केन्द्रीय संस्करण

नयाँ नक्साले सिर्जना गरेको राष्ट्रिय एकता र भारतीय प्रोपोगाण्डा

person explore access_timeजेठ ३१, २०७७ chat_bubble_outline0

कोरोना महाव्याधिविरुद्ध नेपाल लगायत विश्व नै संघर्षरत रहेका बेला अचानक भारतले कालापानी र लिम्पियाधुरास्थित नेपाली भूभागमा एकतर्फी रुपमा बनाएको सडकको  उद्घाटन गरेपछि दुई देशबीच विवाद उत्पन्न भएको छ । भारतको लामो समयदेखिको थिचोमिचोबाट घायल भैसकेका नेपालीहरुलाई यो कार्यले मर्माहत मात्र बनाएन, एक किसिमको आक्रोश नै पैदा गरिदियो । आफ्नो सीमा मिचिएको प्रतिक्रियास्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दृढ अग्रसरता तथा अन्य राजनीतिक दलहरुको समर्थनमा मन्त्रीपरिषद्को बैठकले आफ्नो भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्यो।

यसबाट चिढिएको भारतीय पक्षले आफ्ना संचारमाध्यममार्फत अनेक किसिमका प्रोपोगाण्डा मच्चाउन सुरु गरिसकेका छन् । अर्को छिमेकी देशको इशारा तथा उक्साहटमा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको भन्दै भारतीय संचारमाध्यम तथा भारतीय सेना प्रमुख समेतका अभिव्यक्तिले आधारहीन प्रोपोगाण्डा जबरजस्त रुपले मच्चाइरहेको छ । यसै क्रममा नयाँ नक्साको पक्षमा दिएको अभिव्यक्तिका कारण भारतीय चलचित्रहरुमा अभिनय गर्ने नेपाली कलाकार मनिषा कोइरालामाथि समेत भारतीय संचारमाध्यमहरुमा अभद्र टिप्पणीहरु भइरहेका छन्। 

आज हामी नेपाली जनताले सिर्जित गरेको संविधानमा सुनिश्चित गरिएको असंलग्न परराष्ट्र नीति र छिमेकीहरुसँग सदा मैत्रीपूर्ण सम्बन्धमा अडिग छौं । हामी संविधानको मर्म अनुसार आफ्नो विदेश नीतिमा सदासमानताको व्यवहार,एकअर्काको सार्वभौमिकताको सम्मान,विकासमा साझेदारी र एकअर्काको सरोकारका विषयमा सहयोगात्मक नीति अनुसार चलेका छौं । नेपालले कसैसँग बैरभाव राख्न आवश्यक ठान्दैन । हामी यो वा त्यो छिमेकीसँग नजिक र टाढाको सम्बन्ध होइन सहयोगी र समानताको सम्बन्ध बनाउन चाहन्छौं । समस्यालाई सम्वादको माध्यमबाट कुटनीतिक तरिकाबाट समाधान गर्दै आएका छौं ।  हामी कसैले उचालेर उचालिदैनौं र हामीलाई हाम्रो आफनो कर्तब्य थाहा छ । 

तर दूखलाग्दो कुरा के भएको छ भनेभारतले कालापानीहुँदैनेपाली भूभागमा बाटो बनाएर नेपाली जनताको राष्ट्रियताप्रतिको भावनामा चोट त पुर्याएको छ नै भारतीय संचारमाध्यमकहरुमा अभिव्यक्त भैरहेका नकारात्मक टिप्पणीहरुले सारा नेपालीहरुमा उसको हेपाहा प्रवृत्तीप्रति आक्रोश पैदा गरेको छ । यसैबीच सबै राजनीतिक पार्टीहरुको आग्रहलाई सम्मान गर्दै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेतृत्व सरकारका प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालको  नक्सा जारी गर्दा हाम्रो राष्ट्रिय एकतालाई 'उचालिएको' भनेर आक्षेप लगाउनु कुन कुटनीतिक परम्परा हो ? 

हामीलाई यसपटक कसैले उचालेको छ भने त्यो भारतीय रबैयाले हो । भारतीय शासकहरुले नेपाली भूमिमा अनधिकृत रुपमा सेना राख्नु र त्यसमा बाटोसमेत बनाइ विश्व नै लकडाउन भएको मौका छोपी उद्घाटन गर्ने कार्यले नेपालको स्वाभिमानमा चोट लाग्दैन?अनि नेपाली बोल्न पाउँदैन?  नेपालभित्र मात्र होइन विश्वभरका नेपालीको मन दुखेको छ । नायिका मनिषा कोइरालाले राष्ट्रियताप्रतिको भावना व्यक्त गर्नुलाई भारतीय संचार माध्यममा गरिएको प्रोपोगाण्डा लाई के भन्ने ? नायिका मनिषाको अभिव्यक्ति उहाँको मात्र नभइ भारतमा बस्ने समस्त नेपालीहरुको आवाज हो ।  चाहे ति सिमलाका स्याउ फार्ममा रहेका नेपाली हुन्,चाहे ती दिल्लीका महलमा काम गर्ने नेपाली हुन्,चाहे ति कास्मिरको सिमानामा उभिएका नेपाली हुन् ति सबै मनिषा कोइरालामार्फत बोलेका हुन् । नेपालीहरुमा परेको चोटबाट संवेदनशील हुनुको साटो नेपाल र नेपाली जनताप्रति गरिएका टिप्पणीहरु आपत्तिजनक छन् । 
भारतीय हेपाहा प्रवृत्ति आजमात्र प्रकट भएको अवश्य होइन । यो सन् १८१६ को असमान सुगौली सन्धिदेखि लगातार रुपमा नेपालले भोग्दै आएको पीडा हो । सुगौली सन्धिमा हस्ताक्षर गरेर तत्कालीन सामन्ती शासकहरुले आपनो आत्मसर्मपणवादी चरित्रलाई उजागर मात्र  गरेनन्  नेपाललाई अर्ध औपनिवेशिक अवस्थाको सिकार बनाउने प्रक्रियाको सुरुवात गरे ।  जनताको जनतन्त्र, लोकतन्त्र र प्रजातन्त्र जे भनेपनि त्यसलाई दबाउने गरी गरिएका साँठगाँठ र सम्झौताले नेपाललाई दीर्घकालीन असर पार्दै आइरहेको छ । नेपाली जनता सुगौली सन्धिसँगै आत्मसमर्पणवादी शासकहरुका विरुद्ध राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएका छन् । २००७ सालदेखि २०६३ सम्म आइपुग्दा जनताले गरेका संर्घषहरु राष्ट्रियता र लोकतन्त्रको पक्षमा,सामन्तवाद र राष्ट्रिय आत्मसर्मपणवादको विरुद्धमा भएका संघर्षका ऐतिहासिक श्रृंखला हुन् । नेपाली जनता जनयुद्ध र जनआन्दोलन उत्कर्ष २०६३ सम्म आइपुग्दा सामन्तवादलाई पूर्णत समाप्त पार्न सफल भएका छन्तर आत्मसमर्पणवादी प्रबृति र अर्धऔपनिबेशिक अवस्था अझै कायम छ । हामीले पहिलो संबिधानसभाबाट राजतन्त्र अन्त्यको घोषणासँगै सामन्ती राज्य व्यवस्थाको स्वरुप र चरित्रमा आमुल परिर्वतन गरेका छौं । संविधान निमार्णसम्म आइपुग्दा यसले पूर्णता पाएको छ । यसबाट लोकतान्त्रिक विधिभित्र रहेर उत्पादक शक्तिको विकास गर्दे राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निमार्ण गर्नु, आर्थिकतथा साँस्कृतिक लगायतका विविध क्षेत्रमा झैं रहने हस्तक्षेपलाई अन्त गर्नुर अर्ध औपनिवेशिक अवस्थाबाट राष्ट्रलाई मुक्ति गर्नु नेपालको अबको कार्यभार हो । 

आज हामीले भोगिरहेको पराधिनताको अन्त्य गर्नुका साथै भारतीय एकाधिकार पुँजीवाद सामु हिजोका शासकहरुले  आत्मसर्मपण गरेर उत्पन्न गरेका समस्याहरुलाई समेत समाधान गर्न नेपाल सक्षम हुनु परेको छ । यतिबेला संघर्षको नयाँ चरणमा हामी नेपालीहरु रहेका छौं । कालापानीमा भारतीय सेना राख्ने कुरा मात्र नभइ नेपाली भुमिमा सडक निमार्ण गर्ने भारतीय रबैया हाम्रो स्वतन्त्रता र स्वाधिनताको संर्घषको अपरिहार्यतालाई अझ प्रष्ट गरेको छ । 
विश्वमा सामन्तवादको अन्त्यपछि औद्योगिक क्रान्तिको प्रक्रियासँगै स्रोत साधन लुट्ने र बजारको विस्तार गर्ने नीति तत्कालीन पुँजीपति वर्ग र तिनको राजनीतिक नेतृत्वले लिएको थियो । त्यस क्रममा भारतमा समेत अंग्रेज साम्राज्यवादको अधिनस्थ भएको कुरा हामी सबैलाई थाहा छ । बृह्त नेपालको भुभागमा अंग्रेजहरुले नेपालको ठूलो हिस्सा भारतमा गाभ्दै नेपाल कब्जा गर्ने नीति लिएका थिए । पूर्वी नेपालको सिन्धुलीसम्म आएको अंग्रेज सेनालाई लखेट्न नेपालीहरु सफल भएपनि पश्चिम किल्ला काँगडाको संघर्षमा शासकहरु भित्रकै आत्मसमपर्णवादी नीतिका कारण पराजय भोग्नु परेको थियो । युद्धको सोही श्रृंखलाको क्रम बढ्दै जाँदा अंग्रेजहरुसँगको युद्धको पराजय र सामन्ती शासकको आत्मसमपर्णको कारण असमान सुगौली सन्धिको मारमा नेपाली पर्नुपर्यो । 

भारतको स्वतन्त्रतापछि दक्षिण एसियामा राजनीतिक उथलपुथल भैरह्यो । राज्य गाभिने र फुट्ने क्रम जारी रहे । त्यसको मुल कारण उत्पीडित वर्ग जातीलाई राज्यले सम्बोधन गर्ने धार्मिक सहिष्णुता कायम गर्नतिर राज्य केन्द्रित नहुनुको परिणाम थियो । नेपालले केही भुभाग गुमाएपनि कहिल्यै पराधिन भएन ।  भारत स्वतन्त्र भएपछि नेपाली जनताले भारतबाट अंग्रेजले गरेजस्तो हेपाहा व्यवहार खेप्नु नपर्ने आशा गरेका थिए तर व्यवहारमा त्यसो हुन सकेन । नेपाली शासकहरुले आपनो निरङ्कुश शासन व्यवस्था टिकाइ राख्न लोकतान्त्रिक विचार र संगठनको विकास हुन नदिन भारतीय शासक सामु आत्मसमपर्ण गरेकै कारण आज नेपालीहरुले भारतीय हस्तक्षेप  विरुद्ध संघर्ष गरिरहनु परेको छ । यसबाट के कुरा स्पष्ट हुन्छ भने राष्ट्रिय  स्वाधिनताको संघर्षमार्फत अर्ध औपनिवेशिक अवस्थाबाट हामी मुक्त हुन बाँकी नै छ । राजनीतिक,आर्थिक,सामाजिक र साँस्कृतिक सबै क्षेत्रमा व्यापक सुदृढीकरण र रुपान्तरणको निरन्तर प्रक्रिया र संघर्षमार्फत हामी स्वाधिनताको संघर्षलाई अगाडि बढाउन सक्छौं । सन् १९६२ माभारत चीन युद्धको बेलादेखि अहिलेसम्म पनि भारतीय सेना अनधिकृत रुपमा कालापानीमा रहिरहनु आपत्तिजनक विषय हो । यतिबेला कालापानीमा रहेका भारतीय सेना फिर्ता पठाउनु प्रमुख कार्यभार हो । 

समग्रमा अर्ध औपनिवेशिक अवस्थाबाट मुक्ति पाउन हाम्रा साधन स्रोत जनशक्ति र पुँजीलाई केन्द्रित र संगठित गरी आर्थिक आत्मनिर्भरताको विकास गर्दै सामाजिक न्याय स्थापना गर्ने अभियानमा तिब्रता ल्याउन आवश्यक छ । हाम्रो देशमा उपलब्ध विविधता चाहे त्यो जातीय होस् चाहे त्यो भौगोलिक होस् चाहे त्यो साँस्कृतिक होस् ती सबैको सहि समायोजन संरक्षण र विकास गर्दै समावेशी र समानुपातिक प्रणालीलाई पूर्णता दिनु र पछि परेका वर्ग समुदायमा राज्यको अभिभावकत्व प्रदान गर्दै समानताको बाटोमा अगाडि बढाउनु पर्छ । यसबाट राष्ट्रिय भावनाको उच्च विकास गरेर सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्दै स्वाधिनताको आन्दोलनको मुल आधार बनाउनु पर्दछ । त्यसो नगरी हामीले ऐतिहासिक महत्वको विश्वको शिखर सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्मका ऐतिहासिक धरोहरहरु र मेची महाकालीभित्र बगेका नदीहरुको रक्षा गर्न सक्ने छैनौं । 
आज कालापानी मात्र होइन बिभिन्न तेइस जिल्लाका सीमा क्षेत्रमा हजारौं हेक्टर जमीन भारतले मिचेको छ । भारतले दश गजा नजिकमा बनाएका पूर्वाधारहरुले हाम्रो सीमा क्षेत्रका गाउँहरु डुबानमा पर्ने गरेका छन् । भूपरिवेष्ठित राष्ट्रले पाउनु पर्ने अधिकारबाट बञ्चित हुने गरी पटक पटक हामीले नाकाबन्दी बेहोरेका छौं । 

हामी उचालिएका छैनौं । फेरि पनि हामी नेपालीहरु यस समस्यालाई सम्वादबाट समाधान गर्न चाहन्छौं । भारतसँगको हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहन्छौं । हामीले भारतसँगको कुरा मात्र होइन लिपुलेकबारे चीन र भारतबीच भएको सम्झौताबारे कुटनीतिक माध्यमबाट असहमति व्यक्त गरेका छौं । भारतीय जनतालाई सम्मान गछौं । भारतका कतिपय बुद्धिजिवीहरुले यो समस्याको सकारात्मक समाधानकाबारे व्यक्त गरेका विचारहरुलाई पनि सम्मान गरेका छौं। हामी हाम्रो एक इन्च भूमि पनि छोड्न सक्दैनौं र साथै भारत लगायत सबै राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको पनि सम्मान गर्दछौं ।

-लेखकको अनुरोधमा नयाँ पत्रिकाबाट साभार
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.