सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा

शुक्रबार, १४ वैशाख २०८१, १० : २५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् । उनी बिहीबार काठमाडौँ ओर्लिएका हुन् ।

श्रीलङ्का र मालदिभ्सका लागि अमेरिकी पूर्व राजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्व कूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्समार्फत सक्रिय छन् ।

लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्स स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् ।

सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्सबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्स, नेपाल (एमच्याम)का महाप्रबन्धक अमीरराज थापाको भनाइ छ ।

‘एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी साउद)लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्सबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठुलो थियो’ थापाले भने । 

उनले एमच्यामका लागि उक्त मान्यताले ठुलो अर्थ राख्ने बताए । उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्सको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।

नेपालमा अमेरिकी लगानी भित्र्याउने सन्दर्भमा केशपले अमेरिका र विभिन्न नेटवर्कमार्फत गरिरहेको पैरवी निकै सकारात्मक भएको उनले बताए । 

‘उहाँ जस्तो व्यक्तित्व लगानी सम्मेलनमा आउनु हाम्रा लागि खुसीको कुरा भएको उनले बताए ।एमच्यामलाई सुरुआतदेखि नै उहाँले सहयोग गरिरहनुभएको छ । लगानी सम्मेलनमा उहाँको सहभागिताले अमेरिकी लगानीकर्तामा राम्रो सन्देश जाने हाम्रो विश्वास छ’ थापाले भने ।

कूल २८ वर्ष अमेरिकी सरकारका लागि कूटनीतिमार्फत सेवा गरेका उनी त्यस क्रममा भारतसँगै मोरक्को र गिनीमा रहेर काम गरिसकेका छन् । हाल उनी अमेरिका–इन्डिया बिजनेस काउन्सिल र अमेरिका–बङ्गलादेश बिजनेस काउन्सिलका अध्यक्षका रूपमा समेत काम गरिरहेका छन् ।

केशपले यसअघि अमेरिकी सरकारका तर्फबाट दक्षिण एसियाका  ११ वटा देशमा अमेरिकी सम्बन्ध स्थापनाका लागि काम गरिसकेका छन् । उनले कोरोना महामारीको समयमा पूर्वी एसिया र प्यासिफिक क्षेत्रमा सम्बन्ध बिस्तारका लागि प्रिन्सिपल डेपुटी सहायक सचिवका रूपमा काम गरेका थिए । साथै अमेरिकी वरिष्ठ अधिकारीका रूपमा एसिया प्यासिफिक आर्थिक सहकार्यका लागि दक्षिण एसियामा रही काम गरिसकेका छन् । उनले ब्युरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्स, ब्युरो अफ इन्टरनेशन अर्गनाइजेसन अपेयर्समा निर्देशकका रूपमा योगदान दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप