केन्द्रीय संस्करण

भौतिक शास्त्रको नोबेल पुरस्कार २०१९ र यसका उपादेयता

person explore access_timeअसोज २८, २०७६ chat_bubble_outline1

नेपालमा दसैँको रौनक सकिनै लाग्दा स्विडेनको स्टकहोममा भने भर्खर दसैँ आएझैँ भएको छ । नहोस् पनि किन सारा संसार प्रभाव पार्ने दुरगामी महत्त्वका विविध विधामाथि धमाधम नोबेल पुरस्कार घोषणा भइरहेको छ । त्यो रौनक आउँदो डिसेम्बर १० सम्म जारी रहने छ । हरेक वर्ष डिसेम्बर १० मा घोषित नोबेल पुरस्कार प्रदान गर्ने गरिन्छ । अल्फ्रेड नोबेलको इच्छा अनुरूप यो पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, अर्थशास्त्र, साहित्य र शान्तिका लागि अद्वितीय काम गर्ने जीवित स्रष्टालाई  प्रदान गरिन्छ ।

हुन त सबै विधाका नोबेल पुरस्कारको महत्त्व उति नै छ । तर सबैभन्दा जेठो विज्ञान (करिब १३.८ अर्ब वर्ष पहिला ब्रह्माण्डको उत्पत्तिसँगै भौतिक विज्ञानको सुरुवात भएको मानिन्छ) हुनुको नाताले र यसको ब्रह्माण्डव्यापी प्रभावका कारण सबैले यसप्रति चासो दिएका हुन्छन् ।

नोबेल पुरस्कारको इतिहास हेर्ने हो भने सैद्धान्तिक ब्रह्माण्डशास्त्रमा यो पुरस्कार प्रदान गरेको पाइँदैन तर यसपाला भने एक जना ब्रह्माण्डशास्त्री र दुई जना खगोलशास्त्रीलाई प्रदान गरिएको छ । यसले सैद्धान्तिक ब्रह्माण्डशास्त्रमा अनुसन्धान गर्ने अनुसन्धातालाई हौस्याएको छ ।

नेपाल जस्तो विकासशील मुलुकका लागि पनि यो खुशीको कुरो हो । किनकि प्रयोगात्मक अनुसन्धानका लागि हामीसँग प्रशस्त स्रोत साधन नहुन सक्छ । तर सैद्धान्तिक अनुसन्धान गर्न भने तुलनात्मक रूपमा आर्थिक दृष्टिकोणले सस्तो पर्न जान्छ । जे होस, यसपालाको भौतिकशास्त्रको नोबेल पुरस्कार ब्रह्माण्डशास्त्री जेम्स पेबल्सलाई कूल पुरस्कार राशिको आधा प्रदान गरिएको छ भने बाँकी आधा हिस्सा खगोलशास्त्रीद्वय मिचेल मेयर र डिडियार क्विलोजले बराबर पाउने छन् ।

*****

सन् ६० को दशकमा पेबल्सले ब्रह्मान्डको अनुसन्धान सुरु गर्दा यो विधा भ्रुण अवस्थामै थियो । ब्रह्माण्डसम्बन्धी कैयौँ जानकारीको कुनै वैज्ञानिक आधार थिएन । केवल अनुमानित तथ्याङ्क मात्र थिए । डा. पेबल्सले ठोस गणितीय आधार मात्र प्रदान गरेनन, सन् १९६४ मा पत्ता लागेको माइक्रोवेभ रेडिएसन ब्रह्मान्ड महाविस्फोट हुनुभन्दा ४ लाख वर्षपछि उत्पन्न भएको अवशेष हो भनेर ठोकुवासमेत गरे ।

*****

डा. पेबल्स  सन् १९६० पछिका सबैभन्दा प्रभावशाली ब्रह्माण्डशास्त्री मानिन्छन् । पछिल्लो आधा दशकका ब्रह्माण्डसम्बन्धी हरेक खोजमा उनको नेतृत्वदायी भूमिका छ । प्रिन्सटन विश्वविद्यालयका सेवा निवृत्त प्राध्यापक पेबल्सले अघि सारेको ब्रह्माण्डसम्बन्धी सिद्धान्तले १३.८ अर्ब वर्ष पहिले उत्पत्ति भएको ब्रह्माण्डको इतिहास बुझ्न धेरै हदसम्म सहयोग प्रदान गर्नेछ भने  मेयर र क्विलोजले सौर्यमण्डलभन्दा बाहिर पहिलो पल्ट ग्रह पत्ता लगाएर पृथ्वीभन्दा बाहिर हुन सक्ने सम्भावित जीवित प्राणीको अस्तिवको खोजका निम्ति मार्गप्रशस्त गरेका छन् । तर अहिलेसम्म जीवित वा हामीभन्दा उन्नत प्राणी भएको प्रमाण भने फेला परेको छैन ।

सन् ६० को दशकमा पेबल्सले ब्रह्मान्डको अनुसन्धान सुरु गर्दा यो विधा भ्रुण अवस्थामै थियो । ब्रह्माण्डसम्बन्धी कैयौँ जानकारीको कुनै वैज्ञानिक आधार थिएन । केवल अनुमानित तथ्याङ्क मात्र थिए । डा. पेबल्सले ठोस गणितीय आधार मात्र प्रदान गरेनन, सन् १९६४ मा पत्ता लागेको माइक्रोवेभ रेडिएसन ब्रह्मान्ड महाविस्फोट हुनुभन्दा ४ लाख वर्षपछि उत्पन्न भएको अवशेष हो भनेर ठोकुवासमेत गरे । सामान्यतया माइक्रोवेभ रेडिएसन सबैतिर एकनासको रहन्छ । तर डा. पेबल्सको अनुसन्धानले कहीँकतै सूक्ष्म उतारचढाव भएको फेला पारे, जुन पदार्थ जम्मा भएको प्रमाण हो । कालान्तरमा त्यही पदार्थ जम्मा हुँदै गएर हालका ग्रह, तारा, तारापुन्ज र समग्र ब्रमान्डको उत्पत्ति हुन गएको हो । यसका अलावा डा. पेबल्सले, ब्रह्माण्ड कालो पदार्थले भरिएको अनुमान गरे, जसलाई हामी देख्न सक्दैनौँ । ज्ञात रहोस्, उक्त कालो पदार्थले सामान्य पदार्थसँग प्रतिकृया गर्न सक्दैन तर ब्रह्माण्ड निर्माणको प्रकृयामा भने यसको ठूलो भूमिका रहन्छ ।

सन १९९० पछि डा. पेबल्सको धारणाले मूर्त रूप लिन थाल्यो । त्यति बेला नासाको ‘कस्मिक ब्याकग्राउन्ड एक्सप्लोलर’ अभियानले माइक्रोवेभ रेडिएसनमा उतारचढाव भएको तथ्य प्रमाणित रूपमा सङ्कलन गर्यो ।  अझ सन् १९९८ मा त वैज्ञानिकहरुको अर्को छुट्टाछुट्टै दुई समूहहरुले ब्रह्माण्ड विस्तार मात्र नभई यसमा प्रवेगसमेत उत्पन्न भइरहेको तथ्य फेला पारेर पेबल्सको सिद्धान्तलाई सही  सावित गरे ।

सन् १९९० तिर डिडियर क्विलोज युनिभर्सिटी अफ जेनेभामा डा. मेयरका विद्यार्थी थिए । त्यतिबेला उनी आफ्नो अनुसन्धानका लागि प्रयोगशाला व्यवस्थापन र सफ्टवेयर लेखनमा व्यस्त थिए । सन् १९९४ मा क्विलोजले आफूले लेखेको प्रोग्रामको माध्यमले हामीभन्दा ५१ प्रकाश वर्ष टाढा अवस्थित ‘५१ पेगासी’ भन्ने सूर्यजस्तै देखिने तारा पत्ता लगाए । साथै उक्त ताराको समीपमा रहेर घुमिरहेका जुपिटर आकारका ग्रहहरु पनि देखे उनले । सुरुमा डा. क्विलोज हौसिएनन् किनकी उनलाई आफ्नै अनुसन्धानप्रति त्यति विश्वास थिएन त्यो बेला । पछि उनले यो अवलोकन कैयौँ पल्ट दोहोर्याएर हेरे । पटक पटक उही कुरा दोहोरिएपछि उनी ढुक्क भए र आफ्ना प्रोफेसर डा. मेयरलाई सुनाए । उनीहरुले १९९५ को अक्टोबर ६ मा आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरे । यो अनुसन्धानले खगोलशास्त्रमा सौर्यमण्डल बाहिर ग्रहहरुको खोजीका लागि ढोका खोल्यो ।

*****

रोचक कुरा के छ भने सन् १९९५ देखि ‘सर्च फर एक्सट्राटेरिस्टेरियल इन्टेलिजेन्स’ अभियानले हरेक वर्ष ५ मिलियन डलर खर्च गरेर एक हजारभन्दा बढी तारा पत्ता लगाइसकेको छ । हालै मात्र सानफ्रान्सिस्को भन्दा २५० माइल उत्तर पूर्वमा ३५० एन्टेना भएको टेलिस्कोप जडान गरिएको छ । जसले सन् २०२५ सम्ममा अन्तरिक्षबाट एलियनहरुले पठाएको सूचना प्राप्त गरिसक्ने  विश्वास गरिएको छ ।

*****

आज खगोलशास्त्रीहरुले  हरेक महिना कम्तीमा पनि २ वटा नयाँ सौर्यप्रणाली पत्ता लगाइरहेका छन्, जसमध्ये करिब २५० वटा ग्रह हाम्रो पृथ्वी जस्तै सूर्यको वरिपरि घुम्छन् । जहाँ उन्नत  जीवनसमेत हुन सक्ने कुरालाई नकार्न सकिन्न । अहिलेसम्म हाम्रो आकाशगङ्गा तारामण्डलभित्र ४,००० वटा ग्रह पत्ता लागिसकेका छन् ।

करिब सय वर्ष पहिले पृथ्वीको वरिपरि चक्कर काट्न धनी मानिसलाई समेत ६ महिना लाग्थ्यो । त्यो बेला ठूलो धन राशिको जरुरत पथ्र्यो । आज मध्यम वर्गका सामान्य मानिस ४८ घण्टाभित्र पृथ्वीको वरिपरि सजिलै फन्को  मार्न सक्छ । नासाले कैयौँ पल्ट मानवसहित सफल चन्द्र भ्रमण गरी सकेको छ । निकट भविश्यको कुनै दिन हामी सौर्यमण्डलको परिधि नाघेर  ब्रह्माण्ड विचारण गर्न सक्ने हैसियतमा हुनेछौँ । यस परिप्रेक्षमा, यसपालिको सैद्धान्तिक ब्रह्माण्डशास्त्र र खगोलशास्त्रमा दिइएको नोबेल पुरस्कारले यस क्षेत्रमा थप लगनीका लागि उत्प्रेरणा त दिने छ नै साथै निकट भविष्यमा पृथ्वी जस्तै मानव बस्तीका लागि अनुकुल ग्रहको खोजले पनि झनै तीव्रता पाउने छ भने पृथ्वी बाहिर उन्नत जीवनको खोजी अभियानमा समेत टेवा पुग्नेछ ।

रोचक कुरा के छ भने सन् १९९५ देखि ‘सर्च फर एक्सट्राटेरिस्टेरियल इन्टेलिजेन्स’ अभियानले हरेक वर्ष ५ मिलियन डलर खर्च गरेर एक हजारभन्दा बढी तारा पत्ता लगाइसकेको छ । हालै मात्र सानफ्रान्सिस्को भन्दा २५० माइल उत्तर पूर्वमा ३५० एन्टेना भएको टेलिस्कोप जडान गरिएको छ । जसले सन् २०२५ सम्ममा अन्तरिक्षबाट एलियनहरुले पठाएको सूचना प्राप्त गरिसक्ने  विश्वास गरिएको छ ।

जे होस् अब चाँडै नै हामी सौर्यमण्डल बाहिर जीवानुकुलित ग्रह र उन्नत जीवन (एलियन) भेट्न सक्ने दिशातिर उन्मुख छौँ । यी दुवै परिघटना समग्र मानव जातिका लागि दुरगामी महत्त्वका हुने छन् । झट्ट हेर्दा अन्तरिक्ष अनुसन्धान र मिसन अत्यधिक खर्चिला प्रतित हुन्छन् । अविकसित  मात्र होइन विकसित भनिने देशामा समेत जनस्तरबाटै विरोधसमेत भएको हामी देख्छौँ । उदाहरणका लागि चन्द्र अभियानताका अमेरिकामै यसको विरोध भएको थियो । सामान्य मानिसले दुरुह विज्ञानका दुरगामी प्रभावका बारे हेक्का राख्न सम्भव पनि छैन । परन्तु, राष्ट्रको नेतृत्व गर्ने राजनेताले भने यो कुरो बुझ्न जरुरी हुन्छ । कल्पना गरौँ, चन्द्रमामा मानिससहित यान अवतरण गर्ने वैज्ञानिक आधार समेत तयार नभएको बेला साठीको दशकमा जोन एफ केनेडीले चन्द्रमामा मानिस अवतरण गर्ने अकाट्य सपना नेदेखेको भए के हुन्थ्यो ?

यता स्टकहोमले धमाधम ब्रह्माण्डशास्त्रीलाई पुरष्कृत गर्दैगर्दा नेपाल भने चिनियाँ राष्ट्रपती सीको भ्रमणमा रमाएको छ । देशको मेरुदन्ड मानिने प्रविधिको विकासमा नेताहरुको खासै ध्यान देखिन्न । मेधावी ब्रह्माण्डशास्त्री एवम् त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र  केन्द्रीय  विभाग प्रमुख बिनिल अर्यालको नेतृत्वमा हाम्रो भौतिकशास्त्र विभागले पछिल्लो चरणमा केही प्रगति गरेको छनक दिएको छ  तर राजनीतिक नेतृत्वको उदासिनताले उल्लेख्य प्रगति हासिल गर्न भने सकिएको छैन । आशा गरौँ, देशले चाँडै विज्ञानप्रेमी नेतृव प्राप्त गर्नेछ, जसले हामीलाई सुविधा र समृद्दी दुवै दिनेछ ।

डा. वीरबहादुर बोहरा भौतिकशास्त्र तथा अन्तरिक्ष विज्ञान विभाग न्यासभिल स्टेट कलेज, न्यासभिल, टेनेसे, अमेरिकामा प्राध्यापक (उप. तथा अनुसन्धाता) हुन् ।

कमेन्ट

  1. Oct. 15, 2019, 2:22 p.m. Prof Dr R C Dhakal
    Nice more infomatic
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...