केन्द्रीय संस्करण

ओलीको अन्तिम अवसर

person explore access_timeचैत २, २०७६ chat_bubble_outline0

–कृष्णप्रसाद सुवेदी

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि बालुवाटार फर्कन सफल भएका छन् । बालुवाटारबाट अस्पताल जाँदा आफ्ना वृद्ध पिताको अगाडि शिर झुकाएका प्रधानमन्त्रीलाई अस्पतालबाट फर्केर पुनः शिर झुकाउने सौभाग्य मिल्यो । सायद ओलीका पिताको जीवनमा सबैभन्दा सौभाग्यको क्षण ओली दोस्रो पटक प्रधानमन्त्री भए भन्दा पनि छोरो बाँचेर आफूलाई दर्शन दिएकालाई मान्दा हुन् । जीवन मरणको दोसाँधमा रहेका प्रधानमन्त्रीले नेपाली जनतालाई आत्मविश्वास के हो भनेर अनुभूत गराउन पनि सफल भएका छन् ।

पिताको अगाडि शिर झुकाउनु केवल पिताप्रति सम्मान मात्र हैन, आफूमा रहेका अहंकारको पनि तिरोहित हो । एक पटक एक फिट जति शिर झुकाउँदा लाखौँ नेपालीको मनमा ओलीको कद एउटा गगनचुम्बी हिमाल भएर खडा भएको छ । तर प्रमज्यू, यो क्षणभङ्गुर मात्र हो । यसको निरन्तरताका लागि यहाँले केही त्याग गर्नै पर्छ । केही समर्पण गर्नै पर्छ । अहंतालाई तिरोहित गर्नैपर्दछ । आफूलाई बदल्नै पर्दछ ।  

वि.सं. १९०३ मा प्रधानमन्त्री बनेका जङ्गबहादुर त्यसताका राजाभन्दा शक्तिशाली थिए । १७० वर्षपछि मुलुकले सर्वशक्तिमान प्रधानमन्त्री केपी ओलीलाई पाएको छ । कोतपर्वको नरसंहार र भण्डारखाल पर्वपश्चात जङ्गबहादुर शक्तिशाली भएका थिए भने ओली जनताको मतले सर्वशक्तिमान प्रधानमन्त्री भएका हुन् । यस अर्थमा यिनीसँग नेपाली जनताको अपेक्षा धेरै हुनु स्वाभाविक हो । 

केपी ओलीको पहिलो कार्यकालको मूल्याङ्कनको प्रतिफल यिनको नेतृत्वप्रति जनताले देखाएको भरोसा हो । नेकपालाई इतिहासमै सबैभन्दा मजबुत सरकार बनाउन मतादेश प्राप्त हुनु हो । तर सबैभन्दा ठूलो दलका अध्यक्षसमेत रहेका प्रम ओली किन दिन प्रतिदिन कमजोर बन्दै छन् । किन आत्माविश्वासका धनी  उनी दिनप्रतिदिन नाङ्गिदैछन् ? 

ओलीले ६९औँ जन्मदिन १५ किलोको केक काठमाडौँबाट हेलिकप्टरमा जन्म गाउँ तेह्रथुमको आठराईमा ओसारेर तामझामका साथ मनाए । यिनको राजश्री ठाँटको सर्वत्र विरोध भयो । सायद यिनी जन्मेको बुकुरो घर बोल्न सक्ने भए लाजले भुतुक्कै हुने थियो होला । खास, यिनले यसमा मेरो ध्यान पुगेन, साथीभाइले मेरो जीवनको उत्तराद्र्धको जन्मोत्सव मनाउन खोज्दा अन्यथा हुनगयो । बत्तीस हजारको केक हैन ६९ वटा दियो जलाएर मैले जन्मोत्सव मनाउनु पथ्र्यो । ध्यान पुग्न सकेन भन्दा ओलीको मान प्रतिष्ठा झनै उँचो हुने थियो । तर प्रम ओलीले भड्किलो व्यवहारको पुनः अहंकारी ओठे जबाफ फर्काएर नवराजाको नव जन्मोत्सवको बचाउ गर्न कस्सिए ।

पहिलो प्रधानमन्त्रीको कार्यकालमा राजनेता हुन पुगेका ओली दोस्रो कार्यकालमा दिनप्रतिदिन किन गिर्दैछन् ? नेकपामा एक मात्र ओजस्वी व्यक्तित्व भएका नेता ओली दिनप्रति दिन किन मरिच चाउरेझैँ चाउरी पर्दैछन् त ? हो, ओली आफ्नो निरन्तर साधानाले मुलुकका प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष बन्न सफल भए । यिनमा रहेको त्याग, आत्मविश्वास तथा हिम्मतले मुलुकको कार्यकारिणी प्रमुख बन्न सफल भए । त्यसैले उनलाई लाग्दो हो ममा विशिष्ट ज्ञान क्षमता भएर नै देशको कार्यकारी प्रमुख बन्न सफल भएँ । अरू मभन्दा क्षमतावान भएको भए म कहाँ प्रधानमन्त्री हुन पाउँथे भन्ने । 

मुलुकको प्रधानमन्त्री हुन एक प्रकारको क्षमता, सीप, कौशल चाहिन्छ भने सफल प्रधानमन्त्री बन्न अर्कै । त्यसैले इतिहासमा धेरै व्यक्ति सरकार प्रमुख भए तर सफल प्रधानमन्त्री साह्रै न्यून सङ्ख्यामा मात्रै हुन सके । २००८ सालदेखि २०७६ आजको दिनसम्म ६८ वर्षमा २२ जना नेपालका प्रधानमन्त्री भए । यी २२ जनामध्ये गतिलो प्रधानमन्त्रीको नाम लिनुपरेमा  मुस्किलले १, २ जनाको नाम लेलान् नेपाली जनताले ।  

आजको मुलुकको मुख्य समस्या भनेको भ्रष्टाचार हो । नेपालमा भ्रष्टाचारको मूल जरो भनेको राजनीतिक संरक्षण हो । राजनीतिले नीतिगत भ्रष्टाचारलाई प्रस्रय दिएको छ । पञ्चायतकालमा जति भ्रष्टाचार हुन्थ्यो, बहुदलमा त्योभन्दा बढी भयो । बहुदलको भन्दा गणतन्त्रमा झन् धेरै भ्रष्टाचार भइरहेको छ । त्यसैलै प्रधानमन्त्री सफल बन्न भ्रष्टाचारलाई नियन्त्रण गर्नैपर्छ ।  

समृद्ध नेपाल, सुखी नेपाली भन्दै २०७४ फागुनमा प्रधानमन्त्रीको पदभार सम्हालेका ओलीले भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकता हुन भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा नै लागू गर्ने बताएका थिए । भ्रष्टाचार नियन्त्रण मेरो पहिलो प्राथमिकता हो भनेको दुई वर्ष बितिसकेको छ । तर यिनको कार्यकालमा वाइडबडी कान्ड, मेलम्ची कान्ड, एनसेल कान्ड, ललिता निवास कान्ड, सेक्युरिटी प्रेस खरिद प्रकरण आदि जस्ता दर्जनौँ भ्रष्टाचारका कान्ड सतहमा आए । यिनले भ्रष्टाचार रोक्न त सकेनन् नै बरू आफ्नाले गरेको भ्रष्टाचारलाई संस्थागत संरक्षण गर्न उद्यत देखिए भन्ने आम मानिसको बुझाइ छ ।   

समृद्ध नेपाल, सुखी नेपाली हुन विकास हुनुपर्दछ । तर प्रधानमन्त्री भ्रष्टाचार घटेको तथा विकासले गति लिइरहेको बताउँछन् । रातदिन क्रियाशील छु भन्ने प्रधानमन्त्रीलाई लाग्दो हो विकास भइरहेको छ । बेथिति हट्दै छ भनेर तर जनता मान्न तयार छैनन् । विकासको गति कछुवाको ताल जस्तै भएमा फटाफट् हिँड्ने मानिसको नजरमा ढिलो देखिन्छ नै । जनताको चाहना दु्रत गतिको विकासको छ । विकासको गति सापेक्ष हुन्छ ।

विकास जनताको नजरले हेर्ने हो कि सरकारको नजरले ?      

सानो सुन्दर मुलुक । अथाह प्राकृतिक स्रोत । कहिले पराधीन नभएको तथा स्वतन्त्रता दिवस मनाउनु नपर्ने देश । शालीन तथा सहिष्णु जनता भएको देशमा केले काम गर्न रोकेको छ सरकारलाई ? दलको नेता मात्र नभई मुलुकको नेता बन्न केले रोकेको छ सरकार प्रमुखलाई ? भलै अल्पमतकै सरकार होस्, पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अहिले पनि किन प्रिय छन् नेपालीका हृदयमा । पुँजीपतिहरूको दल भनिने नेपाली काँग्रेसका सर्वहारा नेता किशुनजी हुन् या पदको भोको नभएको उदाहरण पेस गर्ने गणेशमान अहिले पनि उत्ति नै सम्मानित छन्, किन ? श्रद्धा तथा सम्मान अन्तरमनबाट आउँछ । घुँडा टेकेर धनुष्टङ्कार ढोग आसेपासेले गर्दछन् । यसमा सम्मान हैन, चाकडी हुन्छ ।  

समस्याको मूल जरो के हो ? बाधक बाहिरका छैनन् । राज्यका प्रणालीमा हैन । त्यस्तै समस्या लोकतन्त्रको हैन । समस्या छ त दलमा । तपाईंमा तपार्इंका दलका समकक्षीहरूमा । नेता लोभीपापी भएपछि स्वाभाविकै हो प्रणालीमा धमिरा लाग्नु । संस्कृति बसाउन कसले हो ? नेता कि जनताले ? संस्कृति माथिबाट तल सर्छ । 

अहिलेको समस्या आफू ठीक अरू सबै बेठिक हुन् भन्ने ओलीमा भ्रम छ । यिनमा पलाएको अहमता, अहंकारले नै यिनलाई गराउँदै छ । यिनको कर्कस बोली, यिनको असहिष्णुताका कारण यिनी अलोकप्रिय बन्दैछन् । यिनको समस्या सानो चौकडीको घेरामा रहेर निर्णय गर्दछन् । जब यिनको आलोचना हुन्छ तब यिनका अन्धभक्तहरूलाई रफ्फु गर्न पठाउँछन् । मानौँ यिनले निर्णयको तीर हान्छन् तर तीर निशानामा लाग्दैन । यिनका चाकडीबाजहरू दौडँदै तीर लागेका स्थानमा निशाना बनाउन लगाउँछन् । 

प्रधानमन्त्री ज्यू, समय अझै घर्किसकेको छैन । विगतका भएका गल्तीहरूको समीक्षा गर्नुहोस् । नेपाली जनतालाई भन्नुहोस् मेरा गल्ती अन्जानमा भए । अब मबाट गल्ती दोहोरिने छैन । नेपाली जनता महान छन् । क्षमाशील छन् ।

देश र जनताका लागि तपार्इं परिवर्तन हुनुहोस् । नेपाली जनताले तपाईंलाई पुनः विश्वास गर्नेछन् । नेपालको इतिहासमा असल प्रधानमन्त्री केपी ओली हुन् भनेर भन्न नेपाली जनता आतुर छन् । 
नेता स्वच्छ बन्न सक्नु पर्दछ । बच्चाले लगाउने डाइपर र नेता उस्तै उस्तै हुन भन्ने परेमा फोहोर भएको डाइपर फेरे जस्तै नेता पनि फेर्न माहिर छन् नेपाली जनता । लोकतन्त्र विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रमा मत दिनु तानाशाह बनाउन होइन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...