आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
कलाकार

‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’

अहिले आफैँले टिकट काट्ने एउटा कस्तो ट्रेन्ड आइरहेको छ, जुन दुखद हो
शनिबार, १३ असार २०८३, ०८ : ३०
शनिबार, १३ असार २०८३

सारांश

  • वर्षा राउतले फिल्म 'आई एम जितबहादुर' मा श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् र यस फिल्मले सोचेजस्तो दर्शक नपाए पनि अभिनयको प्रशंसा पाएको छ।
  • उनले फिल्म क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने संस्कारको विकास हुनुपर्ने र राम्रो फिल्म आफैंमा राम्रो हुनुपर्ने बताइन्।
  • वर्षाले व्यावसायिक सफलताभन्दा अभिनय क्षमता देखाउने अवसर दिने स्क्रिप्ट र निर्माता रोज्ने र भविष्यमा महिला प्रधान तथा एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरिन्।

काठमाडौँ । वर्षा राउत फिल्म क्षेत्रकी स्थापित अभिनेत्री हुन् ।

अभिनयमा एक दशक बिताइसकेकी राउतले करिअरको सुरुवातमा लगातार सफल फिल्म दिइन् । पछिल्लो समय भने उनका फिल्महरू एकपछि अर्को गर्दै असफल भइरहेका छन् । यसले आफूलाई खासै फरक नपर्ने बताउने उनी पहिलेभन्दा अहिले अभिनयमा आफू खारिँदै गएको तर्क गर्छिन् ।

चुलबुले स्वभाव र मोहक मुस्कानले दर्शकलाई लट्ठ बनाउने उनी अभिनीत फिल्म ‘आई एम जितबहादुर’ अहिले प्रदर्शनरत छ । फिल्मले सोचेजस्तो दर्शक पाउन नसके पनि आफ्नो अभिनयको प्रतिक्रिया भने राम्रो मिलिरहेको उनी बताउँछिन् । पर्दामा प्रायः गृहिणीको भूमिकामा देखिँदै आएकी उनी गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा पनि सोही भूमिकामा छिन् । अभिनेत्री वर्षासँग फिल्म र अभिनयका विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

  • ‘आई एम जितबहादुर’ को प्रदर्शन कस्तो भइरहेको छ ?

फिल्म हलमा लागिरहेको छ । हामीले सोचेजस्तो दर्शक फिल्मले पाउन सकिरहेको छैन । तर, जतिले फिल्म हेरेका छन्, उनीहरूबाट फिल्म तथा मेरो अभिनयको तारिफ भइरहेको छ ।

  • फिल्मको प्रचार–प्रसार कम भएकाले दर्शकले थाहा पाएनन् भनिन्छ नि ?

‘आई एम जितबहादुर’ का निर्माता जितु नेपाल दाइ हुन् । अभिनयमा राम्रो अनुभव भए पनि निर्माणमा उहाँको यो पहिलो फिल्म हो । उहाँ निर्माणमा नयाँ भएकाले मार्केटिङ र प्रचार शैली जस्ता कतिपय कुरामा कमी–कमजोरी भएका हुन सक्छन् । अहिले अन्य फिल्महरूले जसरी आक्रामक प्रचार गर्छन्, त्यो हिसाबले हाम्रो टिम अलि कमजोर देखियो कि जस्तो मलाई पनि महसुस हुन्छ । तर, हामीले सक्दो प्रयास गरिरहेका छौँ ।

barsha raut (2)

  • अघिल्लो फिल्म ‘मालती मंगले’ मा पनि तपाईं श्रीमतीकै भूमिकामा हुनुहुन्थ्यो र यसमा पनि त्यस्तै भूमिका छ । तपाईं सधैँ श्रीमतीकै भूमिका किन रोज्नुहुन्छ ?

