शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा ३ : एक अर्बको बजेट पेश

बिहीबार, १३ वैशाख २०७५, १९ : ५३
बिहीबार, १३ वैशाख २०७५

हेटौँडा ।  प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गरेका छन् ।  

बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ । बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग, प्रादेशिक दुग्धबोर्डको स्थापना, पूर्वाधार विकास, भूकम्पपीडितलाई राहतलगायत कामलाई प्राथमिकतामा राखिएको बताए । 

बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य केशवराज पाण्डे, पशुपति चौलागार्इं, रिना गुरुङ, मुनु सिग्देल, प्रभात तामाङ, निमा लामा, रमेश पौडेल, विशाल खड्का र प्रेमबहादुर पुलामीले प्रदेशमा आर्थिक स्रोत पहिचान गरी आर्थिक स्रोत जुटाउनुपर्नेमा जोड दिए । उनीहरुले जलविद्युत्, कृषि, पर्यटन र औद्योगिक विकासमा बजेटले ध्यान दिनुपर्ने बताए । 

प्रदेश विनियोजन विधेयक 

प्रदेश संसद्को १७ औँ बैठकको आधा घण्टापछि बसेको प्रदेश संसद्को अर्को बैठकले प्रदेश विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुुंगेलले १५ दिन अगाडि पेश गर्नुपर्ने प्रावधान रहेको विधेयक धारा १३ को १ देखि ५ र ७ देखि १० निलम्बन गरेर संसद्मा पेश गरेका हुन् । 

सदस्य रिता माझी, गीता वाग्ले, छिरिङ दोर्जे लामा, रामकुमार अधिकारी, शान्ति थिङ, घनश्याम दाहाल, सुरेशराज श्रेष्ठ र रिना गुरुङले बजेट जनमुखी नभएको आरोप लगाए । अर्को बैठक शुक्रबार अपराह्न ३ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप