शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्षमा थापा

मङ्गलबार, ११ वैशाख २०७५, १९ : १०
मङ्गलबार, ११ वैशाख २०७५

सुर्खेत । कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीका दुर्गा थापा निर्विरोध निर्वाचित भएका छन् । 

तीनै संगठनको केन्द्रीय सहमतिअनुसार प्रदेश संगठनका प्रेस चौतारी, युनियन र सेन्टरका सहमतिका उम्मेदवारविरुद्ध अध्यक्षमा विष्णु शर्मा, टेकबहादुर वली, उपाध्यक्ष धर्मराज जिसी, महासचिवमा सुशील शर्मा, कोषाध्यक्षमा लोकेन्द्र पौडेल र सदस्यमा अकबर खानले उम्मेदवारी दिएका थिए । 

महासंघको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समयभित्रै उनीहरुले आज दिउँसो ३ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महासंघको प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको कर्णाली प्रदेश पत्रकार महासंघ निर्वाचन समितिका संयोजक कमलेश डिसीले जानकारी दिए । 

अध्यक्ष थापासँगै महासंघको २१ सदस्यीय प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको छ । खुला उपाध्यक्षमा प्रेस युनियनका कमल पन्त र समावेशी उपाध्यक्षमा प्रेस सेन्टर डम्बरकुमारी आचार्य, महासचिवमा दीपेन्द्र शर्मा, खुला सचिवमा प्रेस चौतारीका पवित्रकुमार शाही, समावेशी सचिवमा प्रेस सेन्टरका गणेश सिर्पाली र कोषाध्यक्षमा चौतारीका सुरेन्द्र खत्री निर्वाचित हुनुभएको संयोजक डिसीले बताए । 

त्यसैगरी, खुला सदस्यहरुमा कृष्ण धमला, कृष्ण आचार्य, अशोककुमार सिंह, गोविन्द केसी, नवीनकुमार पौडेल, बिस्नप्रसाद न्यौपाने, गोपाल रेग्मी, मन्दिर सिंह र दानाकुमारी शाही निर्विरोध निर्वाचित भएको उनले बताए । 

यसैगरी महिला सदस्यमा कृष्णमाया उपाध्याय र छसाल लामा, दलित सदस्यमा गणेश विक, आदिवासी सदस्यमा सन्तोष घर्ती, जनजातिमा श्रीप्रसाद चौधरी निर्वाचित हुनु भएको संयोजक डिसीले जानकारी दिए । 

संयोजक डिसीका अनुसार मधेशी दुई र अल्पसंख्यक एक जना सदस्यमा कसैको उम्मेदवारी नपरेकाले तिनलाई खुला सदस्य कायम गरिएको थियो । 

उनका अनुसार निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण केन्द्रीय पत्रकार महासंघमा पठाइने र यही वैशाख २२ गते केन्द्र महासंघले नै घोषणा तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप