चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
सारांश
- विराट कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट ह्यामस्ट्रिङ चोटका कारण बाहिरिएका छन्।
- कोहलीको स्थानमा युवा ओपनर यशस्वी जैसवाललाई भारतीय टोलीमा समावेश गरिएको छ।
- कोहली आगामी जुलाई १४ देखि इंग्ल्याण्डविरुद्ध हुने एकदिवसीय शृङ्खलासम्ममा फिट हुने आशा छ।
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहली अफगानिस्तानविरुद्ध हुने आगामी तीन खेलको एकदिवसीय शृङ्खलाबाट बाहिरिएका छन्।
गत हप्ता रोयल च्यालेन्जर्स ब्याङ्गलुरुलाई आईपीएल २०२६ को उपाधि दिलाउने क्रममा उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो। चोटका कारण कोहली बाहिरिएपछि भारतीय टोलीमा युवा ओपनर यशस्वी जैसवाललाई समावेश गरिएको छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का मुख्य छनोटकर्ता अजित अगरकरले शनिबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा कोहली शृङ्खलाबाट बाहिरिएको पुष्टि गरेका हुन्। अगरकरका अनुसार कोहली आगामी जुलाई १४ देखि इंग्ल्याण्डविरुद्ध हुने तीन खेलको एकदिवसीय शृङ्खलासम्ममा फिट हुन सक्ने सम्भावना छ, तर फिजियोका तर्फबाट उनको पुनरागमनबारे कुनै स्पष्ट समयसीमा भने आइसकेको छैन।
फाइनल खेलमा चोटिल भएको एक हप्ता पनि नपुगेकाले कोहलीको स्वास्थ्य अवस्थाबारे अहिले नै निश्चित रूपमा भन्न नसकिने र इंग्ल्याणेडविरुद्धको शृङ्खलासम्म उनी निको हुने आशा मात्र गरिएको अगरकरले स्पष्ट पारे। टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका कोहली अहिले मात्र एकदिवसीय ढाँचामा सक्रिय छन्।
उनले गत जनवरीमा न्युजिल्यान्डविरुद्धको घरेलु शृङ्खलामा अन्तिम पटक भारतका लागि खेलेका थिए, जसमा भारत २–१ ले पराजित भएको थियो। उक्त शृङ्खलामा कोहलीले ८० को औसत र १०५.२६ को स्ट्राइक रेटमा २४० रन बनाउँदै भारतका लागि सबैभन्दा धेरै रन जोडेका थिए।
त्यही लयलाई आईपीएलमा पनि निरन्तरता दिँदै उनले ५६.२५ को औसत र १६५.८४ को उत्कृष्ट स्ट्राइक रेटमा ६७५ रन बनाएका थिए। कोहलीको यही सानदार प्रदर्शनको मद्दतले आरसीबी लगातार दोस्रो पटक आईपीएल उपाधि जित्ने तेस्रो टोली बनेको थियो।
कोहलीको स्थानमा टोलीमा परेका यशस्वी जैसवालले फेब्रुअरी २०२५ मा इंग्ल्याण्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले अहिलेसम्म चार एकदिवसीय खेल खेलिसकेका छन्। जैसवालले आफ्नो अन्तिम एकदिवसीय खेलमा डिसेम्बर २०२५ मा विशाखापट्टनममा दक्षिण अफ्रिका विरुद्ध अविजित ११६ रनको शतकीय पारी खेलेका थिए।
यसैबिच, टोलीका अन्य दुई महत्वपूर्ण सदस्य हार्दिक पाण्ड्या र रोहित शर्माको विषयमा पनि छनोटकर्ताले जानकारी दिएका छन्। पाण्ड्या अहिले ब्याङ्गलुरुस्थित बीसीसीआईको सेन्टर अफ एक्सीलेन्समा आफ्नो फिटनेस परीक्षण गराइरहेका छन् भने रोहित शर्मा पनि केही दिनमा त्यहाँ पुग्ने तालिका छ।
दुवै खेलाडीलाई अफगानिस्तान विरुद्धको एकदिवसीय टोलीमा राखिएको छ। पाण्ड्याले मार्च २०२५ मा भारतले च्याम्पियन्स ट्रफी जितेयता कुनै पनि एकदिवसीय खेल खेलेका छैनन्। यता ह्यामस्ट्रिङ चोटकै कारण चालु सिजनको आईपीएलमा ६ वटा खेल गुमाएका रोहित शर्मा यसै शृङ्खलाबाट मैदानमा फर्किँदै छन्।
भारत र अफगानिस्तानबिचको एकदिवसीय शृङ्खला जुन १३ मा धर्मशालामा हुने पहिलो खेलबाट सुरु हुनेछ। त्यसपछिका खेलहरू जुन १७ मा लखनऊ र जुन २० मा चेन्नईमा खेलाइनेछ। यस शृङ्खलाको समाप्तिपछि इङ्गल्यान्ड भ्रमणका लागि भारतीय टोलीको घोषणा गरिनेछ।
अफगानिस्तान विरुद्धको खेलका लागि घोषित भारतीय टोली:
शुभमन गिल (कप्तान), रोहित शर्मा, यशस्वी जैसवाल, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या, नीतिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, कुलदीप यादव, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, प्रिन्स यादव, गुरनुर ब्रार र हर्ष दुबे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण