टेलिकम प्रवक्ता भन्छन्–मोबाइलमा फोन नलाग्ने समस्या समाधान भइसक्यो, भएको के हो ?
नेपाल टेलिकमको मोबाइल फोन नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान साढे ६ बजेतिरदेखि टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएकोमा प्राविधिकहरूले सेवा पूर्ववत् अवस्थामा फर्काएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार भीओएलटीईमा समस्या देखिएको हो ।
‘बिहान करिब साढे ६ बजेतिरदेखि अवरुद्ध भएको सेवा सुचारु भइसकेको छ’, उनले रातोपाटीसँग भने, ‘मोबाइलमा भीओएलटीई सेवा भएकाहरुमा समस्या दिएन, त्यो बाहेकका जीएसएमकाे भ्वाइस सेवामा मात्रै समस्या थियो । ' सेवा करिव दुई घण्टामा पूर्ववत अवस्थामा फर्काइएको टेलिकमले जनाएको छ ।
भीओएलटीई (भ्वाइस ओभर एलटीई) भनेको फोजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस कल गर्न सकिने अत्याधुनिक प्रविधि हो । भीओएलटीईको प्रयोगबाट कुराकानी गर्दा मोबाइलमा स्तरीय भ्वाइस प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ ।
यस प्रविधि मार्फत फोनमा कुराकानी गरिरहँदा फोरजी डाटा पनि साथसाथै चलाउन सकिन्छ। प्रवक्ता जोशीले जीएसएम बिनाको अरु सिस्टममा कुनै समस्या नआएको बताए । उनले भोओएलटी सर्पोट गर्ने मोबाइलहरूमा जीएसएमकै सेवाहरु पनि प्रभावित नभएको दावी गरे ।