केन्द्रीय संस्करण
अन्तर्राष्ट्रिय

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?

person explore access_timeसाउन ३, २०७५ chat_bubble_outline0

भू–राजनीतिको कुरा गर्दा संसारभरी रहेका ‘चोकिङ्ग पोइन्ट’ भनिने भूरणनीतिक रूपले महत्वपूर्ण विन्दुहरूको कुराबाट शुरु गर्दा राम्रो होला । यी यस्ता विन्दुहरू हुन जसलाई ‘चोक गर्दा’ (रोक्दा) खेरी संसारका ठूल–ठूला राष्ट्रहरू: सामरिक रूपले ठूला राष्ट्रहरू, अर्थतन्त्रको हिसाबले ठूला राष्ट्रहरू, ठूला बजार राष्ट्रहरूले समेत ऐया भन्नुपर्ने स्थिति आउछ । ती ‘चोकिङ पोइन्टहरू’ कुन–कुन छन् र क–कसको के महत्व छ त ? यो र यस श्रृङ्खलाका बाकी लेक्चरहरुमा हामी चर्चा गर्नेछौं ।

संसारभरी रहेका त्यस्ता विशेष स्थानहरू कसरी भूराजनैतिक, भूरणनीतिक र अझ जिओइकोनोमिकस् हिसाबले पनि महत्वपूर्ण छन् भनेर हामी शृङ्खलाबद्ध विश्लेषण गर्नेछौं ।  अन्तिममा गएर नेपालसँग जोडिनै पर्छ । नेपालको सर्वाङ्गीण पक्षको भूरणनीतिक महत्व के हो त्यसबारेमा चर्चा हुनेछ । नेपालको पनि बेष्ठिगत पक्षको पनि भूराजनीतिक महत्व छ । जस्तो पूर्वको झापा जिल्लाको भूरणनीतिक महत्व के हो ? त्यो पनि छुट्टै चर्चाको विषय हुनेछ । 

हामी त चीन र भारत जस्ता विश्वकै दुई ठूला जनसङ्ख्या भएको, दुई ठूला अर्थतन्त्र भएका, ठूला सैन्य शक्तिहरूको बीचमा छौं । त्यस कारण हाम्रो आफ्नै किसिमको भूरणनीतिक र भूराजनीतिक महत्व छ । त्यसभित्र पनि झापाको के महत्व छ, सिन्धुलीगढीको के महत्व छ ? पोखरा, बुटवल वा पश्चिमको पाटनको के महत्व छ अनि डोल्पाको ‘प्ल्याटु’को के महत्व छ ? त्यसको बारेमा हामी अन्तिममा प्रवेश गर्छौं ।
यो पहिलो व्याख्यानचाँही समकालिन अवस्थामा निक्कै महत्वपूर्ण क्षेत्र रहेकोले भूमध्यसागर र यस वरपरका क्षेत्रबाट शुरु गर्दैछु । 

अहिले सिरियामको गृहयुद्धको कारणले पनि बढी चर्चामा रहेको, लिबियामा असफल विद्रोहको कारणले पनि चर्चामा रहेको त्यस्तै रुसको तेल र ग्यासको आवगमन गर्ने मुख्य रुट कारणले पनि चर्चामा रहेको भूमध्य सागरको भूराजनीतिमा साच्चैं नै विशेष महत्व छ । 

भूमध्य सागरको भू–राजनीतिक तथा भू–रणनीतिक र प्राकृतिक स्रोतको हिसाबले के महत्व छ ? अहिले भूमध्य सागरको वरिपरि किन यति विघ्न द्वन्द्व किन भइरहेको छ भन्ने विषयमा आज हामीहरू प्रवेश गर्नेछौं ।  भूमध्य सागरलाई विश्लेषण गर्दा, विशेष विश्व–राजनीतिको कोणबाट विश्लेषण गर्दा, तीनवटा कोणबाट विश्लेषण गर्नुपर्ने हुन्छ ।

एउटा हो, सामुद्रिक जलमार्ग । जब स्वेज नहर बन्यो । स्वेज नहर बनेपछि (फ्रेन्स कम्पनीले सन् १८५९ बाट बनाउन थालेको यो नहर सन् १८६९ बाट प्रयोगमा आउन थालेको हो । ) यो नहर  भू–मध्यसागरको जलमार्ग र संसारकै सबैभन्दा ठूलो व्यापारिक रुट भयो ।

त्यतिखेर औद्योगिक क्रान्ति (१७६० देखि १८४० बीच युरोप अझ विशेष गरेर बेलायतमा तीब्र गतिमा भएको उद्योगको विकासको सम्पूर्ण परिघटना) युरोपमा मात्रै भएको हुनाले युरोपमा निर्माण भएका सम्पूर्ण सामानहरू एसिया, पूर्वी अफ्रिका र उत्तर अफ्रिकाका केही देशहरूमा बेच्नका लागि यही मार्गबाट लगिन्थ्यो । त्यति बेलादेखि नै यो प्रमुख रुट रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि खास गरी पहिले ब्रिटेन र अहिले आएर पश्चिम युरोपेली राष्ट्रहरू लागि परेका छन् ।

दोस्रो विश्वयुद्ध पहिले इटाली र जर्मनी एकातिर थिए । त्योबेला भूमध्य सागरको धेरै क्षेत्र इटालीको नियन्त्रणमा हुने अवस्था थियो । त्यति बेला पनि भूमध्य सागरमा भयङ्कर ठूलो द्वन्द्व थियो । ब्रिटेन र फ्रान्स एकातिर, इटाली एकातिर भएर बारम्बार लड्थे । तर अहिले अवस्था फेरिएको छ । इटाली पनि अमेरिका नेतृत्वमा आएको छ । 

दोस्रो विश्वयुद्धको अन्त्यसम्म आइपुग्दा कस्तो स्थितिको विकास हुन पुग्यो भने हारेको एक फ्याक राष्ट्रहरू जर्मनी र इटाली अमेरिकाको नेतृत्व स्वीकारेर मित्र शक्तिमा मिसिन आए । तर त्यति खेरै एउटै गठबन्धन बनाएर लडेका अमेरिका र तत्कालीन सोभियत सङ्घ भने दुई अलग ध्रुवमा बाँडिए । यसले अन्तर्राष्ट्रिय राजनीतिमा सोभियत सङ्घ नेतृत्वको अमेरिका विरोधी प्रतिधु्रवको निर्माण भयो । 

सोभियत सङ्घको पतन भए पछि पनि रसियाले त्यसको नेतृत्व अहिलेसम्म पनि गरिराखेको स्थिति देखिन्छ ।  त्यस कारणले, रसियाको स्वार्थका कारणले भूमध्य सागरको महत्व के हो ? अरू पश्चिम युरोपेली राष्ट्रहरु र अमेरिकाको स्वार्थका कारणले भूमध्य सागरको महत्व के हो ? वाणिज्यको हिसाबमा के महत्व हो भन्ने कुरा हामीले विश्लेषण गर्न जरुरी छ । 


व्यापारको कुरा गर्दा अहिलेसम्मको स्थितिमा सबभन्दा महत्वपूर्ण व्यापार तेलको देखिन्छ । अब विस्तारै संसारमा सबैभन्दा ठूलो प्रतिस्पर्धा भविष्यको ऊर्जाको स्रोतमा कसको नियन्त्रण हुने भन्नेमा हुनेछ ? 
धेरै पहिले देखिनै प्राकृतिक स्रोतलाई नियन्त्रण गर्ने र तिनको आवगमन हुने व्यापारिक मार्गलाई नियन्त्रण गर्नेमा ठूला राष्ट्रहरुबीच भयङ्कर ठूलो प्रतिस्पर्धा छ । 

भविष्यको सफा ऊर्जाको सबैभन्दा ठूलो सम्भावित स्रोत प्राकृतिक ग्यास र युरेनियम देखिई राखेको छ । विकिरणको कारणले कत्तिले युरेनियमलाई सफा ऊर्जा मान्दैनन् ।  तर एकदमै थोरै पदार्थबाट साह्रै धेरै ऊर्जा निकाल्न सकिने र कुनै पनि धुँवा ननिकाल्ने भएकाले युरेनियमलाई पनि सफा ऊर्जा मान्ने गरेका देखिन्छ । प्राकृतिक ग्यासबाट पनि एकदमै कम धुँवा निस्कन्छ । 

यीनले कोइलाबाट चल्ने संयन्त्रहरुलाई भटाभट विस्थापित गर्दैछ । तेलबाट चल्ने संयन्त्रलाई पनि प्राकृतिक ग्यासले विस्थापित गर्ने अवस्था देखिन्छ ।  त्यस कारणले प्राकृतिक ग्यास र युरेनियम पाउने देशहरूलाई जबरजस्ती हुन्छ कि फकाएर हुन्छ कि धम्क्याएर हुन्छ कि कुटेर हुन्छ कि वा राष्ट्रलाई नै विभाजित गरेर हुन्छ, आफ्नो पकडमा ल्याउने अन्तर्राष्ट्रिय राजनीति एकदम तीव्रतर रूपमा अगाडि बढिरहेको छ ।

पहिले व्यापरिक मार्गको कुरा ग¥यौँ । व्यापारिक मार्ग अरू युरोपेली राष्ट्रहरूलाई महत्वपूर्ण छँदैछ रुसका लागि पनि किन महत्वपूर्ण छ भन्नु हुन्छ भने सबैभन्दा ठूलो तेलको उपभोक्ता राष्ट्रहरू भनेको अहिले एसियाली राष्ट्रहरू नै हुन् । चीन र भारतजस्ता ठूला उपभोक्ता एशियामा छन् । साथै भारत र चीन संसारको बजारको केन्द्रको रुपमा उदाइरहेका छन् । त्यहाँ उर्जाको माग अत्यन्त धेरै छ । 

भावि दिनमा भारत र चीनलाई ग्याँस र तेल बेच्ने कुराले संसारका राजनीतिको धेरैवटा डाइनामिकहरूलाई निर्धारण गर्दछ ।  तेल बेच्ने राष्ट्रहरू चाहिँ जुन जुन हुन् यसमा तीनको स्वार्थ प्रत्यक्ष रुपा जोडिएको छ । यसमा साउदी अरेबिया, इरान, रसिया, अमेरिका प्रमुख देशहरू हुन् ।

अरू बाँकी त उनीहरूकै छत्रछायामा रहेका साना राष्ट्रहरू छन् । तीनको चाख पनि स्वभाविक रूपमा यसमा आउँछ । अब रुसको कुरा गरौं । रुस सैन्य शक्तिको आधारमा पनि बलियो देश हो, फेरि उ अमेरिकाको प्रतिध्रुव राष्ट्र हो । रुसको अर्थतन्त्रमा ग्यास र कच्चा तेल बिक्रीको धेरै महत्व छ । (सन् २०१२ मा तेल तथा ग्यास क्षेत्रले रुसको कुल ग्राहस्थ उत्पादनको १२% हिस्सा ओगटेको थियो । साथै उसको संघीय बजेट राजस्वको ५२% हिस्सा तेल र ग्यासको आयबाट आउथ्यो । यो रकम निर्यातको हकमा अझै धेरै छ । रुसले गर्ने कुल निर्यातको ७०% हिस्सा तेल र ग्यासले ओगटेको छ । एक हिसाबले रुस तेलको अर्थतन्त्र तेलमा आश्रित देखिन्छ ।) 

रुसको एउटा जियोपोलिटिक कमजोरी छ –रुस साह्रै ठूलो राष्ट्र हो (उसको क्षेत्रफल १,७१,२५,२०० वर्ग किमी छ, जुन नेपालभन्दा ११६ गुणा ठूलो हो) तर उसगँ त्यति धेरै डिप सी पोर्ट भने छैन ।  पानीको गहिराई ३० फिट भन्दा बढी भएको बन्दरगाहालाई डिप सी पोर्ट मान्ने अन्तराष्ट्रिय प्रचलन रहेको छ । यस्ता बन्दरगाहामा निक्कै ठूला आकारका जहाजहरु पनि अडाउन मिल्छ । 

यस्ता बन्दरगाहाको अभावमा ठूला जहाजहरूमा लोड गर्नको लागि कि उसलाई आफ्नो देशको पश्चिममा जानुपर्छ । त्यो भनेको उसको दोस्रो ठूलो सहर सन्ट पिर्टसवर्ग हो । कि यता एशिया पट्टी सुदुर पूर्वमा ल्याउनुपर्छ  ।

उसको अधिकांश तेल र प्राकृतिक ग्यासको उत्खनन् पश्चिम साइबेरियामा हुने भएकाले पश्चिम साइबेरियाबाट रेलमा हालेर पूर्वी प्रशान्त महासागरमा ल्याएर ‘डिसप्याच गर्दाखेर महँगो पर्छ ।  उसले सोभियत सङ्घको पालादेखि नै के गरेको छ भने क्यास्पियन सागरको पूर्वपट्टि कजाकस्तान र उज्वेकिस्तानबाटै पाएपलाइन सुरु गराएर पश्चिम साइबेरिया हुँदै त्यो पाइपलाइन फ्रान्सदेखि पूर्वका सम्पूर्ण युरोपेली राष्ट्रहरू र युकेनसम्म उसले तेल र प्राकृतिक ग्यास पाइपलाइन मार्फत आपूर्ति गर्छ । युरोप जाने रुसी पाइपलाइनबाट रुस र पहिलेका सोभियत सङ्घमा रहेका अन्य साना राष्ट्रहरूले आफ्ना तेल आपुर्ति गर्छन् ।

त्यो क्रममा उसले पाइपलाइनबाटै सेन्ट पिटर्सवर्ग, लात्भिया, इस्टोनियामा लगेर पनि कच्चा तेल बोक्ने ठूला जहाजहरूः भीएलसीसी (भेरी लार्ज क्रुड कन्टेनर) र यूएलसीसी (अल्ट्रा लार्ज क्रुड कन्टेनर)मा फिलिङ्ग गर्छ ।

ती जहाजहरु यति ठूला हुन्छन् कि तीन सय रेलमा अट्ने बराबर त्यो एउटा पानि जहाजले बोक्छ । ती जहाजको क्षमतालाई डेड वेट टनेजमा नापिन्छ । उनीहरू ५ लाख ५० हजार डेड वेट टनेज बराबर हुन्छन् । त्यसलाई डिप सी पोर्टहरूमा मात्रै रोक्न र लोड गर्न सकिन्छ ।

उसको त्यस्ता पोर्टहरू क्यास्पिएन सी र ब्लाक सीहरूमा पनि छ । क्यास्पियन सीबाट उसले नदीबाटै जहाजहरू ब्लाक सीमा ल्याउँछ । त्यहाँबाट भूमध्य सागरमा ल्याएर अरु तिरु लैजान्छ । त्यसरी लिएर जादाँ सानो जहाजले मात्रै लगेर त साध्य लाग्दैन । ठूलो जहाजमा लोड गर्नका लागि उसले तीनवटा विन्दुहरू बनाएको छ । 

तीनमध्ये एउटा पोइन्ट अहिले क्रोएसियामा पर्छ ।  क्रोएसियामा लगेर उसले ठूला जहाजमा लोड गर्छ । अर्को पोइन्ट टर्की र सिरियाको सीमा क्षेत्रमा पर्छ ।  अर्को भनेको लात्भिया, इस्टोनिया र सेन्ट पिर्टसवर्गमा पर्छ । जहाँबाट लोड गरे पनि बजारमा तेल ल्याउनका लागि उसलाई के  छ भने हामी प्रत्येक रुटलाई ख्याल गरौँ । 

सबैभन्दा पहिले उत्तर तर्फको रुटमा हेरौँ, सेन्ट पिटर्सवाला । त्यहाँबाट लोड गरेको जहाँज डेनमार्कको स्ट्रेटबाट पास हुनुपर्छ । त्यो फेरि डेनमार्कको सार्वभौमिकताभित्र पर्छ । डेनमार्कको टेरिटोरियल सी भएको हुनाले उसले जहिले चाह्यो तहिले ‘चोकिङ’ गर्न सक्छ ।

त्यहाँ डेनमार्कलाई चित्त बुझाएर अघि बढायो भने पुनः इङ्लिस च्यानलमा आइपुग्छ । इङ्गलिस च्यानल भनेको फ्रान्स र संयुक्त अधिराज्यबीचको सानो समून्द्री गल्छेंडो हो ।  त्यहाँबाट पनि संयुक्त अधिराज्य र फ्रान्सलाई चित्त बुझाएर अघि बढ्यो मानौं ।  त्यसपछि स्पेन र मोरक्कोबीचमा रहेको जिब्राल्टर भन्ने ठाउँमा आइपुग्छ । 



जिब्राल्टर संयुक्त अधिराज्यको नियन्त्रणमा छ । वारि जिब्राल्टरमा मात्रै होइन पारिपट्टि मोरक्को साइडमा पनि संयुक्त अधिराज्यकै नियन्त्रण छ ।  दुवैतिरबाट आफ्नो टेरिटोरियल सी पारेर त्यसलाई चोकिङ पोइन्ट बनाएको छ । उत्तरबाट ल्याउने त्यो समस्या भयो ।

अब क्रोएसियामा उसले इन्धनलाई लोड गर्दाको अवस्था हेरौँ । त्यो स्थान इटालीको ठ्याक्कै पारिपट्टि पर्छ । त्यहाँ लोड गर्दा पनि भूमध्य सागरमै पुग्नैपर्यो । अनि तेस्रो विन्दु टर्की नजिकको पोर्टमा लोड गर्दा पनि भूमध्य सागरमै आइपुग्नु प¥यो । जहाँबाट पनि रुसले तेल बेच्नको लागि ठूला जहाजलाई फ्युलिङ गर्दा भूमध्य सागरमा पुग्नै पर्छ ।  पूर्वपट्टीबाट भूमध्य सागरमा आउदाँ पनि रुसलाई गा¥हो छ । रुसले तेल ब्राजिलतिर पठाउनु प¥यो भने पनि जिब्राल्टरबाट जहाज निकाल्नुपर्यो ।

भारत र चीनमा पठाउनु प¥यो भने स्वेज नहरबाट निकाल्नु प¥यो । फेरि स्वेज नहरको समस्या के छ भने त्यहाँबाट भीएलसीसी र यूएलसीसी पास हुँदैन । त्यो नहर भएको हुनाले दुई लाख डेड वेट टनेलभन्दा ठूलो जहाजहरू पास हुँदैन । त्यहाँ इजिप्टले के गरेको छ भने उत्ता पट्टिको ठूलो जहाजबाट सीधै पाइप राखेर लाल सागरमा ठूलो जहाजमा तेल भर्छ । ठूलो पाइपलाइन छ तेल पम्पिङ्गको लागि । 

अब इजिप्ट कसको नियन्त्रणमा छ अथवा अलि नरम शब्दमा भन्दा कसको पक्षमा छ त ? –अमेरिकाको । यसको मतलब स्वेज नहरमा पनि अमेरिकाको नियन्त्रण भयो । यसरी रुसको सबैभन्दा ठूलो व्यापार तेलमाथि नियन्त्रण गर्नका लागि उसलाई ‘चोकिङ’ गर्ने विन्दुहरूमा पश्चिमी राष्ट्रहरु प्रभाव जमाएर बस्या छ ।

त्यसलाई तोड्न अब के गर्ने भन्दा रुसले पनि त्यी स्थानहरुमा आफ्ना राष्ट्रधरहरू बनायो । अहिले भर्खरै उसले टर्की आफ्नो पक्षमा लियो । टर्कीले अहिले आएर रसियाको पक्षमा अहिले धेरै काम गरिरहेको छ । 
उसले आफ्नो पक्षको राष्ट्रमा पहिलेदेखि लिबिया बनाएको थियो ।

अनि अल्जेरियामा पनि त्यहाँको मुस्लिमहरूलाई जिताउनका लागि निर्वाचनमा आफ्नो पैसा खर्च गरेर आफू समर्थक सरकार बनाएको थियो ।  सबै असदको विरुद्धमा हुँदा उसैले सहयोग गरेर टिकाएको देख्नु भएकै होला । त्यहाँ लडाइँ लड्नुपर्यो भने साउदी अरब र इजिप्टको विरुद्धमा आफ्नो मान्छे त चाहियो नि त । तर अब रुसको त्यस क्षेत्रमा को–को भए भन्दाखेरी टर्की र सिरियामात्र । यी दुई बाहेक अरू छैन ।


लिबियामा पनि शासन बदलिदिए । अल्जेरियामा पनि चुनाव जितेको सरकारलाई सेनालाई ‘कू’ गर्न उकासेर हटायो । अल्जेरियामा १५ या १६ वर्ष अमेरिका समर्थित सैन्य शासन रहेर पुनः अहिले जननिर्वाचित शासन आएको छ । 

सिरियाको गृहयुद्धमा यही रुट नियन्त्रित गर्ने  भूराजनीतिले मुख्य भूमिका खेलेको छ । जसरी पनि असदलाई सत्ताबाट हटाएर छाड्ने साउदी अरब (र साउदीलाई पूर्ण समर्थन गरिरहेका अमेरिकी नेतृत्वको पश्चिमा शक्ति ) र जसरी पनि असदलाई राखेरै छाड्ने रुसीहरूको हडले त्यो युद्ध यति लामो र विध्वसंक भयो ।


किनभने त्यो क्षेत्रमा असदले पनि घुँडा टेक्यो भने त रुसीहरूमाथि पश्चिमा मित्र राष्ट्रहरूको चोकिङ भयो भने रसियाको पक्षमा लड्ने एउटै राष्ट्र छैन । तपाईंले भूमध्य सागरको सीमावर्ती क्षेत्र हेर्नुभयो भने त्यहाँका प्रमुख सैन्य शक्तिहरू इटाली, ग्रिस, इजिप्ट जम्मै अमेरिका पक्षधर र रुसका विरोधी राष्ट्रहरू छन् हेर्नुस् त । 

(नोट:  यो भूराजनीति र विश्व राजनीतिको शृङ्खलाबद्ध विश्लेषणको कार्यक्रम हो । हामीले यो कार्यक्रम अलि अनौठो किसिमले संयोजन गरेका गर्न पुग्यौ । खासमा पुस्तक लेखनका लागि यो क्रार्यक्रम संयोजन गरिएको हो । तर पुस्तक आउनुअघि शृङ्खलाबद्ध रूपमा भिडियो र त्यसको ‘टेक्स्ट’ मिडियाहरूमा पनि आयोस् भन्ने पनि उदेश्य रहेको छ । यो कार्यक्रम भूराजनीति र विश्व राजनीतिको अहिलेको अवस्था अनि त्यससँग जोडिएको इतिहास, भविष्यबारे एउटा विश्लेषण आयोस् भनेर आयोजना गरिएको हो । –लेखक)  प्रस्तुति–श्रवण उप्रेती

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...