पहिलो कुरा, यो फिल्ममा मेरो चरित्र सङ्घर्ष गरिरहेको एक व्यक्तिको श्रीमतीको हो, जसले उहाँको हरेक पाइलामा साथ दिन्छिन् । यो चरित्र विगतका भन्दा फरक र राम्रो पनि छ । जहाँसम्म श्रीमतीकै भूमिकाको कुरा छ, मलाई समाजमा राम्रो छाप छोड्ने खालका फरक–फरक चरित्रहरू गर्न मनपर्छ । श्रीमतीको भूमिकाभित्र पनि मैले भिन्न चरित्रहरू निर्वाह गरेकी छु ।

अर्को कुरा, धेरैजसो राम्रा फिल्मका स्क्रिप्टहरूमा मलाई यस्तै भूमिकाका लागि अफर आउँछ । सायद फिल्मका निर्माता–निर्देशकलाई म यस्तो भूमिकामा सुहाउँछु वा न्याय गर्न सक्छु भन्ने लागेर पनि होला । केही फिल्ममा सामान्य केटीको भूमिकामा पनि अफर आएको थियो, तर फरक देखिने लोभमा २–४ सिन मात्र भएका फिल्म स्विकार्ने कुरा भएन । म सधैँ फिल्ममा आफ्नो तर्फबाट केही योगदान होस् भन्ने चाहन्छु । यदि कुनै भूमिकाले फिल्मको कथालाई न्याय गर्छ भने म त्यस्तो फिल्म गर्छु ।

  • ‘आई एम जितबहादुर’ किन हेर्नुपर्छ जस्तो लाग्छ ?

म कुनै पनि फिल्म दर्शकले हेर्नैपर्छ भनेर चाहिँ भन्दिनँ, त्यो उहाँहरूको खुसीको कुरा हो । हरेक मानिसको आफ्नै सङ्घर्ष हुन्छ । यो फिल्मले उपत्यका बाहिरबाट काठमाडौँ आएर कलाकार बन्न एक व्यक्तिले गर्ने सङ्घर्ष देखाएको छ, जुन मैले पनि भोगेकी छु । काठमाडौँ आएर केही बन्छु भनेर सङ्घर्ष गरिरहेका सबै व्यक्तिसँग यो फिल्म सम्बन्धित छ । यसलाई धेरैले आफ्नो कथा भन्न सक्छन् ।

  • फिल्म ‘मालती मंगले’ प्रदर्शनका समयमा तपाईंले साथीहरूबाट सहयोग नपाएको गुनासो गर्नुभएको थियो । के कला क्षेत्रमा एक–अर्कालाई सहयोग गर्ने प्रवृत्ति कम हुँदै गएको हो ?

हो, मैले त्यो समय यो कुरा उठाउँदा धेरैले समर्थन पनि गर्नुभएको थियो । खासमा फिल्मको प्रिमियरमा बोलाउँदा पनि सोचेजति कलाकार साथीहरू आइदिनुभएन । एउटा कलाकारको प्रिमियरमा अर्को कलाकार आउँदा नैतिक बल बढ्छ । तर, कहिलेकाहीँ मानिसहरू आफ्नो काममा व्यस्त हुने वा अन्य कारणले आउन नसक्ने पनि हुन्छ ।

म कसैलाई दोष त दिन्नँ, तर फिल्म क्षेत्रमा एक–अर्काको कामलाई सम्मान गर्ने र सपोर्ट गर्ने संस्कार अझै विकास हुनुपर्छ भन्ने मेरो धारणा हो । मेरो फिल्मका निर्माताले “तपाईंका साथीहरू प्रिमियरमा आएनन्” भन्दा मलाई अलिकति चित्त दुखेको थियो ।

  • कतिपयले फिल्म नचलेपछि रोएर चलाउन खोजेको पनि भने नि ?

होइन, मलाई रोएर फिल्म चल्छ वा अब रोएर फिल्म चलाउनुपर्छ भन्ने लाग्दैन र त्यसमा म विश्वास पनि गर्दिनँ । फिल्म चल्नका लागि पहिलो कुरा फिल्म नै राम्रो हुनुपर्छ । हाम्रा कतिपय मेकरहरू नयाँ हुनुहुन्छ । पहिलो पटक फिल्म बनाउँदा बनाउँदै बजेट सकियो र मार्केटिङका लागि बजेट पुगेन । उहाँहरूले आफैँ टिकट किन्न सक्नुभएन, त्यसले गर्दा पनि फिल्म नचलेको जस्तो लाग्छ । कतिपय अवस्थामा फिल्म राम्रो भए पनि चल्दैन, उदाहरणका लागि ‘सानो संसार’ र ‘सेप अफ मोमो’ लाई हेर्न सकिन्छ ।

barsha raut (1)

  • दर्शकलाई विश्वास दिलाएर हलसम्म तान्न नसकेको अवस्था हो त ?

अहिले एउटा कस्तो ट्रेन्ड आइरहेको छ भने आफैँले टिकट काट्ने र मानिसहरूलाई रेस्टुरेन्टमा गएर सित्तैमा टिकट बाँड्ने, जुन दुखद हो । फिल्म चल्नका लागि फिल्म आफैँ राम्रो हुनुपर्छ । कतिपय राम्रा फिल्महरू पनि बलियो मार्केटिङ नहुँदा पछाडि परेका छन् । टिकट बाँडेर वा अरूको सहारामा फिल्म चलाउनुभन्दा दर्शकको ‘वर्ड अफ माउथ’ नै सबैभन्दा ठुलो प्रचार हो । निर्माताले राम्रो बजेट छुट्याएर प्रचार गर्न सके मात्र दर्शक हलसम्म आउँछन् । ‘आई एम जितबहादुर’ मा बजेट अभावका कारण हामीले धेरै प्रचार गर्न सकेनौँ, तैपनि दर्शकले माया दिइरहनुभएको छ ।

  • तपाईंका फिल्महरू लगातार असफल भइरहेका छन्, यसले नयाँ फिल्म छनोटमा कत्तिको दबाब महसुस गराउँछ ?

फिल्म छनोटमा दबाबभन्दा पनि राम्रो फिल्म नचल्दा दुःख लाग्छ । कहिलेकाहीँ नयाँभन्दा चलेका मेकर र ब्यानरका फिल्म मात्र रोज्नुपर्छ कि जस्तो पनि लाग्छ । लगातार फिल्म नचल्दा कस्तो फिल्म खेल्ने र रोज्ने भन्नेमा केही अन्योल र दबाब महसुस हुन्छ ।

  • तपाईंका फिल्म छान्ने आधार के हुन् ?

मेरो ध्यान जहिले पनि ‘क्यारेक्टर’ मा हुन्छ । व्यावसायिक सफलताभन्दा पनि म आफूलाई एउटा ‘सिरियस एक्टर’ को रूपमा स्थापित गर्न चाहन्छु । मलाई धेरै फिल्म खेल्नुपर्ने र व्यावसायिक रूपमा सफल फिल्म नै दिनुपर्ने ठुलो दबाब छैन, किनकि करियरको सुरुवातमा मैले धेरै हिट फिल्महरू दिइसकेकी छु । अहिले मलाई त्यस्तो स्क्रिप्ट र मेकर चाहिन्छ, जसले मेरो अभिनय क्षमता देखाउने मौका दिउन् ।

  • भविष्यमा कस्ता फिल्ममा काम गर्ने रहर छ ?

मलाई सबै प्रकारका फरक फिल्महरू गर्न मन छ । विशेष गरी एउटा ‘महिला प्रधान’ फिल्म गर्ने इच्छा छ, जहाँ महिलाको भूमिका सशक्त होस् र त्यसले समाजमा सकारात्मक सन्देश देओस् । मलाई एक्सन फिल्ममा काम गर्ने पनि रहर छ । एउटा सामान्य महिलाले आफ्नो जीवनमा गर्ने सङ्घर्ष र उनी कसरी उदाहरण बन्छिन् भन्ने कथामा काम गर्न चाहन्छु । ‘वुमेन इम्पावरमेन्ट’ लाई सही तरिकाले प्रस्तुत गर्ने भूमिकामा म आफूलाई हेर्न चाहन्छु ।

  • सहकर्मीहरू धमाधम फिल्म निर्माणमा आउन थाले, तपाईंको सोच के छ ?

मलाई अहिले नै फिल्म निर्माण गर्ने ठुलो आँट त छैन, तर बिस्तारै सोचिएला । मेरो संसार नै यही चलचित्र क्षेत्र हो । भविष्यमा कुनै राम्रो कथा भेटियो भने म पनि निर्माणमा आउन सक्छु ।

  • अन्तमा, फ्यान तथा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?

सबैलाई म यही भन्न चाहन्छु कि कृपया नेपाली फिल्मलाई माया गरिदिनुहोस् । हामीले धेरै मेहनत गरेर फिल्म बनाउँछौँ । विशेष गरी जितु नेपाल दाइलाई माया गर्ने र उहाँको मेहनत देख्न चाहने दर्शकहरूले ‘आई एम जितबहादुर’ हेरेर साथ दिनुहुनेछ भन्ने आशा छ । हामी सबै कलाकारहरूको एउटै चाहना छ— नेपाली फिल्म उद्योग बलियो होस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप