केन्द्रीय संस्करण

स्टेसन म्यानेजरले झपारेर सोधे : तपाईं पत्रकार बन्न आको कि पुलिस ?

person explore access_timeचैत ८, २०७६ chat_bubble_outline0

-संगिता अधिकारी 

सानो हुँदा आमाको सिरानी नजिकै एउटा फलामको काँटीमा रेडियो झुन्ड्याइएको हुन्थ्यो । 

त्यतिबेला रेडियो नेपालबाट प्रसारित घटना र विचार सुन्न हतार-हतार आमाको ओछ्यानमा आइसकेकी हुन्थें म । घटना र विचारको धुन सुन्ने बित्तिकै लाग्थ्यो दमदारकै घटना सुन्न पाइन्छ तर मैले सोचेभन्दा विपरितका समाचार सुनिन्थो । माओवादीले बम विस्फोट गराए- यति जना घाइते यति जनाको मृत्यु ।

 रेडियोका मान्छेले यो घटना कसरी थाहा पाएर भन्छन् होला ? रेडियो भित्र कसरी बसेर बोल्छन् ? होला भन्ने त्यति बेला खुब चासो लाग्थो । तर आमाले भन्नुहुन्थो पत्रकार बन्नु हुन्न है पत्रकारलाई त गोली ठोकेर मार्छन् । मन झसङ्ग भयो । रेडियोमा समाचार भन्नेलाई त मार्ने पो रहेछन् ! एसएलसी सकियो । बुबाले एसएलसी सकिने बित्तिकै लोकसेवा पढ्नु पर्छ भनेर लोकसेवा दिग्दर्शन ल्याइदिनु भयो । 

लोकसेवाका सितिमिति कण्ठ गर्न सकिनँ ।  म काठमाडौं जाने भनेर दिदी सँग काठमाडौ आएँ । 

प्लटु पढ्नका लागि पुष्पलाल मेमोरियल कलेज चाबहिलमा भर्ना भएँ । १२ कक्षा सकेर ब्याचलर कुन विषयमा गर्ने अत्तोपत्तो थिएन । 

दिदीकै सल्लाहमा १२ मा पढेकै विषय आमसञ्चार तथा पत्रकारिता विषय नै रोजेँ । त्यतिबेला बुबाले कपनमा घर लिइसक्नु भएको थियो । तर म दिदी सँगै भक्तपुर बस्थेँ । दिदीले एसओएसमा पढाउनु भएकाले हामीलाई भक्तपुर नै पायक पर्थ्यो । 

ब्याचलर सकेपछि म कपन मा दाइभाउजु सँग बस्न थालेँ । कलेज बिहानको थियो । बिहान कलेज गएर दिनभरी घाममा सुत्ने बाहेक काम थिएन । अब त केही काम गर्नु पर्छ भन्ने लाग्यो । तर काम के गर्ने भन्ने कुनै ठेगान थिएन । 

यहीबीच ओखलढुंगामा प्रसारित रेडियो भिजन एफएममा एकजना काठमाडौ बसेर रिपोर्टिङ गर्ने मान्छे चाहिएको खबर पाएँ। आफ्नो डकुमेन्ट सबै मेल गरेँ । अन्तरवार्ताका लागि मिति तोकियो । अन्तरबार्ता दिएँ । भाग्यबस म छनौट भएँ । जिल्लाबासी अनि पत्रकारिता विषय लिएर पढेकाले मैले प्राथमिकता पाएँ । यहाँ बसेर कुनैपनि व्यक्तिको बारेमा फिचर स्टोरी गर्ने काम हुन्थ्यो । भिजन नेपाल साप्ताहिकमा पत्रिकामा पनि मेरो लेख आउँथ्यो । 

दशैंमा घर जादा आमाले मेरो फोटो सहित छापिएको पत्रिका टाँस्नु भएको रहेछ । काकाको घरमा समेत मेरो फोटोभको पत्रिका भित्तामा टाँसिएको थियो । संगिता त पत्रकार भको छ रे पत्रिकामा फोटो आउन थालेछ । हाम्रोमा पनि तिम्रो पत्रिका छ नि भनेर पल्लो घरको काकीले सुनाउनु भयो । तीज सम्बन्धी र अन्य विषयमा लेख लेखेको थिएँ । यसरी गाउँघरमा के के न गरेँ जस्तो हल्ला सुनाउँदा ओहो मैले राम्रो कुरा पढेछु-राम्रो पो गरेको रहेछु भन्ने लाग्ने रहेछ । पत्रकारिताको अर्थ त्यहाँ गएर बुझेँ । 

पछि नेपालवाणी रेडियो नेटवर्कमा ज्वाइन गरेँ । स्टेशन म्यानेजरले भन्नुहुन्थ्यो- पत्रकारले डेक्समा बसेर काम गर्ने होइन फिल्डमा जानु पर्छ । 

पहिलो असाइन नेपाल पर्यटन बोर्डमा कार्यक्रमको रिपोर्टिङ थियो । पत्रकारिता भनेको हतारिएको साहित्य हो भनेर पढेको थिएँ । सकेसम्म छिटो र मीठो भाषामा लेखेर रेडियो रिपोर्ट बनाउनु पर्ने थियो । कार्यक्रमबाट हतार हतार अफिस पुगेँ । रिपोर्ट तयार भयो । तर स्टेसन म्यानेजरले झपारेर कुर्सीमा बसनुस् भने । भोकै पेटमा थरथराहट भएँ । स्टेशन म्यानेजर ले भने: "तपाईं पत्रकार होकि पुलिस ? मेरो ओठ सुक्यो डरले मन ढुकढुक भयो । मैले मनमनै सोचे यस्तो रिपोर्ट नहुने रहेछ । त्यो दिन रिपोर्ट बजेन । निराश हुँदै घर आए । अर्कोदिन राम्रो गर्छु भनेर अफिस गएँ । हुलाक दिवस थियो ।

 हिजो सरको गाली सम्झिएँ । बाइट रहेनछ त्यो दिन पुलिसले झै रिपोर्ट मात्रै गर्ने रेडियोमा बाइट चाहिन्छ भनेर अर्को सरले सम्झाउनु भयो । त्यो दिन बाइट ल्याएर रेडियोमा मेरो रिपोर्ट बज्यो । मेरा खुशीहरु दिनदिनै थपिदै गए । सँगै गल्ती पनि बुझ्ने मौका मिल्यो ।

 मलाई लाग्छ पत्रकारिता पेशा पैसा भन्दा बढी आनन्दको पेशा हो । जुन दिन रेडियोबाट मेरो आवाज सुनियो । मस्तले निदाएँ । रेडियोमा बजेको मेरो रिपोर्ट रेकर्ड गरेर कति सुने कति । रेडियोमा दिनमा ३ घण्टा समाचार बाचन गर्न अभ्यास गर्न भनिएको थियो  । रिपोर्टको काम नहुँदा बन्द कोठामा आफ्नो आवाज आफैं मात्र सुन्थे अभ्यास जारी थियो । बिस्तारै भिजन नेपाल ओखलढुंगा र नेपालबाणी दुबैमा काम छोडेँ । 
एकजना बहिनी हेल्थ टेलिभिजनमा काम गर्थिन् । मैले उनलाई कार्यक्रम सम्बन्धी स्कृप्ट पठाइदिन्थें । उनले भन्थिन् दिदी तपाईं आउनु स्कृप्ट लेख्ने र कार्यक्रम चलाउने मान्छे चाहिएको छ । सरले बोलाउनु भन्नू भएको छ भनिन् र रातोपुल हेल्थ टेलिभिजनको अफिस गएँ ।

 रिपोर्ट, समाचार बाचनको लय, शब्द चयन जानिसकेको थिएँ । मैले १ महिनामै कार्यक्रम प्रस्तोताको जिम्मेवारी पाएँ । पछि कार्यक्रम पनि ३ वटा थपियो । सिकाई कहिल्यै नास हुँदैन रहेछ अनि सम्मान काम गरेपछि आफै पाइने रहेछ । जिन्दगी सिक्दै अनि बुझ्दै गएँ । पत्रकारिता पेशा सँगै अझै रहरको पेसा बन्दै गयो मेरा लागि । 

कतिले भन्छन् पत्रकारितामा पैसा छैन । म भन्छु पत्रकारितामा पैसाको कुरा होइन काममा सन्तुष्ट बन्नुपर्छ । जो कोही मान्छे आफ्नो काममा सन्तुष्ट छैनन् । कतै पत्रकार स्वयमले पनि यसको अर्थ बुझेका छैनन् कि ! 
हुन त पत्रकारिता गर्दाका दुख पनि धेरै छन् । पत्रकारलाई पारिश्रमिक नदिने समस्या पुरानै रोग हो । यो अझै हट्न सकेको छैन । सँगसँगै पत्रकार हुँ भन्नेले पत्रकारको मर्यादा पालना पनि गर्नुपर्छ । र त पत्रकारिता जिम्मेवार र जनउत्तरदायी पेशा बन्न सक्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...