शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : सित्तैमा पाएपछि मन्त्रीले भिरे दौरा–सुरुवाल, सागमा नेपालको दमदार सुरुआत

मङ्गलबार, १७ मङ्सिर २०७६, ०७ : ३१
मङ्गलबार, १७ मङ्सिर २०७६

मंगलबार मंसिर १७ गते राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुले दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले दमदार सुरुआत गरेको, प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य, नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगित,  छाउगोठमा महिलाको मृत्यु भएको, प्रचण्डको चीन भ्रमण सरेको लगायतका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।  

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्री ओलीलाई उपचारार्थ अमेरिका लैजानेबारे छलफल भएको समाचार छापेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै रहेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । 

डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपका लागि अमेरिका लैजान र चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको समाचारमा उल्लेख छ । यस्तै कान्तिपुर, नयाँ पत्रिका, गोरखापत्र, राजधानी नागरिक दैनिकमा प्रधानमन्त्रीले सोमबार जारी गरेको भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएको खबर उल्लेख छ । 
 

खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल
नयाँ पत्रिका दैनिकमा खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल दिइएको खबरलाई प्रमुखताका साथ छापिएको छ । 

मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए ।

गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् । सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् ।तर, दुर्भाग्य १ नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा। युवराज खतिवडाले भने दौरा–सुरुवाल अस्वीकार गरेका छन् ।
 

नेपालको दमदार सुरुवात
नागरिक दैनिकमा सागमा नेपालले दमदार प्रदर्शन गरेको भन्दै महत्वकासाथ खबर छापिएको छ । सन् १९९० मा नेपालमा सम्पन्न आठौं साग अझै अविस्मरणीय बन्नु स्वाभाविक छ । त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत, र २४ काँस्य जितेको थियो जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो । त्यसै संस्करणदेखि सागमा डेब्यू गरेका मार्सल आट्र्सका दुई बिधा तेक्वान्दो र करातेले सनसनीपूर्ण नतिजा दिएका थिए । 

अहिले १३ औं संस्करणमा फेरि नेपालका सफल दुई खेल तेक्वान्दो र करातेले आसलाग्दो सुरुआत गरेका छन् । यसपटक तेक्वान्दोका २९ स्वर्ण र करातेका २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । सोमबारसम्ममात्रै नेपालले कूल १५ स्वर्णसहित २४ पटक हासिल गरिसकेको छ । 

यता नयाँ पत्रिका दैनिकले दुई बच्चाकी आमा आयशा शाक्यले एकै दिन दुई स्वर्ण पदक पाएको खबर छापेको छ।  १२ औं सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए । उनी आफैलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन । 
प्रचण्डको चीन भ्रमण सर्यो
अन्नपूर्णका अनुसार नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड नेतृत्वको टोली मंसिर २४ मा चीन जाने तयारीमा थियो । ‘भ्रमण तयारी पूरा भएपनि पछिल्लो राजनीतिक र प्रधानमन्त्रीको स्वास्थ्यका कारण हाललाई यो भ्रमण पछि सर्यो’, नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्रीको उपचारका लागि बाहिर लैजाने विषयमा समेत छलफल भइरहेकाले यस्तो अवस्थामा अधिक नेताहरु बाहिर रहनु उपयुक्त नहुने निष्कर्षमा माथिल्लो तहका नेताहरु पुगेका हुन् ।’

यता कान्तिपुर दैनिकले चीनतर्फ नेपालीको लर्को लागेको खबर छापेको छ । समाचारमा १० महिनामा ३० हजार नेपाली चीन गएको उल्लेख छ । कान्तिपुरले पनि प्रचण्डको चीन भ्रमण स्थगित भएको उल्लेख गरेको छ । 
नेकपा ३० र काँग्रेस १३ स्थानमा विजयी
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनले सरकारलाई अझ लोकप्रिय काम गर्न सचेत र प्रात्साहित दुवै गरेको गोरखापत्रले छापेको छ । यस्तै प्रमुख प्रतिपक्षी दललाई झै जिम्मेवार बन्न सन्देश प्रवाह गरेको छ ।

समाचारमा अन्तिम नतिजाअनुसार काँग्रेसले १३ स्थान जित्दा नेकपाले ३० स्थान जितेको र प्राप्त नतिजाले सन्देश प्रवाह गरेको समाचार सार छ । यता राजधानी दैनिकले नेकपाले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिका गरी महत्वपूर्ण दुई स्थान गुमाएको समाचार छापेको छ । समाचारमा धरानमा नेकपाको ६ दशक यताको लालकिल्ला काँग्रेसले भत्काएको पनि उल्लेख छ । 
छाउगोठमा मृत्यु
नयाँ पत्रिका  र अन्नपूर्ण पोस्टले छाउगोठमै एक किशोरीको मृत्यु भएको खबर छापेका छन् । साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वती बुढा रावतको छाउपडी गोठमा ज्यान गएको हो ।

पार्वती सोमबार बिहान गोठमै मृतअवस्थामा फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक नरपति भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको बताए । उनले चिसोले कठ्याङ्ग्रिएर ज्यान गएजस्तो देखिएको बताए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप