शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको भ्रमणमा भारतीय सेना आउनु सामान्य : प्रधानमन्त्री (भिडियो)

सोमबार, ०४ असार २०७५, १७ : ४९
सोमबार, ०४ असार २०७५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदा उनीसँगै भारतीय सुरक्षाकर्मी आउनु सामान्य भएको बताएका छन् । मोदीको भ्रमणमा ठूलो संख्यामा भारतीय ‘कमान्डो फोर्स’ नेपाल आएपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सकिएको एक महिनाभन्दा बढी भैसकेपछि प्रधानमन्त्री ओलीले आज त्यसबेलाको मुद्दा उठान गरेका हुन् । त्यो पनि संसदमा ।

आज उनले भोलिबाट हुने आफ्नो चीन भ्रमणका बारेमा संसदलाई जानकारी दिने कार्यसूचि थियो । त्यहीक्रममा उनले भारतीय प्रधानमन्त्री मोदीको सुरक्षासँग सरोकारको विषयमा बोलेका हुन् । 

ओलीले आज संसदमा भने –

हाम्रो छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नेपाल आउनुभयो । मानिसहरु केही न केही टिप्पणी गर्न चाहँदो रहेछन्, रुचाउँदो रहेछन् । हामी सेक्युरिटी गर्न सक्थ्याँै, उहाँको साथमा सेक्युरिटी देखियो भनेर अलिअलि टिप्पणी आए । हामी जाँदा पनि गच्छेअनुसार युनिफर्ममा सेक्युरिटी गएको हुन्छ । अनि भारत जाँदा, भारतले सुरक्षा दिन सक्दैन र लिएर आउने ? भारतले गर्न सक्दैन ? २ वटा चारवटा जवान लिएर आउने त भारतले भन्दैन ? त्यो एउटा तरिका हुन्छ नि सेक्युरिटीको । आजको दुनियाँमा सेक्युरिटीको प्रश्नमा यथोचित ढंगले (स्थान, परिस्थिति, व्यक्ति, समय र देश विशेष) तय हुन्छन् । यस्ता केहीकेही विषय अनावश्यक ढंगले उठेपनि भ्रमण सफल रहेको छ ।’

भएको के थियो ? 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणमा भारतको स्पेसल प्रोटेक्सन ग्रुप (एसजीपी)का ८६ सुरक्षाकर्मी नेपाल आएका थिए । भारतीय वायुसेनाको विमानमा सवार २५ जना स्पेसल कमान्डोको समूह जनकपुर उत्रिएका थिए । 

दुईवटा हेलिकप्टर लिएर मुक्तिनाथ पुगेको १७ जना भारतीय सुरक्षाकर्मीको समूह ४८ घण्टापछि मात्र त्यहाँबाट हिँडेका थिए । उनीहरू जहाज बिग्रिएको बहाना बनाएर भारतीय प्रधानमन्त्री स्वदेश फर्केपछि पनि मुक्तिनाथ आसपासमा बसिरहेका थिए । 

काठमाडौंमा एसपीजीका ४४ सुरक्षाकर्मी तैनाथ गरिएको थियो । नेपालका हजारौँ सुरक्षाकर्मी नरेन्द्र मोदीको भ्रमण सुरक्षामा खटिए पनि भारतबाट हतियारसहित ठूलो संख्यामा किन स्पेसल प्रोटेक्सन ग्रुपका सुरक्षाकर्मी ल्याइयो भन्नेबारे प्रश्न उठेको थियो । 

व्यवस्थापिका संसदको बैठकमा काँग्रेस नेता गगन थापा र माओवादी नेतृ पम्फा भुसालले हतियारसहित ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी नेपाल आएकोबारे गम्भीर प्रश्न उठाएका थिए ।  

संसद बैठकमा माओवादी नेतृ पम्फा भुसालले भारतीय सुरक्षाकर्मी आउँदा नेपालको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठेको उल्लेख गर्दै भनेका थिइन्, ‘३ सयभन्दा बढी भारतीय कमान्डोलाई सुरक्षाको पहिलो घेरामा राखेर हाम्रो सुरक्षा व्यवस्थामा प्रश्न खडा गर्न खोजिएको हो कि ?’ 

विगतमा भएको नरेन्द्र मोदीको नेपाल भ्रमणभन्दा पछिल्लो पटक सुरक्षाको दृष्टिले निकै तामझामपूर्ण देखिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उनको स्टाइलमा आफ्नो बुलेटप्रुफ गाडी स्पेशल प्रोटेक्सन ग्रुपबाट कभर गराउँदै पशुपति पुगेका मोदीको भ्रमणले नेपाली सुरक्षा निकायको मनोबल पक्कै खस्काएको विश्लेषण पनि भएको थियो । यतिसम्म कि भारतीय  स्पेसल प्रोटेक्सन ग्रुपका सदस्यहरूले पहिलो सुरक्षा घेरामा रहनुपर्ने नेपाली सेनाका अधिकृतहरूलाई दोस्रो घेरामा हेरेर बस्न बाध्य बनाएका थिए । यद्यपि नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले एसजीपी र नेपाल आर्मीले कोअर्डिनेसमा काम गरेको दाबी गर्दै भनेका थिए ‘भारतबाट आएको स्पेसल प्रोटेक्सन ग्रुप र हाम्रो बीचमा कोअर्डिनेसन फर्ममा काम भएको छ ।’ 

‘राजकीय भ्रमणमा भीभीआईपीसँग आफ्नै देशका सुरक्षाकर्मी क्लोज सुरक्षाका लागि आउनु नर्मल हो’, सैन्य प्रवक्ता भण्डारीले रातोपाटीसँग भनेका थिए, ‘भारतीय स्पेसल प्रोटेक्सन नेपाल सरकारको फुल अप्रुभल लिएर आएको हो, कोही पनि सरकारी स्वीकृति बिना हेलिकप्टर लिएर आउन सक्दैन ।’ 

तेस्रो पटक नेपाल भ्रमणमा आएका नरेन्द्र मोदी पहिलो र दोस्रो पटक आउँदा थोरै संख्यामा भारतीय सुरक्षकर्मी लिएर नेपाल आएका थिए । तर यस पटक भारतीय वायु सेवाको हेलिकप्टरमा ठूलो फौज उतार्नुलाई गम्भीर रूपमा हेरिएको छ । 

‘यो हाम्रा लागि राष्ट्रिय लज्जाकै विषय हो’, नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भनेका थिए, ‘सार्वभौम राष्ट्रसँग सुरक्षामा समन्वय हुनसक्छ, सूचना आदान प्रदान गर्ने कुरा पहिल्यै हुन्छ र सेना नै उतार्ने कुरा सार्वभौम राष्ट्रको मूल्यमान्यतासँग मेल खाँदैन ।’ 

मोदी भ्रमणमा भारतीय स्पेसल फोर्स नेपाल उतारेसँगै  अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको बताउँछन् पूर्व एआईजी भण्डारी । उनी भनेका थिए, ‘नेपालमा सुरक्षाको व्यवस्था हुन सक्दैन भीभीआईपी जाँदा यतैबाट सुरक्षाकर्मी लानुपर्छ भन्ने म्यासेज गएको छ ।’ 

यसरी नरेन्द्र मोदीले ठूलो संख्यामा विशेष फौज ल्याएर नेपालको सुरक्षा व्यवस्थालाई विश्वास नगरेको देखिएको थियो । यसबाट नेपाली सेनाको शाख समेत गिरेको बताउनेहरु पनि थिए । 

संसद बैठकमा बोल्दै काँग्रेस नेता गगन थापाले भारतीय सुरक्षाकर्मी नेपालमा हतियारसहित आएकोमा आपत्ति जनाएका थिए । 

‘बीपी कोइरालाले भारतसँग न सङ्घर्ष न समर्पणभन्दा राजा महेन्द्रले बीपीलाई हटाउनका निम्ति भारतीय सरकारलाई चिठी लेख्नुभयो र कालापानीमा भारतीय सेना राख्नका लागि मौन स्वीकृति दिनुभयो’, काँग्रेस सांसद थापाले भनका थिए, ‘पाहुनाको भ्रमण सुरक्षाका लागि भारतीय सेना आएको भन्दै कालापानी दोहो¥याउन खोजिएको त हैन ?’ 

बुलेटप्रुफ कारसमेत भारतबाटै लिएर आएका नरेन्द्र मोदीको भ्रमणमा भारतीय सुरक्षाकर्मीको फौज आएको बारे विश्लेषक झलक सुवेदी प्रश्न गर्दै भनेका थिए, ‘मोदीलाई त्यत्रो सुरक्षा चुनौती के थियो, जसले गर्दा भारतीय सेना नै आउनु प¥यो ? के हाम्रो सुरक्षा संयन्त्रमा घुसपैठ छ भन्ने भारतले निष्कर्ष निकालेको हो ? कि नेपाल सरकारले हामीले सुरक्षा दिन सक्दैनौँ आफ्नो सुरक्षा आफै गर्नु भनेको हो ? खासमा कुरा के हो भने भारतले नेपालमा आफ्नो सैन्य उपस्थिति देखाएर यो मुलुक हाम्रो पूर्ण प्रभावमा छ भनेर देखाउन खोजेको हो । यो सवाल सुरक्षा थ्रेटसँग जोडिएको सवाल नै होइन ।’  

रातोपाटीलाई हालै दिएको अन्तर्वार्तामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले भारतीय सेना नेपाल आउनु गम्भीर भएको बताएका थिए । 

माओवादी केन्द्र एमालेमा विलय भएकै हो : मोहन वैद्यको अन्तरवार्ता

‘पुष्पकमल दाहाल प्रधानमन्त्री हँुदा भारत गएको बेला २५ बुँदे सम्झौता गर्नुभयो । अहिले ओलीजीले पनि ओके गरेर आउनुभयो । सीमादेखि सन्धि सम्झौताका कुरालाई थाँती राखेर राष्ट्रियताको रक्षा कसरी हुन्छ ? यो गम्भीर कुरा हो । साथसाथै भर्खर मोदी नेपालमा आएका बेला थुपै्र घटना घटेका छन् । ओली प्रधानमन्त्री हुने बेला सुष्मा स्वराज नेपाल आउँदा बहालवाला प्रधानमन्त्रीसँग सल्लाह भएन । सार्वभौम देशमा त बहालवाला प्रधानमन्त्रीसँग सल्लाह नहुने विशिष्ट खालको कुरा भयो । अहिले आउँदा सेक्युरिटी फोर्स मोदीले आफै लिएर आए र तिनी मुस्ताङसम्म पुगे । यसमा धेरै कुराहरू उठेका छन् । त्यसो हुनाले यी कुराहरू गम्भीर हुन् । त्यसैले ओलीजी र यो सरकारले केही सोच्ला भन्ने लाग्दैन ।’ किरणले भनेका छन् । 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल 

प्रधानमन्त्री ओलीले मित्रराष्ट्रँंगको सम्बन्ध आपसी हित र पारस्परिक हीतका बिषयमा अघि बढेको समेत उल्लेख गर्दै गत महिना भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको बताए । 
उनले तराईको डुबानको समस्या हटाउन अध्ययनका लागि अर्को साताबाट तराईमा अध्ययन टोली जाने, सन् १९५० को सन्धी असमान रहेको र त्यसबारे पुनरावलोकनका लागि छलफलका लागि टोली जाँदै गरेको र ४ वटा थप हवाई रुट लिने बिषयमा छलफल भएको र सम्झौता हुने क्रममा रहेको बताए । 

प्रधानमन्त्री ओलीले काठमाडौं वीरगञ्ज रेलमार्गको अध्ययनका लागि भारतका रेल्वे कम्पनीबाट टोली काठमाठौं आएको बताँउदै पछिल्लो समय मुलुकमा पर्यटक बढेको उल्लेख गर्दैै पोखरामा पर्यटक बढेर कोठा पाँउन मुस्किल रहेको समेत उल्लेख गरे । 
                                                                                                                                                                                                                                  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप