गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
सारांश
- गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा प्लेटमा माछाको हड्डी भेटिएपछि चितवनस्थित लरेल्स बिजनेस कम्प्लेक्स होटललाई सरकारले कारबाही गरेपनि होटेलमा खाद्य स्वच्छताको गुणस्तरीयतामाथि प्रश्न उठेको छ ।
- सर्वसाधारणहरूले शक्ति र पहुँचको आधारमा मात्रै कारबाहीभन्दा पनि होटेलहरूको स्वच्छता कायम राख्न सम्बद्ध निकाय गम्भीर हुनुपर्ने प्रश्न उठाएका हुन् ।
- गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा प्लेटमा माछाको काँडा भेटिएपछि चितवनस्थित लरेल्स बिजनेस कम्प्लेक्स होटललाई सरकारले कारबाही गरेपनि होटेलमा खाद्य स्वच्छताको गुणस्तरीयतामाथि प्रश्न उठेको छ ।
सर्वसाधारणहरूले शक्ति र पहुँचको आधारमा मात्रै कारबाहीभन्दा पनि होटेलहरूको स्वच्छता कायम राख्न सम्बद्ध निकाय गम्भीर हुनुपर्ने प्रश्न उठाएका हुन् । पहुँचवाला मन्त्री र भिआईपीलाई जस्तै आम नागरिकको स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिएर नियमित र निष्पक्ष अनुगमन गर्नुपर्ने उपभोक्ताको माग छ ।
पाेषणविद् अरुणा उप्रेतीले होटेलहरूले खाद्य स्वच्छतातर्फ कम ध्यान दिने गरेको बताइन् ।
उप्रेतीले भनिन्, ‘कसैले पनि गुणस्तरहीन बस्तु बेच्नु हुँदैन । मानव स्वास्थ्यमाथि खेलबाड गर्नुहुँदैन । होटेलहरूको भान्साको ख्याल गर्नुपर्छ । चाडपर्वको बेलामा मात्रै अनुगमन गरेर हुँदैन । कम्तीमा खाद्य स्वच्छता सम्बन्धी पोलीसीलाई ध्यान दिने हो भने सबै समस्याहरू हल हुन्छन् ।’
अहिले पनि राजमार्गका कतिपय होटेलहरूले गुणस्तरहीन खाना खुवाउने गरेको प्रभावितहरूको गुनासो छ । दाङ लमहीका नविना सुवेदीले भनिन्, ‘यात्रा गर्दा सार्वजनिक बसले अरू होटेल नभएको र एउटा मात्रै होटेल भएको ठाउँमा रोक्छ । अनि खान बाध्य भइन्छ । कम्तीमा त्यो ठाउँमा १०/१५ ओटा अरू बस पनि हुन्छन् । खाना पनि त्यति मिठो हुँदैन । मलाई बासी जस्तो लागेको थियो । यो विषयमा मैले एक पटक स्थानीय प्रशासनलाई जानकारी पनि गराए । तर, सुनुवाइ भएन । के गर्नु ?’ पाेषणविद् हरू स्वयम् व्यक्ति पनि जिम्मेवार हुनुपर्ने बताउँछन् । अस्वस्थ खानपानले स्वास्थ्यलाई दीर्घकालीन गम्भीर असर पर्ने भन्दै स्वस्थ खाना खुवाउन होटेलहरू गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ ।
विभागले उपभोक्ताहरूले पनि खाना खानु अघि होटेलको सरसफाइ र स्वच्छताको स्तर बुझेर मात्रै अर्डर गर्नुपर्ने बताएको छ । विभागका निमित्त महानिर्देशक सोमकान्त रिजालले आँखाले देख्न नसकिएका लुप्त अवस्थामा रहेका गुणस्तर र स्वच्छताको विषयलाई प्रयोगशालामा नमुना परीक्षण विश्लेषण गरी प्रतिवेदनका आधारमा मुद्दा अभियोजन गरेर कारबाही प्रक्रिया अगाडी बढाउने गरिएको बताए ।
अहिले पनि कतिपय होटेलहरूको खानाको गुणस्तरीयता माथि पटक पटक प्रश्न उठिरहेको भन्दै कागजी नियम र प्रतिबद्धतामा मात्रै सीमित नभएर प्रत्यक्ष प्रभाव देखिनुपर्ने उपभोक्ता बताउँछन् ।
भएको के हो ?
भरतपुर महानगरपालिका १० चितवनस्थित लर्डस् बिजनेस कम्प्लेक्स होटेलमा सुधन गुरुङले मङ्गलबार खाजा खाएका थिए । छैटौँ तल्लाको ९९९ नम्बरको कोठामा गृहमन्त्री गुरुङ बसेका थिए ।
सोही कोठाको टेबलमाथि, सेतो प्लेट माथि, अण्डाको अम्लेट, तिन ओटा काटा, चम्चा(स्टिल),गोलभेँडा, उसिनेको आलु र माछाको जस्तो देखिने काँडा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
भान्सामा खाद्य पदार्थ फ्राई गर्न प्रयोग भएको दुई थान तेलको टोटल पोलार म्याटेरीयल, भ्यालु जाँच गर्दा २७ प्रतिशत र ३० प्रतिशत पाइएको र किचनमा अन्दाजी ३.५ किलो टमाटरमा केहि टमाटर सडेगलेको अवस्थामा पाइएको थियो । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आकस्मिक अनुगमन गरिएको थियो ।
संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमन टोलीले सो होटेलबाट तेल र टमाटर बरामद गरेको थियो ।
अस्वस्थकर अवस्थाको विश्लेषणका आधारमा होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको ठहर गरेको विभागले जनाएको छ । ऐनको दफा १६ को उपदफा २ को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णय अनुसार सो होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण