आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
पूर्वप्रधानमन्त्रीहरूकाे सन्देश

भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड

आइतबार, १४ असार २०८३, १७ : ५२
आइतबार, १४ असार २०८३

सारांश

  • भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकार्य र एकतामा जोड दिइएको छ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई परास्त गर्न कम्युनिस्टसहित लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिए ।
  • पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, नेपाल र खनालले राष्ट्रिय स्वाधीनता, निरङ्कुशता र वैदेशिक हस्तक्षेपविरुद्ध वामपन्थी एकताको आवश्यकतामा जोड दिएका छन् ।

काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का शीर्ष नेताहरूले गत भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकार्य हुँदै पार्टी एकतासम्म पुग्नुपर्नेमा जाेड दिएका छन्। 

आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा भएको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दुई पार्टीका शीर्ष नेताहरूले यस्तो बताएका हुन् । उनीहरूले विगतका कमी कमजोरीमाथि आत्मसमिक्षा गर्न तयार रहेको समेत बताए।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, साेही पार्टीका सहसंयाेजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले सहकार्य गर्दै एकतासम्म पुग्नुपर्ने आशय व्यक्त गरेका हुन् । ओली, प्रचण्ड, नेपाल र खनाल गत भदौ २३ र २४ पछि आइतबार पहिलो पटक एउटै मञ्चमा देखिएका हुन् । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले समाजवाद निर्माण भन्दा पनि प्रतिगमनलाई परास्त गर्न कम्युनिस्टसहित लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिए ।

‘हामी यतिबेला समाजवाद निर्माण गर्नुपर्छ भन्छौ तर, कसरी गर्ने ?,’ ओलीले भने, ‘अहिले प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ ।’ ओली अघि बोलेका अन्य नेताहरू भन्दा एक कदम अघि बढ्दै उनले भने, ‘यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’

ओलीले एमालेका नीति सही छन् कि गलत छन् भनेर छलफल गर्ने पक्षमा नरहेको पनि बताए । ‘नेकपा एमालेका नीति सही छन् कि गलत भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा एमाले छैन’, ओलीले भने, ‘हाम्रा नीति एकदमै सही छन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा, निरङ्कुशताका विरुद्ध र वैदेशिक हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्नेमा जोड दिए ।

‘म भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ,’ संयोजक प्रचण्डको भनाइ छ ।

उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठुलो दुर्भाग्य हुनसक्ने पनि बताए । ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भयो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौँ भनेको पनि छैन’, प्रचण्डले भने, ‘मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौँ भनेको हुँ ।’  

प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको भन्दै कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउनेतिर देशी विदेशी शक्तिहरू लागिपरेको बताए ।

‘यो सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पीडित समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिँदै गएको छ । मुख्य टार्गेट  कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने भन्नेतिर छ,’ प्रचण्डको भनाइ छ ।

यस्तै पूर्वप्रधानमन्त्री नेपालले बदलिँदो मनोविज्ञान बुझ्न सक्नुपर्ने भन्दै विगतमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपा कसरी कमजोर र विघटन हुन पुग्यो भनेर आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

‘हामीले बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ, या हामीमा के के विकृति आए रु यसको आत्मसमीक्षा गरौँ,’ सहसंयोजक नेपालले भने, ‘यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ ।’ त्यसो गर्न सकेमात्र  कम्युनिस्टहरूलाई एक बनाउन सकिने नेपालको भनाइ छ ।

मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको नेपालको भनाइ छ । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेकोमा जोड दिँदै विगतमा जस्तो कहिले सिङ र कहिले जुरो पलाउन नहुने बताए ।

‘तर बिचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । त्यसकारण हामी एक हुन सकेनौँ’, खनालले भने, ‘अब समयले हामीलाई हिर्काउन थालेको छ । बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ। यसले गर्दा हामी वामपन्थी फेरि एकताबद्ध हुन खोज्दैछौ ।’

खनालले मदन जयन्तीकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन सक्नुपर्नेमा जोड दिए । ‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बनाउन थालौँ । तब मात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबन्डर मच्चाइरहेका छन्, यसका विरुद्ध लडाइँ तब मात्रै गतिशील भएर अघि बढ्न सक्छ,’ खनालले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप