शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुरुयोजना विपरीत खुल्ला चौर मासेर पार्क निर्माण

सोमबार, ०७ असार २०७८, १६ : २८
सोमबार, ०७ असार २०७८

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासका लागि २०३६ सालमा ‘मास्टर प्लान’ (गुरुयोजना) बनाइएको थियो । तत्कालीन नगरविकास समितिले यहाँको विकासका लागि उक्त ‘मास्टर प्लान’ तयार गरे पनि वीरेन्द्रनगर नगरपालिकाले गुरुयोजना विपरीत कार्य गर्दै आएको छ ।

नगरपालिकाले मनोमानी कार्य गरेको भन्दै आलोचनासमेत भइरहेको छ । नगरविकास समितिबाट भोगचलनको अधिकार नलिइ नगरपालिका कार्यालयको प्रशासनिक भवनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण, दिनेश स्मृति पार्क लगायतका काम भइरहेको हो । नगर गुरुयोजना र जग्गा भोगचलन प्राप्तिको कानुनी प्रक्रिया विपरीत वीरेन्द्रनगरको खुल्ला चौरमा पार्क निर्माणको काम थालनी गरेको छ ।

वीरेन्द्रनगर उपत्यकाको बीचमा रहेको खुल्ला चौर मासेर पार्क निर्माण गर्न थालिएको हो । जबकि नगरविकास समितिको बोर्डले हालसम्म पूर्णता पाउन नसकी बैठकसमेत बस्न सकेको छैन । नगरविकास समिति बोर्ड गठन नै नभएका कारण जग्गा भोगाधिकारको कुनै निर्णय भएको छैन ।

२०७४ साल जेठ १७ गतेदेखि उपत्यका नगरविकासको अध्यक्ष नारायण कोइरालाले थिए । नगरविकासलाई स्वतः स्थानीय निकायले सञ्चालन गर्ने प्रावधान आएपछि २०७६ साल जेठ १६ गते कोइरालाको कार्यावधि सकियो । २०७६ साल असोज १६ गतेबाट नगरविकासको अध्यक्षमा नगरप्रमुख देवकुमार सुवेदी छन् । नगरविकासको अध्यक्ष नगरप्रमुख रहने र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने प्रावधान छ । हालसम्म नगर विकास बोर्डले पूर्णता पाउन सकिरहेको छैन । बोर्डमा नगर कार्यपालिकाका ५ जना सदस्य मनोनित गर्नुपर्ने हुन्छ । तर, हालसम्म मनोनित नहुँदा बोर्डले पूर्णता नपाएको हो । जसका कारण नगरविकासको बैठक समेत बसेको छैन ।

नगरविकासको गुरुयोजनामा जिल्ला प्रहरी कार्यालय अगाडि रहेको खुल्ला चौरलाई ‘पब्लिक प्लाजा’ (सार्वजनिक खुल्ला मैदान क्षेत्र)का रुपमा यथावत राख्ने निर्णय गरिएको नगरविकास समितिमा लामो सयमसम्म प्लानिङ्गमै काम गरेका पूर्व इञ्जिनियर चेत अधिकारी बताउँछन् । उनका अनुसार उक्त खुला चौरलाई सार्वजनिक भेला, सभा–समारोह जस्ता कार्यक्रम गर्नुका साथै भूकम्प, महामारी, दैवीप्रकोप जस्ता विपदमा प्रयोग गर्न सकिने योजनामा राखिएको छ ।

सोही बमोजिम गत वर्ष कोरोनाभाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि उक्त क्षेत्रमा क्वारेन्टिन निर्माण समेत गरिएको थियो । तर, उक्त क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाले कानुनी प्रक्रिया विपरीत पार्क निर्माण र वृक्षारोपण गर्न लागिरहेको छ । संघीय सरकारको वन तथा वातावरण मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा १ करोड रुपैयाँ बराबरको लागतमा खुल्ला चौरमा पार्क निर्माण तथा वृक्षारोपण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

‘संघीय सरकारको वन तथा वातावरण मन्त्रालयको ८० प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको २० प्रतिशत लागतमा पार्क निर्माण गर्न लागिएको हो,’ ढकालले भने, ‘पार्क निर्माणका लागि डीपीआर गरिएको छ । कम्पाउण्ड वालको बाहिर र भित्र रुख रोप्ने र बीच भागमा पार्क निर्माण गर्ने योजना छ ।’

इन्जिनियर अधिकारीले पार्क निर्माणका लागि नगरपालिका कार्यालयको दक्षिण भागमा रहेको खुल्ला चौरलाई ‘सिटी पार्क’ बनाउन गुरुयोजनामै राखिएको जानकारी दिए । ‘पार्क बनाउनैपर्ने नगरपालिकाको योजना भए सिटी पार्कमा निर्माण गर्दा पनि हुन्छ’, उनले भने, ‘सार्वजनिक कार्यक्रमस्थलका लागि छुट्याएको क्षेत्रलाई पार्क निर्माण गरेर कुरुप (साँघुरो) बनाइनु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप