शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह

शनिबार, १३ असार २०८३, १२ : ४५
शनिबार, १३ असार २०८३

सारांश

  • नेपाल सरकारले साउदी अरबमा नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।
  • श्रममन्त्री रामजी यादवले साउदी राजदूतसँगको भेटमा सीप प्रमाणीकरण प्रक्रिया रोकी भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न अनुरोध गरेका हुन्।
  • मन्त्री यादवले सीप प्रमाणीकरणका विषय द्विपक्षीय परामर्शबाट समाधान गरिनुपर्नेमा जोड दिएका थिए।

काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यो आग्रह गरेको हो।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए.म्निखरसँग भएको शिष्टाचार भेटका क्रममा सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गरी नेपाली श्रमिकको भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न विशेष अनुरोध गरेका हुन् । 

भेटमा मन्त्री यादवले हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको उनको सचिवालयले शनिबार जानाएको छ । 

उनले सीप प्रमाणीकरणसँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिएका थिए । जवाफमा साउदी राजदूत म्निखरले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराइने बताएको मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप