शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा ३ दिनमा २ चितुवा मृतावस्थामा भेटियो

आइतबार, ०४ जेठ २०७७, १७ : ४०
आइतबार, ०४ जेठ २०७७

गोरखा । गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चितुवा मृतावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

‘चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ’, उनले भने, ‘शरीरमा कतै पनि चोटपटक देखिएको छैन ।’ मृतावस्थाको चितुवाको प्रकृति हेर्दा बिष खुवाएर मारेको हुनसक्ने आङ्शका वन कार्यालयले गरेको छ । उक्त मृत चितुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए ।

स्थानीयवासीले बयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ । चितुवा विष खुवाएर मारेको आशङ्कामा कार्यलयले अनुसन्धान शुरु गरेको उनले बताए । ‘यसरी नै म¥यो भन्न सकिहाल्ने अवस्था छैन’, प्रमुख पौड्यालले भने, ‘घटनाको सबै प्रकृति हेर्दा शङ्कास्पदजस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ ।’

उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए । ‘परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ’, उनले भने । यसअघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुुनेस्थित जङ्गलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थियो । शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उनको भनाइ छ । जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप