शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
पुस्तक समीक्षा

बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान

शनिबार, १३ असार २०८३, १२ : ३०
शनिबार, १३ असार २०८३

सारांश

  • कांग्रेस सभापति गगन थापाले भरतपुरमा २०१८ सालमा पञ्चायत सरकारले करिब ५० जनाको हत्या गरी गाडेको अभिव्यक्ति दिएपछि भरतपुर विद्रोहको चर्चा बढेको छ ।
  • २०१८ साल माघ २६ देखि २८ गतेसम्म भरतपुरमा भएको नरसंहार, जसलाई भरतपुर क्रान्ति भनिन्छ, नेपाली कांग्रेसले पञ्चायती व्यवस्था लागू गरेको विरोधमा गरिएको विद्रोह थियो ।
  • पत्रकार वसन्त पराजुलीको उपन्यास 'बखान' ले २०१८ सालको भरतपुर क्रान्तिलाई मुख्य पात्र बखानसिंह गुरुङको जीवनमार्फत आख्यानका रूपमा प्रस्तुत गरेको छ ।

गत आइतबार चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिएको अभिव्यक्ति अहिले राजनीतिक वृत्तमा मात्रै होइन, ऐतिहासिक बहसमा समेत चर्चाको विषय बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनका क्रममा उनले चितवनको राजनीतिक इतिहाससँग जोडिएको एउटा पीडादायी अध्याय सम्झाउँदै भनेका थिए–

‘आज नीलो झन्डा फहराउन तपाईंले पाउनुभएको छ । झन्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला । त्यहाँ अलिअलि रातो छ । तपाईं जुन ठाउँमा उभिनुभएको छ नि, त्यहीमुनि करिब ५० जना मानिसको लास गाडिएको छ २०१८ सालमा । पञ्चायत सरकारले काटेर गाडेको छ ।’

थापाको यो भनाइले २०१८ सालको भरतपुर काण्ड अर्थात् भरतपुर क्रान्तिलाई फेरि सार्वजनिक बहसको केन्द्रमा ल्याइदिएको छ । नेपाली राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण तर कम चर्चा भएको घटनालाई सम्झाउने यो प्रसङ्गसँगै अहिले ‘बखान’ कृतिको चर्चा पनि बढेको छ ।

  • के हो भरतपुर विद्रोह/क्रान्ति ?

२०१८ साल माघ २६ गतेदेखि २८ गतेसम्म भरतपुरमा भएको नरसंहार नै भरपुर क्रान्ति हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर पञ्चायती व्यवस्था लागू गरेको विरोधमा नेपाली कांग्रेसले देशैभरि विद्रोह गर्‍यो । जसअन्तर्गत भरतपुर पनि एक थियो । नरकटियागञ्जमा कांग्रेसका मुक्तिसेनाहरू क्याम्प बनाएर बसेका थिए ।

उनीहरू चार समूह बनाएर चितवन कब्जा गर्न आए र चितवन कब्जा पनि गरे । तर त्यसको ७२ घण्टा नहुँदै सेनाले पुनः नियन्त्रणमा लिएर नरसंहार मच्चायो । सेनाले नियन्त्रणमा लिएका बुद्धसिंह राना, हरिप्रसाद गुरुङलगायतका ११ जनालाई त्यहीँ डोरीले बाँधेर ट्याक्टरको पछाडि लतार्दै लग्यो ।

सात जनालाई सङ्गीन रोपेर मार्यो । कतिलाई सेनाले पत्तीले काट्दै नुनखुर्सानी दल्यो । सङ्गीन रोपेर तड्पाईतड्पाई मार्यो । जगत प्रकाशजङ्ग शाहलाई त अझै हातखुट्टा काटेर, टाउको गिँडेर गाडियो । गेस्ट हाउस चौर त्यही स्थान हो, जहाँ उनीहरूको हत्या गरिएको थियो र उनीहरूलाई गाडिएको थियो ।

‘बखान’ कृतिले यसै घटनालाई मिहिन रूपमा आफ्नो विषयवस्तुको मूल केन्द्र बनाएको छ, त्यो बेलाका कमान्डर बखानसिंह गुरुङलाई मुख्य पात्र बनाएर ।

यो घटनामा निश्चित कति जनाको हत्या गरिएको थियो भन्ने यकिन तथ्य भने भेटिँदैन । तर पनि ‘बखान’ कृतिमा ८४ जोर चप्पल भेटिएको र २६ जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गरिएको छ । यद्यपि २०१८ सालको इतिहासका बारेमा अध्ययन गर्नुभएका प्रा.डा. सूर्यमणि अधिकारीले आफ्ना विभिन्न कृतिहरूमा पनि चितवनमा त्यो बेला २६ जनाकै मृत्यु भएको उल्लेख गर्नुभएको छ ।

‘बखान’मा पराजुलीले मृत्युसङ्ख्या लेख्दा ऐतिहासिक दस्तावेजलाई पनि आधार मान्नुभएको हो भन्न सकिने विभिन्न आधारहरू भने छन् ।

