लामो पर्खाइः चक्रपथ दोस्रो खण्ड विस्तार अघि बढ्ने संकेत
सारांश
- सरकारले कलंकी-बसुन्धारा चक्रपथ विस्तारका लागि चिनियाँ कम्पनीलाई कर छुट दिने भएको छ।
- अर्थ मन्त्रालयले निर्माण सामग्री, उपकरणको आयात, तलब र खरिदमा लाग्ने भन्सार र करमा छुट दिने सहमति जनाएको छ।
- यो खण्ड चीन सरकारको आर्थिक सहयोगमा ८ लेनमा विस्तार हुनेछ, जसमा ओभरपास र आकासेपुलहरू पनि समावेश छन्।
काठमाडौँ । सरकारले काठमाडौँ चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धारा) विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई सबै प्रकारका करहरूमा छुट दिने भएको छ । यससँगै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाको काम अगाडि बढ्ने मार्ग प्रशस्त हुने भएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार अर्थ मन्त्रालयले हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्माण सामग्री, उपकरणको आयात, तलब र निर्माण सामग्री खरिदलगायत लाग्ने सबै भन्सार तथा आन्तरिक करहरूमा छुट दिन सहमति प्रदान गरेको छ । ‘हालै अर्थमन्त्रालयबाट उहाँहरूको सबै मागहरूमा सहमति दिएर फाइल भौतिक मन्त्रालयमा पठाइसकेको छ । अब कहिलेदेखि कसरी काम अघि बढ्ने भन्ने सम्बन्धमा उतैबाट हुन्छ,’ प्रवक्ता पाण्डेले भने ।
यो खण्ड चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार हुँदै छ, यसअघि पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारका गरेको थियो । चीनले कोटेश्वर–कलंकी खण्ड (१०.३९ किलोमिटर) २०६९ सालमा सुरु गरेको थियो । आठ लेनमा विस्तार गरिएको यो सडक चीनको करिब ५ अर्ब रुपैयाँ अनुदानमा २०७५ सालमा सम्पन्न भएको थियो, जसमा सरकारले समग्रमा कर छुट दिएको थियो ।
अब कसरी अघि बढ्छ काम ?
चक्रपथ सडक विस्तार आयोजनाले गत दसैँपछि नै कर छुटलगायत आर्थिक विषयमा सहमतिका लागि फाइल पठाएको थियो । करिब तीन महिना पखाईपछि हालै अर्थले सहमति प्रदान गरेको हो ।
अर्थको सहमति प्राप्त भएसँगै अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयन सम्झौताको मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि नेपाल र चीन सरकारबिच कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ, त्यसपछि चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउने जनाएको छ ।
यसअघि कार्यान्वयन सम्झौता प्रक्रिया नहुँदा करिब सात वर्षदेखि अलपत्र यो परियोजनामा काम बढ्न सकेको थिएन । यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । सोही बेला २०७५ जेठ १४ मा आयोजनाले सूचना जारी गर्दै सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो र ती हटाइएका पनि थिए, तर कोभिड–१९ लगायत विविध कारणले निर्माणको काम अघि बढ्न सकेको थिएन ।
पछिल्लो समय २०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यसैगरी २०८१ मङ्सिर १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी ली छ्याङ लगायतसँगको उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको बुँदामा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो ।
सोहीअनुसार चिनियाँ टोलीले यो खण्डको डिजाइन गरेको थियो । साथै २०२६ जनजरी २० र २१ चीनमा भएको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र नेपाल–चाइना कोअर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एन्ड कर्पोरेसनको तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा पनि यो खण्ड तीव्र विस्तार गर्ने सहमति भएको थियो ।
ओभरपास, आकासेपुलसहित आठलेनमा विस्तार गरिँदै
करिब ८.२ किलोमिटर लामो यो खण्ड विस्तारका लागि चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडले डिजाइन गरेको छ । चीनको सहरी रोड स्ट्यान्डर्ड अनुसार आठ लेनमा विस्तार गरिनेछ ।
साथै यो खण्डमा कलंकी–स्युचाटार पुल १६ मिटर लम्बाइको र विष्णुमती नदीमाथि ६४ मिटरको पुल निर्माण गर्नेगरी डिजाइन गरिएको छ । साथै १३ वटा कल्भर्ट र चारवटा अपाङ्गमैत्री आकाशेपुल निर्माण हुनेछ । यी पुल सीतापाइला–स्वयम्भू, ढुंगेधारा–बालाजु, बालाजु–माछापोखरी र सामाखुसी–बसुन्धरा चौकीको बिचमा बनाइनेछ ।
यातायात व्यवस्थापनलाई सहज बनाउन माछापोखरीदेखि बसपार्कसम्म ५६० मिटर लम्बाइको ओभरपास निर्माण गर्नेगरी डिजाइन भएको छ । उक्त सडकमा सवारीसाधन तथा यात्रुको गन्तव्य परिवर्तनका लागि ११ वटा इन्टरसेक्सन र २२ वटा बस बस बिसौनी निर्माण गर्ने गरी डिजाइन तयार भएको छ । सडकको कुल चौडाइ ३८.५ मिटरमध्ये दुवै छेउमा २.७५ मिटर फुटपाथ, दुईतर्फी चार लेन सडक र सडकको बिचमा बोटबिरुवा रोप्ने तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न तीन मिटर भाग रहनेछ ।
दोस्रो खण्डको निर्माण कार्य सुरु भएपछि काठमाडौँको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । चक्रपथको तेस्रो खण्ड महाराजगञ्ज–कोटेश्वर भने नेपाल सरकार आफैंले विस्तार अघि बढाएको छ । अहिले सडक डिभिजन काठमाडौँले महाराजगञ्जदेखि चप्पल कारखानासम्म सडक विस्तार अघि बढाएको छ ।
यस्तै थप चप्पल कारखानादेखि धोबीखोलासम्म करिब ९०० मिटर सडकखण्ड विस्तारका लागि ५१ करोड रुपैयाँ बराबरको बजेट सहमतिका लागि राष्ट्रिय योजना आयोगमा पठाइएको डिभिजनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण