केन्द्रीय संस्करण

भारतसँगको कूटनीति र हाम्रो राजनीतिक जटिलता

person explore access_timeजेठ २८, २०७७ chat_bubble_outline0

-शिवप्रसाद नेपाल 

बो बेन्नेटको भनाइ छ– उचित समयमा उचित कुरा भन्नु वा गर्नुभन्दा पनि कुनै पनि बेला गलत कुरा वा काम नगर्नु नै कूटनीति हो । नेपाल र भारतबीच समग्रमा जेजति काम कुरा र गतिविधि भएका छन्, ती सबै यो परिभाषाभन्दा बाहिर भएका छन् । 

त्यसो त कूटनीतिमा व्यक्ति गौण हुन्छ । व्यक्तिगत जस अपजसले कूटनीतिक मर्यादा कायम गर्न सक्दैनन् । समग्र राष्ट्रिय चिन्ताबाट निर्देशित भएर जेजति गतिविधि गरिन्छ तिनलाई भने कूटनीतिक घेराभित्र अटाउन करै लाग्छ । नेपाल र भारतबीचको वर्तमान नक्सा प्रकरण पनि राष्ट्रिय चिन्ताबाट निर्देशित हो भने त्यो कूटनीतिमै समेटिन्छ । यद्यपि यो सजिलै पार लाग्ने विषय होइन । यसलाई लामो कूटनीतिक कौशलबाट नेपालको पक्षमा पार्न सकिन्छ । नक्साको आधिकारिक दाबी गरेर वर्तमान नेतृत्वले भविष्यमा जोसुकैको सरकार आए पनि सबल कूटनीतिका लागि बाटो भने अवश्य खोलिदिएको छ । 

कूटनीतिक जटिलता सानो उदाहरणबाट सुरु गरौँ । हामीसँग विद्यार्थी राजनीतिबाट चर्का भाषण गर्दै राष्ट्रिय राजनीतिमा उदाउनेहरु धेरै छन् । स्वभावतः विद्यार्थीहरुमा तातो रगत हुन्छ । अतः जथाभावी बोल्नु र गर्नु स्वाभाविक नै मानिन्छ । ती हरेक बोली र व्यवहारलाई समयले अभिलेख राखेको हुन्छ । त्यही बोली देशको परराष्ट्रमन्त्री वा प्रधानमन्त्री भएर दुई पक्षीय वार्ताको टेबलमा बस्दा ठूलो हीनताबोध र पछुतो मात्र हुन्न । आफ्नै बोलीले आफ्नो उचाइ घटाइरहेको हुन्छ र त्यसकै कारण अरू तर्क त्यसै कमजोर हुन थाल्छन् । सायद यसरी पछुताउनेमा सत्तासीन दलका एक अध्यक्ष त अलि बढी नै अनुभवी पनि हुनुहोला । स्वर्गीय मदन भण्डारीले स्वर्गीय राजा वीरेन्द्रलाई भेट्दा आफूले राजासँग त्यति सहज रूपमा प्रस्तुत हुन नसक्नुमा राजाप्रतिको सार्वजानिक अभिव्यक्तिलाई स्मरण गरेका थिए भनेर पनि धेरैले उल्लेख गरेका छन् । 

अर्काे उदाहरण कमजोर प्रतिपक्षमा रहँदा वा देशकोभन्दा बिहान बेलुकीको चिन्ता बढी हुँदा धेरै हुँदो नहुँदो गरिएको हुन्छ । छोराछोरी वा कार्यकर्ताको सानो छात्रवृत्तिका लागि वा सामान्य स्कुलबस वा एम्बुलेन्सका लागि मरिहत्ते गर्ने मान्छेले राष्ट्रियताको बारेमा लाज लाग्नेगरी गुड्डी नहाके हुन्छ किनकि कुनै न कुनै दराजमा अभिलेख रहेका ती सहयोगले परेका दिन राष्ट्रियतालाई नराम्रोसँग गिज्याइरहेका हुन्छन् । लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्ति गर्दा नेपाली राजनीतिका ‘अब्बल खेलाडीहरु’ कति बदनाम भए धेरैलाई थाहा छ । 

फेरि अर्काे उदाहरण सामान्य सरकारी जागिरबाट जीविकोपार्जन नहुने देखेर कसैले देख्दैन के भो त भनी भनी आफ्नो पदीय मर्यादा भुलेर गरिएका कामकुराले पनि वार्ताका टेबलहरु निकै कमजोर भएका छन् । पदमा बसेर जीवनभर गलत काम गरियो भने राष्ट्रियता दुखेको बेलामा देशभक्ति उराल्न खोज्दा त्यति सजिलै पच्दैन । त्यसैले उपसचिवबाट सहसचिव बन्न हारगुहार गरेको मान्छे नै पछि रोलक्रममै सचिव बनेर वार्ताको टेबलमा बस्दा टेबल त्यसै थर्थर गर्छ । कूटनीति हल्लिन्छ । जनताले दुःख पाउँछन् । 