यही ऐतिहासिक पृष्ठभूमिमा आधारित ‘बखान’ ले दोस्रो संस्करणका लागि नयाँ आवरण बिहीबार मात्रै सार्वजनिक गरेको छ । कृतिले २०१८ सालको भरतपुर क्रान्तिको उत्खनन त गरेको छ नै, यसले चितवनको बस्ती विकास, प्रजातान्त्रिक आन्दोलन र राजनीतिक सङ्घर्षको एउटा महत्त्वपूर्ण कालखण्डलाई आख्यानका माध्यमबाट पुनर्जीवित गर्ने प्रयास गरेको छ ।

  • इतिहासको पात्र बनेका बखानसिंह गुरुङ

पत्रकार तथा लेखक वसन्त पराजुलीको यो पछिल्लो खोजमूलक आख्यान हो । ‘कुमाता’ कथासङ्ग्रहबाट चर्चामा आएका पराजुलीको ‘बखान’ चौथो कृति हो । यसअघि ‘मोम्चो’ र ‘ड्रिमिआइज’ कथासङ्ग्रह प्रकाशन भइसकेको छ । उपन्यास भने ‘बखान’ पहिलो हो । यसमा चितवनको इतिहाससँग जोडिएका वास्तविक पात्र र घटनालाई साहित्यिक संरचनामा प्रस्तुत गरिएको पाइन्छ ।

कृतिको केन्द्रमा छन् बखानसिंह गुरुङ । उनको व्यक्तिगत जीवन, सङ्घर्ष, राजनीतिक चेतना र सामाजिक योगदानमार्फत लेखकले एउटा व्यक्तिको कथा मात्र नभई एउटा समयको कथा लेखेका छन् ।

२००७ सालको क्रान्तिमा बन्दीपुरमा कान्छो छोरा धर्मध्वजले शहादत प्राप्त गरेपछि पहाडी जीवन छाडेर औलोको जोखिम रहेको चितवनमा बसाइँ सर्न बाध्य भएका बखानसिंह, २०१८ को भरतपुर क्रान्तिमा जेठो छोरा लालध्वजले कसरी शहादत प्राप्त गरे ? उनी कसरी चितवनको बस्ती विकासका अग्रणी व्यक्तित्व बने ? भन्ने यात्रा यस आख्यानको मुख्य आकर्षण हो । उनको जीवनसङ्घर्ष व्यक्तिगत पीडादेखि सामाजिक परिवर्तनसम्म जोडिएको देखिन्छ ।

  • मृत्युबाट सुरु भएको जीवनको कथा

‘बखान’ को सबैभन्दा प्रभावशाली पक्ष यसको कथ्य संरचना हो । पात्रको मृत्युसँगै उपन्यास सुरु हुन्छ । सामान्यतः जीवनबाट मृत्युको यात्रा देखाइने कथाभन्दा फरक शैलीमा लेखकले मृत्युबाट जीवनतर्फ फर्केर कथा अघि बढाएका छन् ।

यसले पाठकमा सुरुदेखि नै कौतूहल सिर्जना गर्छ । बखानसिंहको मृत्यु केवल एउटा पात्रको अन्त्य होइन, उनको जीवनले निर्माण गरेको इतिहास, विचार र सङ्घर्षको पुनः अन्वेषणको माध्यम बन्छ ।

ऐतिहासिक आख्यानमा प्रयोग हुने दस्तावेज, संस्मरण, अभिलेख र कथात्मक पुनर्निर्माणको शैली प्रयोग गर्दै लेखकले विगतलाई वर्तमानसँग जोड्ने प्रयास गरेका छन् ।

  • इतिहास र संवेदनाको संयोजन

‘बखान’ को विशेषता राजनीतिक घटनालाई केवल तथ्यका रूपमा प्रस्तुत नगरी त्यससँग जोडिएको मानवीय पक्षलाई उजागर गर्नु हो ।

भरतपुर काण्ड, कांग्रेसको प्रजातान्त्रिक आन्दोलन, पञ्चायतकालीन दमन, राजनीतिक आदर्श र त्यसका लागि गरिएका त्यागहरूलाई लेखकले पात्रहरूको जीवनसँग जोडेर प्रस्तुत गरेका छन् ।

बखानसिंहको राजनीतिक यात्रामा प्राप्ति र गुमाइ दुवै देखिन्छ । जब उनले सामाजिक र राजनीतिक क्षेत्रमा सफलता हासिल गर्छन्, व्यक्तिगत जीवनमा भने कुनै न कुनै मूल्य चुकाइरहेका हुन्छन् । यही द्वन्द्वले पात्रलाई अझ जीवन्त बनाएको छ ।

कांग्रेसभित्रको आन्तरिक सङ्घर्ष, राजनीतिक आदर्शवाद र व्यावहारिक राजनीतिबीचको दूरी तथा सुवर्णशमशेर राणाजस्ता ऐतिहासिक पात्रसँगको सम्बन्धले तत्कालीन राजनीतिक वातावरणलाई बुझ्न सहयोग पुर्‍याउँछ ।

  • संस्कृति, पहिचान र चितवनको इतिहास

यो कृति केवल राजनीतिक आख्यान होइन । यसमा चितवनको सांस्कृतिक र सामाजिक इतिहास पनि उत्तिकै महत्त्वपूर्ण रूपमा आएको छ ।

थारू समुदायका संस्कार, धार्मिक परम्परा, मन्दिर पुनःस्थापना, सोमेश्वरगढीजस्ता ऐतिहासिक स्थल, चितवन नामकरणसँग जोडिएका प्रसङ्ग, चित्रसारी मेलाको इतिहास तथा हात्ती, गैँडाजस्ता प्राकृतिक सम्पदाका प्रसङ्गले कृतिलाई बहुआयामिक बनाएका छन् ।

लेखकले संस्कृति र राजनीति अलग विषय होइनन् भन्ने सन्देश दिएका छन् । सामाजिक चेतना, सांस्कृतिक संरक्षण र राजनीतिक परिवर्तन एकअर्कासँग जोडिएका विषय हुन् भन्ने दृष्टिकोण कृतिमा देखिन्छ ।

सहायक पात्र र ऐतिहासिक दस्तावेजको भूमिका

परमेश्वर चौधरी, मल्लु, महेश्वर सापकोटा लगायतका पात्रहरू कथालाई अघि बढाउने माध्यम मात्र होइनन्, उनीहरूले समयको सामाजिक र राजनीतिक अवस्थाको प्रतिनिधित्व गर्छन् ।

लेखकले यी पात्रमार्फत ऐतिहासिक तथ्य, सामाजिक अभ्यास र राजनीतिक विचारलाई सन्तुलित रूपमा प्रस्तुत गरेका छन् । बखानसिंहको बलिदान र चन्द्रध्वजको सोचमार्फत पुस्तान्तरण हुने जिम्मेवारी र सामाजिक चेतनालाई जोडिएको छ ।

  • सीमाहरू

ऐतिहासिक र राजनीतिक विषयमा रुचि राख्ने पाठकका लागि ‘बखान’ निकै महत्त्वपूर्ण कृति हो । तर नेपाली राजनीतिक इतिहाससँग कम परिचित पाठकका लागि कतिपय ठाउँमा घटनाको विस्तार अलि लामो महसुस हुन सक्छ ।

डायरी शैली, राजनीतिक घटनाक्रम र सांस्कृतिक विवरणबीचको मिश्रणले कतिपय स्थानमा कथाको गति केही सुस्त भएको अनुभूति हुन सक्छ ।

मुख्य पात्र बखानसिंह र उनको परिवारका पात्रहरू क्रमशः विकसित भए पनि केही सहायक पात्रहरू भने कथानकलाई अगाडि बढाउने भूमिकामै सीमित देखिन्छन् ।

  • इतिहास, विरासत र नागरिक जिम्मेवारीको प्रश्न

तर यी सीमाभन्दा माथि उठेर हेर्दा ‘बखान’ एउटा ऐतिहासिक दस्तावेजको साहित्यिक पुनर्निर्माण हो । यसले केही महत्त्वपूर्ण प्रश्न उठाउँछ । जस्तै– राजनीतिक आदर्श र व्यावहारिक राजनीतिबीच सन्तुलन कसरी सम्भव हुन्छ ? राष्ट्रिय पहिचान निर्माणमा संस्कृति र परम्पराको भूमिका के हुन्छ ? एउटा पुस्ताले गरेको त्याग अर्को पुस्ताको सामाजिक जिम्मेवारीमा कसरी रूपान्तरण हुन्छ ?

चन्द्रध्वजले आफ्नो हजुरबुबाको विरासतलाई आत्मसात् गर्दै पार्टीगत द्वन्द्वभन्दा माथि उठेर बस्ती विकास र सामाजिक योगदानमा केन्द्रित हुने सोचले कृतिलाई दार्शनिक गहिराइ दिएको छ ।

  • निष्कर्ष

लेखक वसन्त पराजुलीले ‘बखान’ मार्फत चितवनको इतिहास, राजनीतिक सङ्घर्ष, सांस्कृतिक चेतना र एउटा व्यक्तिको असाधारण जीवनयात्रालाई एउटै आख्यानमा समेटेका छन् ।

भरतपुर क्रान्तिजस्ता ऐतिहासिक घटनालाई बुझ्न, चितवनको सामाजिक विकासको पृष्ठभूमि जान्न र नेपालको प्रजातान्त्रिक आन्दोलनको मानवीय पक्ष अनुभूत गर्न यो कृति महत्त्वपूर्ण छ ।

‘बखान’ केवल एउटा व्यक्तिको जीवनी होइन, यो एउटा समयको कथा हो । इतिहासको गर्भमा दबिएका आवाजलाई साहित्यको माध्यमबाट पुनः उजागर गर्ने प्रयास भएकाले यो कृति सङ्ग्रहणीय र पठनीय ऐतिहासिक आख्यानका रूपमा स्थापित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिवाज अर्याल
रिवाज अर्याल
लेखकबाट थप