दाम र इज्जत पाइन्छ भने किन नपढ्ने ?' उनी प्रश्न गर्छिन् ।
उनको सफलतामा श्रीमान् रामबिचारी ठाकुरको ठुलो साथ छ । आमाबा, दाजु, छोराहरू र सहकर्मी साथीभाइको सहयोगले यहाँसम्म पुगेको उनको भनाइ छ ।
‘फेसबुक र युट्युबमा समय बिताउनु सट्टा देशको परिस्थिति र राजनीतिक घटनाक्रममा चासो राख्नुहोस् । जे काम गर्नुहुन्छ, त्यसमा पूर्ण रूपमा केन्द्रित हुनुहोस् । गर्छु भनेर लागेपछि त्यही काम पूरा गर्न लाग्नुहोस्, लोकसेवामा नाम निकाल्न सकिन्छ,’ उनले सुझाव दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण