शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृ बिमलाको राजनीतिक यात्राः छापामारदेखि मन्त्रीसम्म...

बुधबार, ०९ फागुन २०७४, १४ : ५९
बुधबार, ०९ फागुन २०७४

–शूरबहादुर सिंह/दिपेन्द्र शर्मा 

सुर्खेत– वि.सं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उनी राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत थिइन् ।  विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन, उनलाई । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता प्रष्ट्याउँदै जाँदा त्यसप्रति उनको चासो बढ्यो । यद्यपि त्यतिबेला भने नेपालमा सशस्त्र युद्धको थालनी भइसकेको थिएन । 

किशोर अवस्थादेखि राजनीतिक यात्रा शुरु गरेकी बिमला केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली निवासी हुन् । सानै उमेरमा बुबाको मृत्यु भएकाले केसीलाई विद्यालय शिक्षा हाँसिल गर्न निकै समस्या भयो । बुबाको मृत्युपछि आमाले भोगेको पीडा, व्याप्त गरिबी र महिला हिंसाले उनलाई संघर्षमा उत्रन उत्प्रेरित गरायो । 

विद्यार्थी राजनीतिबाट अघि बढेकी केसीपछि २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सरिक भइन् । पूर्णकालीन सदस्य बनेर माओवादी राजनीतिको यात्राका दौडानमा उनी रुकुम जिल्लाको पहिलो महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बनिन् । 

त्यसपछि माओवादी सुरक्षा दलको सदस्य हुँदै २०५६ सालमा उनले रुकुमको छिवाङ गाउँ जनसरकार प्रमुखको भूमिका निर्वाह गरेकी थिइन् । सुरक्षा दलको सदस्य हुँदाका बखत महिला छापामार भएर कैयन युद्ध मोर्चामा लड्दा भोग्नु परेका सास्तीको केसी अहिले पनि तीतो स्मरण  गर्छिन् । 

विसं २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो तथा महिला संगठनको केन्द्रीय सदस्य बनेकी केसी २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याण मन्त्री पनि बनेकी थिइन् । त्यसैगरी, २०६४ सालमा रुकुमबाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। 

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित केसी प्रदेश नं ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी छन् । महिलाहरुले संघर्ष गर्न सक्दैनन् भन्ने भनाइलाई गलत सावित गर्दै अहिले यो हैसियतमा पुग्दा निकै गर्व लागेको मन्त्री केसी बताउछिन् । “यो देशको महिलासहित उत्पीडित वर्गको जननी सशस्त्र युद्ध नै हो, जहाँ थुप्रैपटक हामीले छापामार युद्ध लडेका थियौँ,”–उनले भनिन् ।  त्यही छापामार युद्धले आफूलाई यस ठाउँमा पुर्याएको उनको भनाइ थियो । प्रदेश सरकारको प्रवक्तासमेत रहनु भएकी सहकारी मन्त्री केसी हाल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप