लगनखेल बसपार्क आजदेखि बसस्टप मात्र
ललितपुर – ललितपुरको लगनखेल बसपार्क आजदेखि बसस्टपमा परिणत गरिएको छ । जिल्लामा देखिएको ट्राफिक जामको समस्या व्यवस्थापन गर्न भन्दै बसपार्कलाई बसस्टप बनाइएको छ ।
ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गरेपछि त्यस क्षेत्रको ट्राफिक जामको समस्या कम हुनुको साथै यात्रुहरुलाई आवतजावत गर्न सजिलो हुनेछ ।

लगनखेल बसपार्कमा दैनिक औसतरुपमा दैनिक ४९४ वटा सवारी पार्किङ गरेर राखिने गरेका थिए । एउटा गाडीमा यात्रु भरिसकेपछि मात्र बसपार्कबाट छुट्ने गरेको कारण धेरै सवारी नअँटेर जाम हुने गरेको थियो ।
हाछेथुले भने, ‘अब बसस्टपमा परिणत भएपछि निश्चित समयको अन्तरालमा सवारीसाधन बसपार्कबाट छुट्नुपर्ने हुन्छ । पहिले एउटै रुटका २० वटासम्म सवारी राखिने गरेकोमा अब एउटा रुटको बढीमा दुईवटा मात्र सवारी हुनेछ । यसले जाम मात्र कम नभएर यात्रुहरुको समयको वचत पनि हुनेछ ।’
ट्राफिक प्रहरीका अनुसार धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको थियो । यो निर्णय लागु भएपछि ट्राफिकको धेरै समस्या हल हुने विश्वास प्रहरीको छ ।

बसस्टपमा परिणत गरेपछि त्यहाँ सुधारका अन्य योजनाहरु पनि लागु गरिने छ । जसमा यात्रुहरुको सहजताका लागि बसस्टपमा होडिङ बोर्ड राखेर जाने रुटहरुको संकेत राखिनेछ । त्यसमा भाडादर र सवारी छुट्ने समयको जानकारी राखिनेछ । त्यस्तै, बसपार्कमा गुनासो व्यवस्थापनका लागि हेल्प डेस्क पनि स्थापना गरिएको छ । अशक्तहरुका लागि विशेष व्यवस्था गरिने पनि प्रहरीले जानकारी दिएको छ । त्यसक्षेत्रमा फुटपाथ पसलहरु हटाइएको छ भने फोहोर व्यवस्थापनको योजना पनि लागु गरिनेछ ।

यसबारे जनचेतना फैलाउन शनिबार ललितपुर महानगरपालिकाका मेयर, उपमेयर, विभिन्न वडाका निर्वाचित जनप्रतिनिधि, प्रहरी लगायतले र्याली पनि गरिएको थियो ।
यसअघि, असार २८ मा व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्धि समितिको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बसपार्कलाई बसस्टप बनाउने निर्णय गरेको थियो । बैठकमा ट्राफिक महानगरीय प्रहरी परिसर ललितपुर, वडा नम्बर ५,१२, १५ र १९ का अध्यक्ष, यातायात व्यवसायी तथा स्थानीय प्रतिनिधिहरुको सहभागिता थियो । बैठकले साउन १५ देखि बसपार्कलाई बसस्टपको रुपमा मात्र प्रयोग गर्ने निर्णय गरेको थियो ।
पहिले लगनखेल बसपार्कमा सवारी जम्मा भई विभिन्न स्थानमा सवारी छुट्ने गरेकोमा अब गोदावारी, भैसेपाटीजस्ता क्षेत्रहरुलाई बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण