केन्द्रीय संस्करण

चिनियाँ विद्यार्थीको सन्देश र हामी नेपाली

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

–बबरजङ्ग थापा

कोरोना भाइरसको सङ्क्रमणबाट जोखिन मुलुक लकडाउन भएको आज तेस्रो दिन । एकाबिहानै छिमेकी महिलाले सानो बच्चालाई हतार हतार कोठाभित्र तान्दै भन्दै थिइन् ‘नेपालमा पनि भाइरस भेटियो रे, अब बाँचिन्न ।’ 

चीनको उहान प्रान्तमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई नै त्रसित बनाएको छ । भाइरसले महामारीको रूप लिँदा हालसम्म विश्वमा १७ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ । लाखौँ मानिस सङ्क्रमित छन् । 

कोरोनाको सङ्क्रमणका बिरामी नेपालमा पनि देखिएको अवस्थामा सबैको दिमागमा डर र आतङ्क उत्पन्न हुनु स्वाभाविक नै मान्न सकिन्छ । वास्तवमा डर एक प्रकारको फोबिया हो र नकारात्मक संवेग पनि । यो प्राकृतिक विषय भएकाले मानिसलाई मात्र होइन सम्पूर्ण प्राणी जगतलाई नै यसले तर्साउँछ । 

तर महामारीको बेला यसरी मानिसहरु तर्सेर समस्या समाधान हुँदैन । ती छिमेकी महिलाको कुरा सुनेर मलाई लाग्यो, ‘उनको यस्तो छटपटीले कलिलो बाल मस्तिष्कमा कस्तो असर पर्ला ?’ 
यो त एउटा दृष्टान्त मात्र हो । एकातर्फ भाइरस सङ्क्रमितहरु फेला पर्न थालेपछि अहिले नेपालीहरु अनावश्यक रूपमा धेरै नै त्रसित बनेका छन् । मानिसहरुको दिमागका सकारात्मक भन्दा नकारात्मक सोचले घर गरेको छ । हामीहरु धैर्य सचेत बन्न र सकारात्मक सोचको विकास गर्न सकिरहेका छैनौँ । हामीहरुलाई वनको बाघले होइन मनको बाघले खाइरहेको छ । 

अर्कोतिर नेपालमा यो रोग देखा परेपछि सरकारले ‘लकडाउन’ गर्दै सबै नेपालीलाई सचेत रहन आह्वान गरेको छ । जनताको ज्यान जोगाउनका लागि गरिएको यो राम्रो पक्ष हो । तर धेरै मानिसहरु अनावस्यक रूपमा सडकमा निस्किरहेका छन् । कोरोनाको उच्च जोखिममा रहेका विदेशी मुलुकबाट भर्खर मात्र घर फर्केकाहरु र सहरबाट गाउँ पसेकाहरु खुलेआम हुल बाँधेर डुलिरहेका छन् । नेपालमा भेटिएका तेस्रो सङ्क्रमित, जो भर्खर कतारबाट फर्केका हुन । उनले काठमाडौँ नयाँ बसपार्कको एक होटलमा साथीभाइ जम्मा पारेर पार्टी नै गरेका थिए भन्ने समाचार बाहिरिएको छ । यो अर्को दृष्टान्त हो । 
अर्को कुरा सेल्फ क्वारेन्टाइनमा बसेकाहरु आफूले देखेका कमजोरीहरुका बारेमा सम्बन्धित निकायलाई सल्लाहको रूपमा सुझाउनुपर्नेमा सरकारको चर्को आलोचना गर्नमा व्यस्त छन् । 

यी तीन कुराले दर्साउँछ,  ‘हामी नेपालीहरुको अति र नकारात्मकताको हद’ कति छ भन्ने । 

पहिलो पटक यो भाइरस फेला परेको मुलुक चीन भने अहिले सामान्य अवस्थामा फर्कँदैछ । सङ्क्रमण देखापरेपछि वैज्ञानिकहरुले गरेको आकलनभन्दा निकै तीव्र रूपमा चीनले यो सङ्क्रमणको दरलाई रोक्यो, बिरामीलाई उपचार ग¥यो र चाँडै रोकथाम ग¥यो । 

यो भाइरस चीनमा कसरी चाँडै रोकथाम भयो ? दक्षिण कोरियाले कसरी नियन्त्रण ग¥यो ? हामी मात्र होइन विश्वभरिका सबै मानिसलाई चासोको विषय हो । प्रभावित मुलुकका मानिसहरु कसरी यसबाट बच्न सके ? सुरक्षित भए ? यो झन हामीले जान्नैपर्ने विषय हो । 

विश्वभाषा क्याम्पसमा मैले नेपाली भाषा पढाएका एकजना चिनियाँ सरकारी अधिकृत स्तरका कर्मचारीसँग यसबारे चासो राखेँ । फेसबुक म्यासेन्जरमा उनको  जवाफ आयो, ‘नेपालमा कोरोना देखिइसकेको अवस्थामा म के कुरालाई जोड दिन्छु भन्दा सबै नेपालीहरुले लकडाउनको दृढ रूपमा पालना गर्नुपर्छ, नत्र यो नियन्त्रण गर्न सम्भव छैन, यो हाम्रो अनुभव हो ।’ विश्वभाषा क्याम्पसमा स्नातक छैठौँ सेमेस्टर पढ्दै गर्दा गत माघमा जाडो बिदामा आफ्नो देश फर्केर कोरोना भाइरसको कारण उतै रोकिएका उनले नेपाल र नेपालीबारे निकै चासो राख्छन्, उत्तिकै माया पनि गर्छन् । 

नेपालमा लकडाउनको जनताले नै अवज्ञा भइरहेको, सीमा नाकाबाट हुलका हुल मानिसहरु आउँदा व्यवस्थित गर्न नसकेको लगायतका विषयमा उनले अध्ययन गरेर मलाई सन्देश पठाएका थिए । भर्खर मात्र चीनमा यस्तै सङ्कट परेको बेला चिनियाँ जनता, सरकार, कर्मचारी र डक्टरहरुले देखाएको संयमता, सहयोग र समन्वयबारे बताउँदै उनले भनेका छन्, ‘चीनमा सबै एक भएर भाइरसको सामना गरे डक्टर नर्सहरुको त्यागले गर्दा उनीहरु चीनका वास्तविक हिरो बने ।’

हुन पनि उनको यो सन्देशमूलक कुराले मेरो मन छोयो । उनको सन्देशले म घोत्लिन पुगेँ र मनमा केही प्रश्नहरु मडारिए– ‘के हामी नेपालीहरुमा सकारात्मक सोच नै नआउने हो ? सडकमा हिँड्दा आफ्नो ज्यान जान सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लखर लखर नडुली नहुने हो ? साथीभाइ भेला भएर गफ चुटेर बस्नै पर्ने हो ? नाका नाकाबाट पुलिसहरुलाई धकेल्दै गाउँसहर पस्नै पर्ने हो ? आफू बाँचेर अरूलाई जोगाउन केही समय क्वारेन्टाइनमा बस्नै नहुने हो ? के रोग देखाउन लाज र क्वारेन्टाइनमा बस्दा इज्जत जाने हो ? सबै एकजुट हुने बेला अरूको आलोचना गरेर समय बर्बाद गर्नैपर्ने हो ?
चिनियाँ विद्यार्थीको उक्त सन्देशपछि म नेपाली दिदीबहिनी दाजुभाइलाई भन्न चाहन्छु– जानाजानी आफ्नो खुट्टामा आफै बन्चरो नहानौँ ।

आफ्नो जीवन आफै अन्त्य नगरौँ । यो समय साथीसँग होइन परिवारसँग विताऔँ । हेलचेक्र्याइँ होइन, गम्भीर बनौँ । स्वस्थ र खुसी भएर परिवारसँग बाचौँ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.