मानव भएपछि कमजोरी हुन्छन् । त्यसमा पनि विवेक नभएको विपन्न आर्थिक अवस्थाले त झन् कमजोरी ल्याउने नै भयो । त्यही विपन्न अवस्थाले व्यक्तिका जीवनमा ल्याएका पटक पटकका कमजोरीलाई राष्ट्रियतासँग जोड्न खोज्दा भारतले नेपाललाई सधैँ कमजोर नजरले हेरेको छ । कमजोरी नै नभएको मान्छे हुन्न तर कमजोरी नै कमजोरी भएको नेतृत्वबाट एकाएक राष्ट्रियता भर्भराएर उठ्छ भन्ने कल्पना गर्नु त्यति सहज हुन्न । त्यसो त वर्तमान नेतृत्व पनि कमजोरीबाट मुक्त छैन । यद्यपि विगतमा महाकाली सन्धि र गृहमन्त्री भएको समयमा देखाइएका कमजोरीका बीच नाकाबन्दीताका र आजभोलि देखाइएका तागत भारतीय अभिलेखमा निर्लज्ज देखिए पनि हामीलाई गौरव महसुस भएको छ किनकि दुर्भाग्यवश नेतृत्वमा पुगेर कैयौँ कमजोरीकाबीच यतिसम्म ‘तागत’ देखाउने प्रधानमन्त्री पनि हामीले कहिल्यै पाउन सकेनौँ । भला कतिपय बोलीहरु कूटनीतिक छैनन् । कूटनीतिक व्यवहार नदेखाउने भारतसँग कूटनीतिक बोली मात्र प्रदर्शन गरिरहनु पनि आफैँमा कूटनीतिको उपहास हो । 

जतिसुकै निमुखो, गरिब वा कमजोर भए पनि आमाको मानहानि वा सतित्वमा धावा बोल्नेलाई त्यसै छोड्न सकिन्न तर आमा पाल्नकै लागि जथाभावी अनैतिक कुकर्म गरिसक्नेले आमाको सतित्व रक्षामा ठूलो स्वरले कुर्लंदा स्वयं आमाको गरिमा घट्ने मात्र हैन निर्लज्जता छरपस्ट हुन्छ । घरभित्रको अवस्था लथालिङ्ग पार्ने र बाहिर सबै सुधार गर्छु भन्दै हिँड्ने काम कि त मूर्खले गर्छ कि त अरू सबै मूर्ख छन् भन्ने सोचाइ हुनेले गर्छ । आफूभित्रको अवस्था भताभुङ्ग हुँदासमेत माखो नमारी बाहिरी चिन्तामा मात्रै लिप्त हुनु भनेको कमजोरीलाई असरल्ल पार्नु हो । त्यसैले आन्तरिक अवस्था मजबुत नगरी चालिने कुनै पनि कूटनीतिक कदम भुत्तो हुने प्रबल सम्भावना सधैँ रहन्छ । आजको आर्थिक कमजोरीलाई भोलिको राष्ट्रियताको धज्जी बनाउन नदिनु नै अबका युवा, विद्यार्थी र उदाउँदा राजनीतिककर्मीहरुको पहिलो प्राथमिकता हुनुपर्छ । नैतिक रूपमा पतनहुनेले राजनीतिमा बनाएको उचाइको यस्तै राजनीतिक प्रणालीमा अर्थ रहे पनि सभ्य राजनीतिमा त्यो एक मिनेट पनि टिक्दैन । त्यसैले सभ्य राजनीतिको जग हालियो भने असल र सबल कूटनीति निर्माण गर्न सजिलो हुन्छ । 

हामीसँग जति पनि राजनीतिकर्मीहरु छन् ती सबैको भनाइ र गराइमा एकरूपता छैन । राजनीतिक नेतृत्वले जेजस्तो मार्ग अवलम्बन गरेको छ । तिनका अनुयायीहरुले त्योभन्दा फरक गर्नु भनेको कि त गणेशमान हुनु हो वा मोहनचन्द्र अधिकारी हुनु हो, जो नेतृत्वमा कहिल्यै पुग्न सक्दैन । त्यसैले यो रोलमोडलको राजनीतिमा धेरै नैतिकता र पारदर्शिताको अपेक्षा गर्नु पनि बेकार छ । जबसम्म राजनीति गर्नेले सार्वजानिक रूपमा बोलेका कुराहरूप्रति जबाफदेही हुनुपर्दैन तबसम्म कूटनीति पनि त्यत्तिकै कमजोर बनिरहन्छ । 

देशलाई समग्र रूपमा शक्तिशाली बनाउनको लागि मानवीय चेतनामा परिवर्तन हुन जरुरी छ । जबसम्म आफ्नो सम्पत्ति विवरण लुकाउने तर व्यक्तिगत मेडिकल विवरण चाहिँ सामाजिक सन्जालमै हालिदिने र त्यसैमा गज्जब गरेँ भन्ने चेतना भएका ‘राजनीतिज्ञ’ नै जनताको व्यक्तिगत गोपनीयताको हकबारेमा ठूलाठूला प्रवचन दिन्छन् र जनता ताली पिटिरहन्छन् भने त्यस्तो चेतनाका बीच कति नै आशा गर्न सकिन्छ र ? 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.