बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?

बुधबार, १० असार २०८३, १५ : ०४
बुधबार, १० असार २०८३

सारांश

  • विश्वकप २०२६ को समूह चरण अन्तर्गत दोस्रो खेल सकिँदा आयोजक राष्ट्रहरू मेक्सिको, अमेरिका र क्यानडाले पहिलो दुई खेलमा अपराजित रहने कीर्तिमान बनाएका छन् ।
  • समूह चरणको दोस्रो खेलसम्म कुल दर्शक संख्या ३० लाख नाघेको छ, जुन विश्वकप इतिहासकै सर्वाधिक प्रारम्भिक उपस्थितीमध्ये एक हो ।
  • विश्वकप २०२६ मा अहिलेसम्म कुल १४१ गोल भएका छन्, जसको औसत प्रति खेल करिब ३ गोल छ, र जर्मनी सर्वाधिक गोल गर्ने टोली बनेको छ ।

विश्वकप २०२६को समुह चरण अन्तर्गतको दोस्रो खेल सकिदाँसम्म केही रोचक तथ्याङ्क तथा परिणाम निस्किएका छन् ।

त्यसमध्ये केही यसप्रकार छन्ः 

१. आयोजक राष्ट्रहरूको उत्कृष्ट सुरुआत

मेक्सिको, अमेरिका र क्यानडाले पहिलो दुई खेलमा अपराजित रहने कीर्तिमान बनाएका छन् । पहिलो पटक तीन आयोजक राष्ट्रले एकै संस्करणमा यस्तो सफलता हासिल गरेका हुन् ।

२. सबैभन्दा बढी दर्शक उपस्थिति

समूह चरणको दोस्रो खेलसम्म कुल दर्शक संख्या ३० लाख नाघेको फिफाले जनाएको छ । यो विश्वकप इतिहासकै सर्वाधिक प्रारम्भिक उपस्थितीमध्ये एक हो ।

३. विश्वकप २०२६ का केही अप्रत्याशित नतिजाहरू

विश्वकपको सुरुआती चरणमा केही नतिजाले विशेषज्ञहरूलाई समेत चकित बनाएका छन् । मोरक्कोले ब्राजिललाई रोक्योः समूह सी को सबैभन्दा ठुलो आश्चर्य मोरक्कोको प्रदर्शन रह्यो । ब्राजिललाई बराबरीमा रोक्दै मोरक्कोले २०२२ को सेमिफाइनल यात्रा कुनै संयोग थिएन भन्ने प्रमाणित गर्‍यो । 

स्कटल्यान्डको पुनरागमनः विश्वकपमा लामो समयपछि ठुलो प्रभाव पारिरहेको स्कटल्यान्डले बलिया प्रतिद्वन्द्वीविरुद्ध अंक बटुल्दै नकआउटको दाबेदारी प्रस्तुत गरेको छ । 

नर्वेको उदयः धेरै विश्लेषकहरूले नर्वेलाई नकआउट उम्मेदवार मानिरहेका थिएनन् । तर दुई खेलमै ६ गोल गर्दै ६ अंक बटुलेर नकआउट यात्रा सुनिश्चित गर्‍यो । यससँगै नर्वे उपाधि बाहिरको सबैभन्दा ठुलो ‘डार्क हर्स’ बनेको छ । 

अमेरिकाको दबदबाः घरेलु मैदानको फाइदा उठाउँदै अमेरिकाले लगातार दुई जित निकालेको छ । युरोपेली र दक्षिण अमेरिकी टोलीहरूबिच मात्र उपाधि प्रतिस्पर्धा हुने धारणा कमजोर बनाएको छ । 

मेक्सिकोको शतप्रतिशत नतिजाः धेरै विश्लेषकहरूले मेक्सिकोलाई समूह विजेता मानिरहेका थिएनन् । तर, २ खेलमा २ जित दर्ता गर्दै यसले ६ अंक बटुल्यो र नकआउट सुनिश्चित सुनिश्चित गर्‍यो । योसहित मेक्सिको सुरुआती चरणको सबैभन्दा प्रभावशाली टोलीमध्ये एक बनेको छ । 

४. विश्वकप राउन्ड अफ ३२ मा पुगेका टोलीहरू कुन–कुन हुन् ?

मेक्सिको (समूह ए)

सह–आयोजक मेक्सिको समूह ए मा शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । उनीहरूले १८ जुन बिहीबार दक्षिण कोरियालाई १–० ले हराए । मेक्सिकोले आफ्नो अभियान दक्षिण अफ्रिकाविरुद्ध २–० को जितसँग सुरु गरेको थियो । 

arjentina

संयुक्त राज्य अमेरिका (समूह डी) 

संयुक्त राज्य अमेरिका दोस्रो टोली बन्यो जसले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । १९ जुन शुक्रबार अस्ट्रेलियामाथि २–० को जितले उनीहरू समूह डी को शीर्षमा पुगे । अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ ले पराजित गरेको थियो । 

जर्मनी (समूह ई)

