शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा यसरी गरिनेछ सुनिल थापा समूहको व्यवस्थापन, थापा फर्किए काठमाडौं

आइतबार, ११ साउन २०७७, १७ : २८
आइतबार, ११ साउन २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो ।

त्यसमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना बलियो छ ।  काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् धनकुटाका पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठले थापाको समूहलाई मंगलबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको रातोपाटीलाई जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच थापा समूहलाई काँग्रेसमा समाहित गराउने श्रेष्ठको भनाइ छ ।  श्रेष्ठकाअनुसार गृहजिल्ला धनकुटामा राप्रापाका जिल्ला, पालिका र वडा समितिलाई काँग्रेसमा विलयका लागि व्यवस्थापन मिलाएर थापा आइतबार काठमाडौं फर्किसकेका छन् । 

‘जिल्ला कार्यसमिति धनकुटामा समायोजन भइसक्यो । उहाँ (सुनिल थापा)सहित केही नेता १३ गते पार्टी प्रवेश गरिसकेपछि औपचारिक घोषणा गरिने छ । अन्य जिल्लामा पनि लगत्तै समायोजन गरिने कुरा भएको छ ।’ त्यसका लागि १३ गते नेपाली काँग्रेस प्रदेश– १ ले पनि धनकुटामा पार्टी प्रवेश कार्यक्रम राखेको श्रेष्ठले जानकारी दिए ।

तर केन्दीय सदस्यका विषयमा ठोस सहमति भइसकेको छैन । थापाले राप्रपाको केन्द्रीय तहको जिम्मेवारी सम्हालेका नेताहरुलाई काँग्रेसको पनि केन्द्रीय समितिमा समेट्ने गरि जानुपर्नेमा जोड दिँदै आएको छन् । श्रेष्ठकाअनुसार सोमबार (भोलि) एक चरण काँग्रेसका शीर्ष नेताहरुसँग थापाले संवाद गर्ने छन् ।

थापाको समूहलाई काँग्रेस भित्र्याउने कार्यमा सक्रिय काँग्रेस उपसभापति विमलेन्द्र निधिले यस कुरालाई स्वीकार गरे । उनले भने, ‘उहाँले काँग्रेसमा आफूसहित केही नेताहरु आउने इच्छा व्यक्त गर्नुभएकै हो । उहाँले मेलाई म धनकुटा गएर फर्किन्छु । त्यसपछि थप कुराकानी गरौँला भन्नुभएको थियो ।’

राप्रपाबाट राजीनामा दिनुअघि निधिसँगको पछिल्लो छलफलमा थापाले धनकुटाको आफ्नो पार्टीको कार्यसमिति नै ल्याएर काँग्रेसमा आउने बताएका थिए ।  निधिले भने, ‘उहाँसँग तीन महिनादेखि कुरा भइरहेको छ । समग्रमा कुरा पनि भइसकेको छ । मैले उहाँलाई तपाईसँग को आउछ ? टुंगो लाउनुपर्यो नि ? भनेर भनेको थिएँ । अब राजीनामा दिसकेपछि यो विषयमा छलफल गरेका निर्णयमा पुग्छौँ । अहिलेसम्मको छलफल सकारात्मक छ ।’

राप्रपा परित्याग गर्नेहरुमा धनकुटा, सिन्धुपाल्चोक,बारा,धनुषा,सर्लाही लगायतका जिल्लाका कार्यकर्ताहरु समेत रहेका छन् । उक्त जिल्लामा उनीहरुको पनि समायोजन गरिने छ । काँग्रेसमा समाहित हुँदा पार्टीको विधानअनुसार राजनीतिक निर्णयका आधारमा उचित जिम्मेवारी दिइने निधिले बताए । थापासँग आफू निरन्तर संवादमा रहेको निधिले जानकारी दिए ।

सभापति देउवाले पार्टीका विभाग विस्तारमा जुटेका तत्काल काँग्रेसमा समाहित हुँदा केही नेताहरुलाई त्यहाँ पनि जिम्मेदवारी दिने रणनीति अनुसार छलफल चलिरहेको छ ।  थापासँगै काँग्रेसमा समाहित हुने अन्य नेताहरुलाई काँग्रेसले पार्टीका केन्द्रीय विभागहरुमा व्यवस्थापन गरिने बुझिएको छ । शनिबार नेता थापासहित ३१ नेताले राप्रपाका अध्यक्षत्रयलाई संयुक्त राजीनामा दिएका थिए ।

राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरुका साथै नगर,गाउँ,क्षेत्रीय इकाइ समितिहरु पनि काँग्रेसमा समायोजन गराउँदै छन् । योसँगै राप्रपाका संस्थापक स्वर्गीय नेता सूर्यबहादुर थापाको गृहजिल्ला धनकुटा राप्रपाविहीन हुने भएको छ ।

सुर्यबहादुरका छोरा सुनिलले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीलाई ३१ नेता र धनकुटाका सम्पूर्ण कार्यसमितिको राजीनामा बुझाएसँगै धनकुटा राप्रपाविहीन भएको छ । पूर्व उद्योग वाणिज्यमन्त्री समेत थापाको नेतृत्वमा राजीनामा बुझाएका ३१ जनाको सूचीमा धनकुटाका सबै कार्यसमितिहरुले पनि राप्रपा परित्याग गरेको उल्लेख छ ।

गत फागुनमा भएको राप्रपा एकीकरणको औपचारिक कार्यक्रममा पनि सुनिलको अनुपस्थितिलाई भएका थिए ।  नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकूल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामापत्रमा उल्लेख छ ।

पार्टी एकतापछि पनि अस्पष्ट दृष्टिकोण र भागबण्डा कायम रहेको, सचिवालय र कार्य व्यवस्था समिति गठनमा समावेशितालाई बेवास्ता गरिएको र पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेसी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको छैन भन्दै थापा समूहले राजीनामाको घोषणा गरेका छन् ।

एकता पश्चात बनेको केन्द्रीय कार्य समितिमा लामो समयदेखि केन्द्रीय कार्य समितिमा रही योगदान पुर्याएका महत्वपूर्ण नेताहरुलाई समेत समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुलन र विभेद प्रष्टै देखिएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप