शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : द्विविधामा डाक्टरहरु, कसको उपचार गर्ने अनि कसको नगर्ने ?

सोमबार, ०५ जेठ २०७७, ११ : ५०
सोमबार, ०५ जेठ २०७७

 तपाई कोरोनाभाइरसका बिरामी भएको कुनै अस्पतालमा जानुभयो भने त्यहाँको दृष्यले तपाईलाई झस्काउने छ । अस्पतालमा बेड, भेन्टिलेटर र औषधि छैन । बिरामीको भीड छ । अन्तिम श्वाससम्म कुनै पनि बिरामीको ज्यान बचाउन कोशिस गर्नु डाक्टरको धर्म हो ।

तर अचेल डाक्टरले एउटा कठिन फैसला गर्नु परिरहेको छ । अस्पतालको सीमित संशाधनमा कुन बिरामीलाई प्राथमिकता दिने अर्थात् कसलाई भर्ती गर्ने र कसलाई जान दिने !
यस्तो कठोर फैसला गर्नु कुनै पनि डाक्टरका लागि सजिलो हुन सक्दैन । यद्यपि डाक्टरहरु यस्तो फैसला ‘न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’ को निर्धारित निर्देशिका अन्तर्गत लिइरहेका छन् । तर पनि केही बिरामीलाई छाड्ने डाक्टरहरुको फैसलाको निकै आलोचना भइरहेको छ ।

२३ मार्च २०२० मा विश्वका चिर–परिचित डाक्टर र वैज्ञानिकहरुले यसबारे नैतिक दिशानिर्देश जारी गरेका थिए । यो दिशानिर्देश ‘न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित भएको थियो ।

यस दिशानिर्देशमा यो महामारीका क्रममा कसरी मेडिकल संशाधनलाई किफायती ढङ्गले प्रयोग गर्ने भनेर भनिएको थियो । कुनै पनि बिरामीका लागि ‘पहिला आउनेलाई पहिला प्राथमिकता’ भन्ने सूत्र अपनाइने छैन बरु बुढो होस् या बालक, बिरामीको अवस्थालाई हेरेर उसको उपचार गर्ने भनिएको थियो ।

जब यही दिशानिर्देश इटालीका डाक्टरलाई पठाइयो, उनीहरुले तय गरे कि पहिला त्यस्तो बिरामीलाई बचाउन प्रयास गरिनेछ, जसको बाँच्ने सम्भावना बढी छ र जसको बाँच्ने उमेर बढी छ ।

अर्थात्, उनीहरुको नजरमा पहिला युवा पिँढीलाई बचाउन बढी जरुरी थियो । केहीले यो सिद्धान्तमा सहमति जनाए भने धेरैले आलोचना गरे ।

आलोचना गर्नेहरुको तर्क थियो कि भेन्टिलेटरमा युवा होस् कि वृद्ध, दुवै मृत्युको मुखमा छन् । यस्तो बेलामा को बाँच्न सक्छ भनेर किटान गर्नु कठिन हुन्छ । त्यसैले यस्तो अवस्थामा युवालाई उपचारमा प्राथमिकता दिनुपर्ने तर्क गलत पनि हुन सक्छ ।

अनुसन्धानकर्ताहरु भने बिरामीलाई भर्ना गर्ने समयमा नै बढी आवश्यक पर्नेलाई नै पहिला भेन्टिलेटर र आइसीयु बेड उपलब्ध गराइने छ भनेर प्रष्ट भन्नुपर्ने तर्क गर्छन् । यद्यपि यस्तो फैसला निकै मुस्किल परिस्थितिमामात्र लिन सचेत गराइएको छ । तर पहिला नै उमेर या रोगको आधारमा उपचार गर्ने मापदण्ड आफैंमा नैतिक रुपमा गलत हो ।

अस्पतालमा भर्ना भएकाहरुमध्ये कयौंको अवस्था हरेक समय एक सेवकको आवश्यकता पर्नेखालको देखिन्छ भन्नेमा कुनै शंका छैन । यस्ता व्यक्ति आफैं कोरोनाभाइरसका कारण नमरे पनि उनीहरुको हेरचाहमा खटिने मानिस उनीहरुबाट संक्रमित हुन सक्छ ।

हालैका दिनमा अस्पताल र नर्सिङ स्टाफबाट संक्रमण तीव्र रुपमा फैलिएको देखिन्छ । उदाहरणका लागि इंग्ल्याण्ड र वेल्समा कोरोनाको एक तिहाई मृत्यु अस्पतालमै भएको छ । यही तस्वीर अमेरिका र युरोपमा पनि देखिएको छ ।

कठिन समय, कठिन फैसला
जो मानिस वृद्धवृद्धाका लागि ख्याल गर्छन्, उनीहरु बढी चिन्तित छन् । 

इंग्ल्याण्डको स्वयंसेवी संस्था, डिसएबिलिटी राइट्सले ब्रिटिश मेडिकल एसोसिएसनलाई एउटा खुला पत्र लेखेर विकलाङ्ग र वृद्धवृद्धाको अधिकारलाई नजरअन्दाज गर्न नहुने बताएको थियो । उपचारका लागि उनीहरुसँग पनि अवसर हुनुपर्ने तर्क गरिएको थियो । तर कोरोनाबाट प्रभावित धेरैजसो देशमा डाक्टरलाई उपचारका लागि कठिन फैसला लिन बाध्य तुल्याउन थालिएको छ ।
डाक्टरहरु जुन आधारमा उपचारसम्बन्धी फैसला लिइरहेका छन्, उनीहरुसँग त्यसको समर्थनमा पर्याप्त प्रमाण पनि छैन ।

अमेरिकामा महामारी सुरु हुनु अघि नै भनिएको थियो कि भेन्टिलेटरको कमी छ । त्यहाँ कोरोना संक्रमितको उपचारका लागि एड्स र मस्तिष्कसम्बन्धी बिरामीलाई भेन्टिलेटरको सुविधाबाट वञ्चित गरियो । बिरामीहरुको कागजात हेरेपछि यस्तो जानकारी प्रकाशमा आयो ।

स्वास्थ्यकर्मीका लागि नैतिक प्रश्न
अल्जाइमर डिजिज इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी पाउला बार्बारिनोका अनुसार उमेर र पहिलादेखि नै बिरामीको अवस्थालाई ध्यानमा राख्दै उपचारका लागि आवश्यक बिरामीहरुलाई नजरअन्जाज गरिएको अन्य संस्थाबाट जानकारीमा आएको छ । यसरी बिरामीमा भेदभाव गरिनु सरासर गलत रहेको उनको भनाइ छ ।

२१ मार्चमा ब्रिटेनमा नेशनल इन्स्टिच्यूट फर हेल्थ एन्ड केयर एक्सिलेन्सले नयाँ निर्देशिकाअनुसार क्लिनिकल फ्रेलिटी स्केल जारी गरेका थियो । जसमा १ देखि ९ नम्बर समावेश छ । १ नम्बर त्यस्ता बिरामीलाई मानिन्छ जो सामान्य कोटीका छन् र स्वस्थ छन् । ९ नम्बर निकै गम्भीर प्रकृतिका बिरामी मानिन्छन् । यो मापदण्डका आधारमा बिरामीको अवस्था जाँच गरेर उसको उपचार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर यो मापदण्ड पनि पूर्ण रुपमा सही मानिएको छैन ।

यो मापदण्डअनुसार बिरामीलाई कयौं प्रश्न सोधिन्छ । उसको जवाफका आधारमा अगाडिको रणनीति बनाइन्छ । तर प्रश्न सोध्दा बिरामीको अवस्था ठिकै रहेर पछि खराब अवस्थामा पुग्न पनि सक्छ र त्यतिबेला उसलाई भेन्टिलेटरको आवश्यकता पर्न पनि सक्छ । त्यस्तो अवस्थामा के गर्ने ? प्रश्न नउठेको होइन ।

ब्रिटिश मेडिकल एसोसिएसनले १ अप्रिलमा इथिकल गाइडेन्स डकुमेन्ट जारी गरेको थियो । यसमा डाक्टरले केही बिरामीबाट भेन्टिलेटरजस्ता सुविधा फिर्ता लिन बाध्य पार्न सक्ने सुविधा दिइयो ताकि ठिक हुने सम्भावना अधिक रहेका अन्य बिरामीलाई बचाउन सकियोस् ।

विश्वमा बिरामीको अवस्था र स्वास्थ्यसम्बन्धी उपकरणको कमीलाई ध्यानमा राख्दै डाक्टरहरुलाई कडा फैसला लिनका लागि यस्तै दिशानिर्देश जारी गर्न थालिएको छ । यद्यपि यो निर्णय बढीभन्दा बढी मानिसलाई बचाउनकै लागि गरिएको हो । तर यस्तो निर्णयले मानिसमा भय सिर्जना गर्दछ ।

यतिमात्र होइन, यस्ता फैसलाले मेडिकल स्टाफकै मानसिक स्वास्थ्यमा समेत नराम्रो प्रभाव पार्दछ । डाक्टर र मेडिकल स्टाफलाई उनीहरुले जस्तोसूकै अवस्थामा बिरामीलाई बचाउनुपर्छ भन्ने विचारका साथ तालिम दिइन्छ ।

कडा र अप्रिय फैसला लिनुपर्ने अवस्था आएकै कारण कतिपय डाक्टर बिरामी बिदा लिएर ड्युटीबाट जोगिने गरेको तथ्य पनि प्रकाशमा आएको छ । किनकि उनीहरुमा यस्तो परिस्थिति सामना गर्ने साहस छैन ।
विश्वमै यतिबेला संकटको बादल छ । हामी सबै आ–आफ्नो जीवनको यस्तो कठिन अवस्थाबाट गुज्रिरहेका छौँ जसको कसैले कल्पना पनि गर्न सकेको थिएन होला । तर यस मुस्किलपूर्ण अवस्थाबाट पार पाउने एउटै तरिका छ, शारीरिक रुपमा दुरीको पालना गर्नु ।

आफू सुरक्षित हुने र आफ्नालाई सुरक्षित राख्ने । सबैभन्दा महत्वपूर्ण यो छ कि डाक्टरलाई त्यस्तो कडा फैसला लिनबाट जोगाउने । डाक्टर वास्तविक जीवनका भगवान् हुन्, हामीसँगै उनीहरु पनि सुरक्षित रहन जरुरी छ । –बीबीसी हिन्दीबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप