५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ
मङ्गलबार, ३१ चैत २०७७, १५ : १४
काठमाडौं । जग्गा धनीलाई थाहा नदिई नक्कली बैना कागज बनाएर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बूढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
जग्गा बिक्री गर्ने भनेर नक्कली बैना कागज बनाएर उनले ५० लाख बढीको ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
उनले नागार्जुन नगरपालिका–६ मा रहेको जग्गा प्रतिआना १८ लाख मूल्य कायम गरेर बैना कागज बनाएका थिए ।
स्वयम्भुबाट पक्राउ गरेर उनीमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको एसएसपी खापुङले बताए ।