आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
विजय मल्ल भाग १४

विजय मल्लका कृतिहरू

शनिबार, १३ असार २०८३, ०९ : ५८
शनिबार, १३ असार २०८३

सारांश

  • विजय मल्लले सर्वप्रथम दरबार हाईस्कुलको भित्तेपत्रिकामा ‘दुई पसले’ कथा लेखेर साहित्यमा पाइला टेकेका थिए ।
  • उनको औपचारिक रचना १९९७ मा ‘शारदा’ मा प्रकाशित ‘स्मृति’ कविता हो, जसपछि उनका रचना नाटकमा केन्द्रित भए ।
  • मल्लले नेपाली, नेपालभाषा र अङ्ग्रेजी भाषामा फुटकर रचनाहरू प्रकाशित गरेका थिए, जसमध्ये केही अनुवादित पनि भएका छन् ।

विजय मल्लले सर्वप्रथम दरबार हाईस्कुलको भित्तेपत्रिकामा ‘दुई पसले’ शीर्षकको एउटा कथा लेखेका थिए । त्यही कथालेखनबाट उनले नेपाली भाषा–साहित्यमा पाइला टेकेका थिए ।

उनको औपचारिक रचना भने ‘शारदा’ (१९९७) मा प्रकाशित ‘स्मृति’ शीर्षकको कविता नै हो । ‘स्मृति’ पछि भने उनका रचना प्रायः नाटकमा नै केन्द्रित हुन थाले । उनका प्रकाशित कृतिहरू निम्न हुन्—

पूर्णाङ्की नाटक

१. बहुला काजीको सपना (२००४)

२. कोही किन बरबाद होस् (२०१६)

३. जिउँदो लास (२०१७)

४. भोलि के हुन्छ ? (२०२८)

५. स्मृतिको पर्खालभित्र (२०४०)

६. मानिस र मुकुण्डो (२०४०)

७. भूलैभूलको यथार्थ (२०४१)

८. पहाड चिच्याइरहेछ (२०४१)

९. माधुरी (२०४८)

एकाङ्की नाटक

१. राधा मान्दिन (२००१)

२. अपराध (२००८)

३. बहुला काजीको सपना (२०२८)

४. पत्थरको कथा (२०२८)

५. दोभान (२०३४)

६. भित्तेघडी (२०४०)

७. सृष्टि रोकिँदैन (२०४८)

उपन्यास

१. अनुराधा (२०१८)

२. कुमारी शोभा (२०३९)

३. श्रीमती शारदा (२०५६)

कथासङ्ग्रह

१. एक बाटो अनेक मोड (२०२६)

२. परेवा र कैदी (२०३४)

कवितासङ्ग्रह

विजय मल्लका कविता (२०१६)

समालोचना

नाटक: एक चर्चा (२०३६)

सम्पादन

सात एकाङ्की (२०३९)

विजय मल्लकृत नेपाली, नेपालभाषा र अङ्ग्रेजी भाषामा शारदाकालदेखि नै फुटकर रचना बराबर छापिएका थिए । तर, उनका के, कति र कहिले रचना छापिए भन्ने यकिन तथ्याङ्क उनैले पनि फेला पार्न सकेका थिएनन् । यसै मेसोमा श्यामदास वैष्णवले भनेका थिए— ‘मल्ललाई म जतिबेला पनि लेखिरहेको देख्थेँ । कसैले कविता, नाटक या लेख माग्दा दिएर पठाउँथे ।’

विजय मल्लद्वारा सम्पादित ‘सात एकाङ्की’ मा बालकृष्ण समका दुई, गोविन्द मल्ल ‘गोठाले’का दुई, ध्रुवचन्द्र गौतमको एक र स्वयं विजय मल्लका दुईवटा एकाङ्की आबद्ध छन् ।

मल्लले नेपालभाषामा पनि साहित्य रचना गरे । नेवारी भाषामा लेखिएका उनका कृतिले पनि चर्चाको धुरी टेके । नेपालभाषाका प्रसिद्ध लेखक, अनुवादक, सम्पादक तथा अन्वेषक ईश्वरमान रञ्जितकारका अनुसार— ‘विजय मल्लको नेपालभाषामा लिखित एउटै मात्र प्रकाशित कथा छ— ज्यानमाराया काय् । यो कथा रत्नध्वज जोशीद्वारा सम्पादित नेपालभाषाको तत्कालीन प्रतिनिधि कथासङ्ग्रह ‘बाखंपुचः’ मा सङ्गृहीत भएर चित्तधर उपासकद्वारा ने.सं. १०७० (वि.सं. २००७) मा प्रकाशित भयो ।’

विजय मल्लले नेपालभाषामा पनि धेरै लेख लेखे । उनीबाट लेखिएका एकाङ्की र पूर्णाङ्की नाटकहरूले पनि गतिलो स्थान ओगटे । नेपालभाषाका उनका प्रकाशित नाट्यकृति हुन्—

एकाङ्की

१. छपु बाखं (२०३१)

२. तिना तःगु लुखा (२०३७)

३. लपँख्या (२०३९)

४. नां मदुम्ह मनू (२०४०)

५. ल्वहँया नुगः (२०४४)

६. क्वसागु नुगः (२०५१)

७. निम्ह तिपु (२०५६)

पूर्णाङ्की

१. कुलां चकनि तिनि (२०४०)

२. किसि न्याइह्म मदनमान (२०४२)

३. किपालुं लिना च्वंम्ह मनू (२०४६)

मल्लद्वारा लिखित रचनाहरू पाँच भाषामा अनुवाद भएका थिए । अङ्ग्रेजी, हिन्दी, जापानी, रूसी र स्लोभाकियाको राष्ट्रभाषा स्लोभाक भाषामा यिनका कविता, कथा र उपन्यास अनुवाद भए । यिनका कृतिका अनुवादकहरू तीर्थराज तुलाधर, माधवलाल कर्माचार्य, रामदयाल राकेश, नगेन्द्र शर्मा, दिवाकर देवकोटा, नरेन्द्र जैन, भिजुको तेरादा, ल्युदमिला आगानिना, माइकल जेम्स हट, फिलिप एच. पियर्स र आइजेड बल हुन् ।

विजय मल्लको कवितासङ्ग्रह प्रकाशित हुनुपूर्व नै उनका कविताहरूको अङ्ग्रेजी अनुवाद भइसकेको थियो । श्री ५ महेन्द्रको राज्याभिषेकका अवसरमा उनका दुईवटा कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले अनुवाद गरेको व्यहोरा देवकोटाका छाँयाका रूपमा सुपरिचित श्यामदास वैष्णवले बताएका थिए । ईश्वर बराल र माधव घिमिरेको सम्पादनमा काव्यप्रतिष्ठानद्वारा यी कविता २०१३ सालमा ‘इन्द्रेणी’ द्वैमासिकमा प्रकाशित भएका थिए—

1. Then I Began to Laugh

2. Drawing in the Dark Screen. 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप