केन्द्रीय संस्करण

कविता : बालुवाटरको भूपि शेरचन

person explore access_timeबैशाख २०, २०७७ chat_bubble_outline0

-दिल निशानी मगर 

कालापार गएका ज्यामीहरु
महाकालीमा हाम्फालेका बेला
जुठे कामीको अगेनाले 
धुवाँ बिर्सिएको बेला
राजमार्गमा गर्भवती भाउजूको 
खुट्टा सुन्निएर रगत बगेका बेला
कसले लेख्यो आँशु खसाल्नु नपर्ने कविता ? 

हजार सपना बोकेका युवाहरु 
खजुरको बुटा बनेर खाडीमा उभिएका छन् 
तिहारमा मखमली माला उन्ने चेलीहरु
कथित ‘हाउसमेडको’ रूपमा सुगा जस्तै बन्धक छन् 
आमाहरु, अस्पतालको गेटमा दबाईको भीख माग्दैछन् 
बुढेसकालका बाबाहरु ऋणको भारी बोक्न
यसपालि पनि गएका छन् मेघालयको कोइलाखानी
अनि भेटिएका छन्, 
घाइते आन्दोलनकारीको खल्तीमा सुसाइड नोट
यस्तो दुखद् घडीमा 
कसले लेख्यो गणतन्त्रको कविता ? 

जुन देशमा, 
अख्तियार फुपूको घर जस्तो भएको छ
प्रहरी आफ्नै पिताजीको आँगन भएको छ 
अदालत भान्जाभान्जीको स्कुल भएको छ 
त्यही देशमा, 
सामान्य मुद्दा दर्ता गर्न सक्दैनन् 
न्याय माग्न सिकाउने दुःखी डाक्टर साहेब
संसद अपहरणमा  पर्छन्
एकथान हस्ताक्षरका लागि 
कमरेडहरु, अमरेश पुरी बन्छन् 
तर भन्छन्, ‘सरदार मेने आपको नमक खाया हे’
गब्बर सिंहको दादगिरीको यस बखतमा  
कसले लेख्यो सामाजिक न्यायको कविता ? 

नदीहरु अब नदी जस्ता रहेनन् 
स्काभेटर भएका छन् 
आमाको छातीमा डोजर चलेपछि 
हरिया डाँडाहरु, मरुभूमि भएका छन् 
असङ्ख्य भोक, रोग र शोक बोकेर 
सिङ्गो गाउँ नै सीमा काटेर गएका छन् 
विधवाको साडीमा अबिर छर्केर
मरिसेकाका चाहानाहरु ब्युँझाए जस्तो 
यस्तो जालझेलका जिन्दगीमा
साँच्चै कसले लेख्यो होला 
त्यो आँशु खसाल्नु नपर्ने कविता ? 

सायद,
बालुवाटारको भूपि शेरचनले हुनुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.