जर्मनी २० जुन शनिबार आइभरी कोस्टलाई २–१ ले हराउँदै अन्तिम ३२ मा पुग्ने तेस्रो टोली बन्यो । रुस २०१८ र चार वर्षअघि कतार दुवैमा समूह चरणबाट बाहिरिएको जर्मनीले यस पटक आफ्नो पहिलो खेलमा कुराकाओलाई ७–१ ले हराएको थियो । 

अर्जेन्टिना (समूह जे)

अर्जेन्टिनाले २२ जुन सोमबार अस्ट्रियालाई २–० ले हराउँदै नकआउट चरणको टिकट सुरक्षित गर्‍यो । लियोनेल मेस्सीले दुई गोल गर्दै १८ गोलसहित विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ता बने । अर्जेन्टिना कप्तानले पहिलो खेलमा अल्जेरियाविरुद्ध ३–० को जितमा आफ्नो पहिलो ह्याट्रिक पनि गरेका थिए । वर्तमान च्याम्पियन अर्जेन्टिना समूह जे को शीर्ष स्थानमा रहने निश्चित छ । 

फ्रान्स (समूह आई)

प्रतियोगिताअघि उपाधि दाबेदार फ्रान्सले २२ जुन सोमबार इराकलाई ३–० ले हराउँदै राउन्ड अफ ३२ मा स्थान सुरक्षित गर्‍यो । किलियन एमबाप्पेले दुई गोल गरे। २०१८ का विश्व विजेता फ्रान्सले आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको थियो, जसमा एमबाप्पेले पनि दुई गोल गरेका थिए । 

नर्वे (समूह आई)

नर्वेले दोस्रो खेलमा सेनेगललाई ३–२ ले हराउँदै नकआउट चरणमा स्थान पक्का गर्‍यो । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई ४–१ ले पराजित गरेको थियो । 

कोलम्बिया (समूह के)

कोलम्बियाले २३ जुन मंगलबार डीआर कङ्गोमाथि १–० को जित निकाल्दै नकआउटमा प्रवेश गर्‍यो । दक्षिण अमेरिकी टोलीले आफ्नो पहिलो खेलमा उज्बेकिस्तानलाई ३–१ ले हराएको थियो ।

france

५. विश्वकप २०२६ बाट बाहिरिएका टोलीहरू कुन–कुन हुन् ?

हाइटी (समूह सी) 

हाइटी ब्राजिलसँग ३–० ले पराजित भएपछि विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो । १९७४ पछि पहिलो पटक प्रतियोगितामा फर्किएको हाइटीले पहिलो खेलमा स्कटल्यान्डसँग १–० ले हार बेहोरेको थियो ।

टर्की (समूह डी) 

टर्की पनि छिट्टै बाहिरियो । १० खेलाडीमा सीमित पाराग्वेसँग १–० ले पराजित भएपछि उनीहरू बाहिरिए । पहिलो खेलमा अस्ट्रेलियासँग २–० को आश्चर्यजनक हार बेहोरेका थिए । उनीहरू २४ वर्षपछि विश्वकपमा फर्किएको अवसर थियो । 

ट्युनिसिया (समूह एफ)

ट्युनिसिया २० जुन शनिबार जापानसँग ४–० ले पराजित भएपछि बाहिरियो । पहिलो खेलमा स्विडेनसँग ५–१ को भारी हारपछि स्थिति झन् कमजोर भयो । ट्युनिसिया १९७८ मा मेक्सिकोलाई हराएर विश्वकप खेल जित्ने पहिलो अफ्रिकी टोली बनेको थियो, तर उनीहरू कहिल्यै समूह चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।

जोर्डन (समूह जे)

चारमध्ये एक डेब्युटान्ट जोर्डन २२ जुन सोमबार अल्जेरियासँग २–१ ले पराजित भएपछि बाहिरियो । पहिलो खेलमा अस्ट्रियासँग ३–१ ले हार बेहोरेको थियो ।

पनामा (समूह एल)

क्रोएसियासँग १–० ले पराजित हुँदै पनामा २३ जुन मंगलबार समूह चरणको दोस्रो हारपछि बाहिरियो । पहिलो खेलमा घानासँग पनि १–० को हार बेहोरेको थियो ।

६. गोलको वर्षाः

दोस्रो खेल सम्पन्न हुँदा ४८ टोलीले दुई–दुई खेल खेलिसकेका छन् । यसको अर्थ ४८ वटै खेल खेलिएका छन् जसमा कुल गोल    करिब १४१ छ । यो भनेको प्रति खेल औसत झण्डै ३ गोल हो । यी मध्ये कुल १२ गोल पेनाल्टीबाट निस्किएका छन् भने २१ खेलमा क्लिन सिट पनि भएको छ । 

विश्वकप इतिहासमा समूह चरणको प्रारम्भिक दुई राउण्डमै प्रति खेल तीनभन्दा बढी गोलको औसत देखिनु आक्रामक फुटबलको संकेत मानिएको छ । 

७. यस्तो छ गोलको प्रवृतिः 

पहिलो हाफमा कुल ५१ गेल भए भने दोस्रो हाफमा ६४गोल भए । अतिरिक्त समयमा २६ गोल हुदाँ १४ गोल पेनाल्टीबाट निस्किएका छन् । यसले खेलहरू अन्तिम मिनेटसम्म जुजारु रहेको देखाउँछ । यस विश्वकपमा अहिलेसम्म १५ पेनाल्टी प्रहार हुदाँ मेसीको पेनाल्टी रोकिएको थियो । यससँगै मेसीले अर्को एउटा खराब तथ्याङ्क निस्किएको छ । विश्वकपमा सर्वाधिक पेनाल्टी प्रहार गर्ने खेलाडी हुदाँहुँदै पनि मेसीको पेनाल्टी गोलमा परिणत हुने चान्स भने केवल ५७ प्रतिशतमा खुम्चिएको छ । 

८. सर्वाधिक गोल गर्ने र सर्वाधिक गोल खाने टोली

सर्वाधिक गोल गर्ने टोलीमा जर्मनी (९) रहेको छ जसले कुराकाओ विरुद्ध ७ र आइभरी कोस्टविरुद्ध २ गोल गरेको थियो । त्यसपछि सर्वाधिक गोल गर्ने टिमहरुमा नर्वे, क्यानडा र निदरल्याण्डले ७–७ गोल गरेका छन् । अहिलेसम्म ६ गोल गर्नेमा जापान, फ्रान्स, स्विडेन, र पोर्चुगल रहेका छन् । अर्जेन्टिना र स्विजरल्याण्डले ५–५ गोल गरेका छन् । 

त्यसैगरी यस विश्वकपमा ट्यिुनिसियाले सर्वाधिक ९ गोल खाइसकेको छ । उसले स्विडेनसँग ५ र जापानसँग ४ गोल खाएको थियो । त्यसैगरि, उज्वेकिस्तानले ८ र कुराकाओ, इराक र कतारले पनि ७–७ गोल खाइसकेका छन् । स्विडेन र सेनेगलले समेत ६–६ गोल खान भ्याइसकेका छन् । 

९. सर्वाधिक गोलकर्ताको सूचिमा पनि तछाडमछाड

अहिलेसम्म अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी २०२६ फिफा विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष स्थानमा रहेका छन् । तर यस विदामा फरवार्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यसको सूची यसप्रकार छः

लियोनेल मेस्सी (५ गोल) : अस्ट्रियाविरुद्धको खेलमा दुई गोल गर्दै मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएर कीर्तिमान बनाएका छन् । त्यसैगरी फ्रान्सका किलियन एमबाप्पे तथा नर्वेका अर्लिङ हालान्डले पनि ४–४ गोल गरिसकेका छन् । थप प्रतिस्पर्धीहरूमा डेनिस उन्दाभ (जर्मनी) तथा जोनाथन डेभिड –क्यानडा)ले ३–३ गोल गरेका छन् । यसैगरी क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), ह्यारी केन (इङ्ल्यान्ड), र भिनिसियस जुनियर (ब्राजिल) जस्ता नाम चलेका खेलाडीहरू पनि २–२ गोलका साथ शीर्ष पछ्याइरहेका छन् । 

फिफाको नियम अनुसार दुई वा सोभन्दा बढी खेलाडीको गोल संख्या बराबरी भए बढी असिस्ट (गोल गर्न सघाएको) गर्ने र त्यसले पनि निर्धारण गर्न नसके कम समय मैदानमा बिताएको आधारमा खेलाडीले गोल्डेन बुट पुरस्कार जित्नेछ । 

त्यसो त यस विश्वकपमा शीर्ष असिस्टकर्ता (पास मिलाउने) को दौड पनि रमाइलो छ । फ्रान्सका युवा स्टार माइकल ओलिसे र स्वीडेनका अलेक्जेन्डर इसाक ३–३ असिस्टका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । योशुआ किमिच (जर्मनी), ब्राहिम डियाज (मोरक्को), डेन्जेल डमफ्रिज (नेदरल्यान्ड्स), मोहम्मद सालाह (इजिप्ट), डेनिस उन्दाभ (जर्मनी) लगायतका ९ खेलाडीका नाममा समेत २–२ एसिस्ट दर्ता भइसकेको छ ।

१०. समग्रमा विश्वकप २०२६ 

दोस्रो चरण समाप्त हुँदा विश्वकप २०२६ मा केही स्पष्ट मानक देखिएका छन्ः

१. गोल संख्या विगतका विश्वकपभन्दा उच्च छ ।
२. आयोजक राष्ट्रहरू असाधारण प्रदर्शन गरिरहेका छन् ।
३. मोरक्को, नर्वे र स्कटल्यान्डजस्ता टोलीहरूले परम्परागत शक्तिराष्ट्रहरूलाई चुनौती दिएका छन् ।
४. मेस्सी, एम्बाप्पे, ह्यारी केन, रोनाल्डो, हालान्ड लगायतका स्टार खेलाडीको हैसियत पुनः प्रमाणित गरेका छन् ।
५. अन्तिम समूह खेलअघि पनि २० भन्दा बढी टोली नकआउटको दौडमा रहेका कारण प्रतियोगिता अत्यन्त खुला बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप