आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात

शनिबार, १३ असार २०८३, २२ : १२
शनिबार, १३ असार २०८३

कास्की । पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । महिला क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता भएको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक ४० रनको योगदान दिइन् भने अरमिना अधिकारीले ३० रन जोडिन् ।

सिमाना केसीले १२ रन बनाइन् । रञ्जना साउद पाँच र अन्तिमा विश्वकर्मा छ रनमा अविजित रहँदा स्याङ्जाले अतिरिक्तबाट मात्रै २७ रन प्राप्त गरेको थियो ।

नवलपुरका बलरमध्ये श्रेया शर्माले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिइन् । निहारिका शर्माले दुई तथा आयुष्मा चापागाईंले एक विकेट हात पारिन् ।

जितका लागि १२८ रनको लक्ष्य पछ्याएको नवलपुर नौ ओभरको पाँचौँ बलमा जम्मा ३१ रनमा समेटियो । नवलपुरका कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन् । अतिरिक्तबाट प्राप्त १४ रन नै टोलीको दोस्रो ठूलो स्कोर बन्न पुग्यो ।

स्याङ्जाको सहज जितमा सिमाना केसी र निरु जीटीले समान तीन–तीन विकेट लिए । कुसुम गोदारले दुई तथा रञ्जना साउदले एक विकेट लिइन् । ब्याटिङमा १२ रन र बलिङमा तीन विकेटसहित उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी सिमाना केसी उद्घाटन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पर्वतका पाँच टोली सहभागी छन् । प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

महिला क्रिकेटको स्तर उकास्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने तथा महिला क्रिकेटको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा उत्पादनमा सहयोग पुग्ने उनले बताए । यसअघि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्द्रबहादुर प्रजुले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको बजेट घट्दै जानु चिन्ताको विषय भएको बताए । उनले खेलाडीलाई अनुशासित, प्रतिस्पर्धी र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । प्रतियोगिता यही असार १७ गतेसम्म सञ्चालन हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप