बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चुमनुब्रीले ल्यायो ४६ करोडको बजेट

बुधबार, १० असार २०८३, १७ : ५६
बुधबार, १० असार २०८३

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४६ करोडको बजेट प्रस्तुत गरेको छ । 

उपाध्यक्ष लक्ष्मी गुरुङले बुधबार गाउँ सभामा ४५ करोड ७९ लाखको बजेट प्रस्तुत गरेकी हुन् । पूरा बजेटमध्ये २८ करोड ८७ लाख चालू र १६ करोड ९१ लाख पुँजीगत छ ।

सङ्घ सरकारले समानीकरणमा ८ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट १२ करोड ४४ लाख, सशर्त १२ करोड ३३ लाख दिने अनुमान छ । 

यस्तै, प्रदेश सरकारले समानीकरणमा ८८ लाख, राजस्व बाँडफाँटमा १ करोड १ लाख, विशेषमा ४० लाख र समपुरकमा ६० लाख अनुदान दिनेछ । पालिकाले २ करोड १३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा खर्च नभएको ७ करोड रुपैयाँ पनि आगामी वर्षको बजेटको हिस्सा बनेको छ । आगामी वर्षका लागि पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, सुशासन तथा सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ । चुमनुब्री क्षेत्रको प्रमुख आधारका रूपमा रहेको पर्यटन उद्योगको विकासका लागि पदमार्गहरूको स्तरोन्नति गर्न ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई निरन्तरता दिन १ करोड ५० लाख र विपद् व्यवस्थापनका लागि ३५ लाख छुट्याएको छ । कृषकहरूलाई उन्नत बीउबिजन, औजार र तालिम उपलब्ध गराउन ८ लाख तथा उद्यमशीलता र रोजगारी सिर्जनाका लागि ५२ लाख बजेट राखिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

पालिकाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला र विपन्न वर्गलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएको छ ।

यस्तै स्थानीयस्तरमा बालविवाह र बहुविवाहजस्ता सामाजिक कुरीति नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको अध्यक्ष निमा लामा बताउँछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप