मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस

मङ्गलबार, ०९ असार २०८३, १२ : ००
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
  • चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट घटाएर प्रस्तुत गरिएको यस बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ ।
  • बजेटमा पूर्वाधार विकासका लागि ६७ करोड १९ लाख ८१ हजार, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, खेलकुद, सरसफाइ, वातावरण संरक्षण र प्रशासनिक खर्चका लागि विभिन्न रकम विनियोजन गरिएको छ ।

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार बसेको हेटौँडा उपमहानगरपालिकाको १९ औँ नगरसभामा चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट घटाएर आगामी आर्थिक वर्षको लागि बजेट प्रस्ताव गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ९० करोडको बजेट विनियोजन गरेको थियो । नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ ।

उपनगरपालिकाले कुल विनियोजित बजेटमध्ये आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ भने राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १० करोड १ लाख ७२ हजार र सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ बेहोरिने उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका योजना कार्यान्वयनका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडातहका योजना तथा कार्यक्रमका लागि मात्रै ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुटाइएको छ । सडक बोर्ड अन्तर्गतका योजनाका लागि १ करोड ५० लाख, सडक सुरक्षा र उज्यालो सहर कार्यक्रमका लागि ९५ लाख र सिसिटिभी क्यामेरा जडानका लागि ५३ लाख रुपैयाँ खर्च गरिनेछ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा खानेपानी योजनाका लागि १ करोड ९० लाख विनियोजन गरिएको छ । परियोजना बैङ्कका लागि ५० लाख रुपैयाँ, आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड रुपैयाँ, एकीकृत बसपार्क तथा टर्मिनल भवनका लागि ४ करोड ६० लाख रुपैयाँ, सहरी विकास तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार, प्राविधिक शिक्षा र पूर्वाधार विकासका विद्यालयको भौतिक सुदृढीकरण र पहुँच विस्तारमा उपमहानगरपालिकाले प्राथमिकता दिइएको छ । स्वास्थ्यतर्फ ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा, र मातृ–शिशु स्वास्थ्यलाई महत्वका साथ अघि बढाइएको छ ।

आर्थिक विकासतर्फ प्रदेश र सङ्घीय  कृषि क्षेत्रको सुधारका कार्यक्रम सञ्चालन गर्न ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख र उद्योग तथा सहकारीका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, खेलकुद क्षेत्रको विकासका लागि मेयर कप, उपमेयर कप र अन्य प्रतियोगिता सञ्चालन गर्न १ करोड ४० लाख रुपैयाँ छुटाइएको छ ।

नगरको सरसफाइ र फोहर मैला व्यवस्थापनका लागि कुल १ करोड रुपैयाँ विनियोजन गरिएको छ । दमकल सञ्चालन, मर्मत र अग्नि नियन्त्रकका लागि २ करोड १० लाख तथा वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ खर्च गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

zर्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन र सूचना प्रविधिको प्रयोगका लागि थप २ करोड ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप