शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिर्सनै नहुने कृष्णप्रसाद : सातसाल पूर्वका निर्वाचित जनप्रतिनिधि

शनिबार, २६ साउन २०७५, ११ : ०५
शनिबार, २६ साउन २०७५

‘०६ साल मोहनशमशेर पालाँ पञ्चायती खडा हुन लागेकाले उम्मेदवार भई खडा भएँ । जनताले छानी श्री पशुपति पञ्चायतको प्रधानपञ्च भएँ । 

पार्लियामेन्ट खडा हुने भई पञ्चायत, पञ्चायतका प्रधानपञ्चको चुनाउबाट चार भञ्ज्याङभित्र खडा भएका ३५ पञ्चायतका प्रधानपञ्च जम्मा गराई वैधान समिति खडा भएको (हो), श्री सुवर्णशमशेरको दरबार, भाटभटेनीमा जम्मा गराइयो र तिमीहरूमा एक जना पार्लियामेन्टको मेम्बर गरी पठाउनुपरेकाले को, को उमेदवार हुन्छौ ? भनी पहिले सोधे । 

म एक जना र भक्तपुर कटुन्जे पञ्चायतका प्रधानपञ्च टेकबहादुर १, चापागाउँ पञ्चायतका प्रधानपञ्च सुब्बा सिद्धलाल समेत ३ जना उमेदवार भयाैं । दर्खास्त लिए । अरू ३२ जनालाई ‘तिमीहरू यी उमेदवारमा कसलाई चुन्दछौ, जसलाई चुन्ने हो, सो मानिस देखाई हात उठाउनू’ भने र निज टेकबहादुरले दर्खास्त वापस मागी हटे अरू हामी दुई जनाको मात्र चुनाउ हुँदा २३ जनाले मतर्फ हात उठाए । भोटले मेरो जीत भयो ।

सो वैधानिक समितिका अध्यक्ष एकराजशमशेरका छोरा सुवर्णशमशेर, सर्दार राममणि, सेक्रेटरी कुलराज, सुब्बा रामेश्वर भक्तसमेत कर्मचारीले कुरा गर्दै भित्र पसे । हामी सबै पेटी, भुइँमै रहे, बसेका थियौँ ।

आए र निज सर्दार राममणि, कुलराजले भने– श्री अध्यक्षज्यूबाट राम्रो नजर नभएकाले तपाइँहरू भोलि ठीक १० बजे सामेल हुन आउनुहोला ! भोटले जितेपछि प्रमाणपत्र दिई सदर गराउनुपर्नेमा किन यस्तो भयो ? भनी प्राइभेट तवरबाट बुझ्दा नेपाली काङ्गे्रसतर्फको मानिस होला, यस्तालाई पार्लियामेन्टमा पठाउनु हुँदैन भनी रोकेका रहेछन् । 

सुब्बा गोविन्दप्रसादले बोलाउनुहुँदा गएँ । उक्त चुनाउको कुरा गर्नुभयो र ‘यी मानिस काङ्गे्रस तर्फका होइनन्, हाम्रा मानिस हुन् भन्ने खबर दिनेछु’ भन्नुभयो । 

मसमेत फेरि भोलिपल्ट सो वैधानिक समिति, अफिस भाटभटेनीमा सामेल भयौँ । निज सुवर्णशमशेर रोहबरमा आउनुभयो । ‘हिजोको चुनाउ ठीक नभएकोले आज फेरि तपाइँहरूले को, कसलाई रोज्नुहुन्छ ?’ भनी सुनाए तर ‘हिजै हामीले रोजिसकेकै मानिस ठीक छन्’ भनी हात उठाई मलाई नै देखाए । म विजयी भएँ ।

धर्म भकाई कागज गराए र सिंहदरबार ग्यालरी वैठकमा पार्लियामेन्ट खडा हुने, उद्घाटन हुने दिन तोकी उर्दी दिए । सामेल गराए । ०६ साल आश्विन ६ गतेका दिन उद्घाटन हुने भयो । अरू जिल्लाबाट आएका प्रधानपञ्च, हामी सबै जम्मा भयौँ । सो उद्घाटनमा फूलमाला लगाउन दिनेमा सबभन्दा जेठो मलाई नै भने । पार्लियामेन्टको अध्यक्ष केसरशमशेर भए । श्री ३ मोहनको सवारी भयो र उद्घाटन शुरू भयो । निजलाई फूलमाला सबै भई लगाइदियौँ । रू. १० फी लिई फर्कियाैं । 

फेरि बैठक बस्यो । कामको विभाजन गर्दा न्याय समितिमा मसमेत परेँ । फेरि दोस्रो पटकको बैठकमा प्रस्ताव राखियो । तेस्रो पटकमा छलफल भयो । निर्णय हुन बाँकी छँदै ‘भोलि बिहान ६ बजे सिंहदरबारमा हाजिर हुन आउनू’ भन्ने पुर्जी राति आयो । बिहान भवनाथले मोटरसाइकलमा राखी सिंहदरबार लानुभयो, पुग्यौँ । हामी लोकनाथ, सिद्धिमणि, निज भवनाथहरू समेत जम्मा भएका मानिसहरूले के कामका लागि बोलाइएको हो भनी तर्क गर्दै थियौँ । ‘सामेल हुनेहरू भित्रीचोक आउनू’ भन्ने भई गयौँ । 

जङ्गी, निजामतीका हाकिम, अफिसरहरू र पार्लियामेन्ट मेम्बरहरू भए । दक्खिनतर्फको दरबारझ्यालबाट श्री ३ मोहनले दर्शन दिए, सलामी बज्यो र निजले सुनाए – ‘श्री ५ त्रिभुवन ००७ साल, कात्तिक २१  गते राजदूतावासमा सवारी भएको, लिन पठाउँदा पनि नआएकाले राज्यै छोडी जानुहुँदा राजगद्दी खाली राख्न नहुने हुनाले उहाँको सट्टा ज्ञानेन्द्रवीरविक्रमलाई राजगद्दीमा राख्ने विचार गरेकोले तिमी सबैलाई बोलाएको हो ।’ सबैले शिर चढाए । 

मैले ‘निज त्रिभुवन छँदै उहाँको बदलामा नसोधी, नबुझी राख्न होवैन होला’ भन्दा ‘लिन पठाउँदा दर्शनसमेत नदिई जे जसो गर्नुपर्ने हो गर ! भनी पठाएकोले आफ्नो राजगद्दी छोडी दूतावास भागी जानुभएकोले अब निजको ठाउँमा ज्ञानेन्द्रवीरविक्रमलाई राख्नेहुँदा तिमी सबै हनुमानढोकामा जानू, म पनि आउँछु’ भनी बिदा दिए । 

एउटा कागज लिई माणिकराज र सर्दार राममणिहरूले सबैको सहीछाप गराउँदै आए । मकहाँ आएपछि ‘मैले उक्त बिन्ती चढाएको हुँ’ भनी लेखिदिएँ । सो कौनै कुराको विचार भएन र उल्टै काङ्गे्रसको मानिस रहेछ भनी अरू साथीमेम्बरहरूले समेत परस्पर भिन्न, अमेल गरे । 

दक्खिनतर्फको दरबारझ्यालबाट श्री ३ मोहनले दर्शन दिए, सलामी बज्यो र निजले सुनाए – ‘श्री ५ त्रिभुवन ००७ साल, कात्तिक २१  गते राजदूतावासमा सवारी भएको, लिन पठाउँदा पनि नआएकाले राज्यै छोडी जानुहुँदा राजगद्दी खाली राख्न नहुने हुनाले उहाँको सट्टा ज्ञानेन्द्रवीरविक्रमलाई राजगद्दीमा राख्ने विचार गरेकोले तिमी सबैलाई बोलाएको हो ।’ सबैले शिर चढाए । 

सबै हनुमानढोकामा उर्दी बमोजिम गए । म चाहिँ गइनँ र प्रदोषव्रतादि हुँदा सुन्धारामा स्नान गरी सुब्बा हिरण्यलाललाई भेटी कुरा गरेँ । निजले ‘मुनासिबै भन्नुभएको रहेछ’ भने । दिउँसो घर फर्की आएँ । 
निज ज्ञानेन्द्रवीरविक्रमलाई गद्दी चढाई श्री ५ महाराजाधिराजको सलामी तोपसमेत दिए । मोहररुपैञा छपाई वितरणसमेत भयो, सबैले लिए, म त्यसै घर फर्की आएँ । 

फेरि मिटिङ हुने उर्दी आयो । सिंहदरबारमा हाजिर भयौँ । श्री ३ मोहनले भेला भएका सबैलाई सम्झाई श्री ५ त्रिभुवनले आफ्नो राजदरबार गद्दी छाडी भागी दूतावास गएकामा सारै नालायकी देखाई भाषण गरे । काङ्गे्रसले पच्छे लिई आन्दोलन गर्न लागे के गर्ने भन्छौ ? भनी सोधेको जस्तो बोलियो । 

त्यसमा सबै चुप भई बसे । सरकारको जो तजबिज भने । मलाई शारदाशमशेरले बोलाई ‘तिमी के छौ ?’ भनी सोधे । मैले ‘निजै काङ्ग्रेसका मानिसलाई सम्झाइदिए शान्ति होला कि ?’ भनेँ तर (उनलाई) मन परेन । सुनुवाइ क्यै गरेनन् । 

नेपाल सहरमा सानातिना दङ्गा हुनलाग्यो । भारतमा रेडियो लगायतबाट राणाविरूद्ध हालखबर निस्कन लाग्यो । यहीबीच त्रिभुवन दिल्ली जाने भई भाइटीकाको दिन जानुभयो र वाहीँ बस्नुहुँदा भारतले ठूलो पच्छे लियो । ‘छिमेकीको कुरा हुँदा म मिलाउँछु, अरू मुलुकले बोल्न, कुनै काम कुरा गर्नुहुँदैन’ भनी नेहरूले बोले । 

‘दिल्लीमा राणा र काङ्ग्रेस दुवैथरी भई अहिले मन्त्रीमण्डल खडा गर्नू र पछि चुनाउ गर्नू’ भन्नेसमेत राय गरिदिएछन् र दिल्लीमा एक किसिमको रायद्वारा मिलापत्र हुने पक्का भई निज त्रिभुवन, काङ्ग्रेसका मानिस समेतलाई काठमाडौँ पठाउँदा मोहनशमशेरको अध्यक्षता गरी पठाए । 

००७ साल फागुन ७ गते सबै आइपुग्दा धूमधामसँग (स्वागत) भयो । राणा र काङ्गे्रस दुवैथरीको बराबर मानिस मन्त्री राखी प्रधानमन्त्रीमा निजै मोहनशमशेर भई दामकाम गरेर आए । पछि हर एक कुरामा रायसल्लाह नमिल्ने भएबाट र वादविवाद अपहेलासमेत सहन नसकी पहिले बबरशमशेरले र पछि मोहनशमशेर समेतले राजीनामा दिए । अनि प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भए ।

तत्कालीन व्यवस्थापिका सभासम्बन्धमा २००७ साल असोज ४ गते बुधवार गोरखापत्रमा प्रकाशित ‘व्यवस्थापिका सभाको शुरु’ शीर्षकमुनि वैधानिक समितिको सूचना छ, यसमा ‘यही आश्विन ६ गते शुक्रवारका दिन श्री ३ महाराजबाट व्यवस्थापिका सभा सिंहदरवारभित्र ग्यालरी बैठक शुरु गरिबक्सने भयो । यस विषयमा आश्विन २ गते भारदारहरूको भारदारी पनि गराइबक्स्यो । इलाका इलाकाबाट निर्वाचित सदस्यहरू पनि धमाधम आउँदैछन्’’ उल्लेख छ । 

कृष्णप्रसाद अाचार्यले आफ्नो उपर्युक्त संस्मरणमा सर्दार राममणिको चर्चा गरेका छन् । यसबारे राममणि आ.दी.को संस्मरण पनि स्मरणीय बनेको छ । उनले आफ्नो ‘पुराना सम्झना’ कृतिको पृष्ठ १६१–१६२ मा लेखेका छन्– ‘यसरी मैले २००७ साल अघिसम्म श्री ५ बाट निगाह पाएको हो तर पछि वहाँमा पनी मप्रति केही परिवर्तन भएको पाएँ । दूतावास सवारी भएपछी, श्री ३ मोहनशंशेरको हुकुमले श्री ५ ज्ञानेन्द्रको राज्यारोहण गराउने काममा जंवा भएका भारदारहरूको सही गराउने अप्ठ्यारो र छुच्चो काम मैले, लीनू परेको थियो । श्री ३ ले दीएको हुकूमलाई टालने मेरो सामथ्र्य थिएन । नामको लीष्ट मेरो हातमा आयो, तेही लीएर सवैलाई सही गराउँदै हींडें । सही गराउँदा कसै कसैले सवाल जवाफ गरन लागेका थिए । मैले जवाफ दीन शकने कुरा थिएन । सोधनेले पनी बुझ पचाई सवाल गरेका मात्र थिए । ती जसता, म पनी तेसतै । हुकूम अनुसारको काम गरने मात्र मेरो अधिकार थियो । कुरै पनी मलाई के थाहा थियो र ? कुरा र सवाल सुनेर दिकदार भएँ । रीस पनी उठ्यो र ‘सही गरने भए गरनू होस होइन भने गरदीन भननू होस म अरू थोक जानदीन’ भनेर कडकनू परेको थियो । त्यहाँ हजार किसिमका मानीस थिए । ‘डर के आगे, भूत भागे’ भने झैं कसको सामथ्र्य त्यहाँ सही गरदीन भने ?

माथिका अंशले कृष्णप्रसादका संस्मरणको औचित्य पुष्टि गरेकोे छ । कृष्णप्रसादका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्दा उनको एउटा पर्चा पनि लेखकको हात परेको छ । उनको पर्चा समेत अहिले सान्दर्भिक पक्ष बनेको छ । पर्चाको पुछारमा संसद सदस्य (न्याय समिति) श्रीपशुपति पञ्चायत प्रधानपञ्च कृष्णप्रसाद आचार्य चाबहिलबजार ०७ माघ शुक्ल पूर्णिमा उल्लेख छ । कुल ८ पृष्ठको पर्चा (पुस्तिका)मध्ये अघिल्ला दुई पृष्ठ प्राप्त छैन । प्राप्त ३ देखि ८ पृष्ठसम्मका पर्चामा उनले बदलिंदो परिपे्रक्ष्यमा विधायिका, कार्यपालिका र न्यायपालिकाले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारेका छन् । उनले तत्कालीन बेथिति मेट्न आग्रह गर्नुका साथै विकास, निर्माणका सम्बन्धमा बहुआयामिक प्रकाश पारेका छन् । गणेशमान सिंह, टङ्कप्रसाद आचार्य समेत राजकैदी थुनुवालाई छाडिदिनुपर्ने माग उनले गर्दै आएको बेहोरा समेत उनको पर्चामा पाइन्छ ।

उनलाई आफू पार्लियामेन्टको निर्वाचित सदस्य भएकामा निकै गौरव थियो । यसको पुष्टि उनका संस्मरण तथा पर्चामा यत्रतत्र पाउन सकिन्छ । तत्कालीन श्री ५ त्रिभुवनको राजगद्दीमा श्री ५ ज्ञानेन्द्रलाई राख्ने सन्दर्भमा कृष्णप्रसादले उतिखेरै आफ्नो पर्चामा यसो उल्लेख गरेको पाइन्छ –‘ श्री ५ त्रिभुवनको राजगद्दीमा श्रीज्ञानेन्द्रलाई राखने भनी भैभारादार संसद् बोलाई तिमिहरू के भन्दछौ भनी श्रीप्राईमिनिष्टरबाट सोधिएकोमा विना सूचना टायेमनदी गर्नु हुँदैन भन्ने मेरो जवाफलाई के कती कारणबाट म्याद टायेम तोकी सूचना दिनुपर्ने हो भनी सोधिएको भए त्यस्को पुरा छलफलभै यौटा राम्रो राय अर्थात् यती कारणबाट श्रीज्ञानेन्द्रलाई राखन नहुने भन्ने ठेगान लागने थियो । सो बमोजिम केही नगरी पु.क.ज. र नायेब बडागुरुज्यू हपकाउने क. चन्द्रजङ यसले कुरै बुझेको छैन भन्ने गरी सुनुवाई गरेनन् सहिछाप गराउन आएका सर्दार राममणीले दिएको खाली कागजमा सो हुकुम भएको र गरेको जवाफ ठीकछ भन्ने मैले लेखि गरेको मेरो सहीछापलाई देखि निज र र्दार हपकाउने सर्दारमान बाहादुर एम.ए.ले सो कागजली यो बेहोरा लेख्नु पर्दैन भनी च्यातीदिने मि.सु. भरतमणीले अर्को कागज ल्याई सहीछाप गराउने गरेबाट वास्तव ठीक बेठीक काम पुरै हुन नपाई परिणाम यस्तो भयङ्कर रुप धारण भयो सो कुरा सबैमा विदीतैछ ।’
अपुरै भए पनि प्राप्त यो पर्चाले तत्कालीन परिवेश नियाल्न निकै मद्दत पु¥याउनेमा शंका छैन । 

२००७ साल असोज २० गते शुक्रवार गोरखापत्रको प्रथमपृष्ठमा ‘शासन समितिको बैठक’ शीर्षकीय समाचार प्रकाशित छ । यसमा ‘यही २००७ साल आश्विन १९ गते ग्यालरी बैठक सिंहदरवारमा शासन समितिहरूको बैठक ४ बजेदेखि ६।। बजेसम्म बस्यो । राष्ट्रसभाको सभापति श्री प.क.ज. साहेबले बैठक उठ्ने बखतमा सवारी भई निरीक्षण गरिबक्स्यो । विधानको १४ (ख) दफा बमोजिम आश्विन १८ गते शासन समितिका सदस्यहरू छान्नलाई राष्ट्रसभाका निर्वाचित ३ र नियुक्त ३ सदस्यहरूको एक समितिको बैठक पनि भएको’ जनाइँदै स्वास्थ्य शासन समिति, शिक्षा शासन समिति लगायत विभिन्न समितिको नाम उल्लेख गरिएको छ ।

उक्त समाचार अनुसार कृष्णप्रसाद न्याय शासन समितिका सदस्य थिए । सातसाल यता पनि उनले विभिन्न तह र तप्काबाट न्यायिक तथा प्रजातान्त्रिक मूल्य, मान्यता र पद्धतिका लागि काम गरेको उल्लेख पाइन्छ । ‘कृष्णप्रसाद आचार्य गण्यमान्य व्यक्तिमध्येकै थिए भन्ने कुरा २००८ सालमा गठित ३५ सदस्यीय सल्लाहकार समितिमा उनी मनोनीत भएबाट पनि प्रष्ट हुन्छ’ शरद्चन्द्र शर्मा भट्टराईले आफ्नो पुस्तक ‘ओझेलमा परेकाहरू’ (साझा प्रकाशन, २०५६, पृष्ठ १६३–१६९) मा उल्लेख गरेका छन् । टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रित्वकालमा उनी सल्लाहकार रहेको कथन समेत पाइन्छ तर यी दुवै कुरालाई पुष्टि गर्ने आधार भने अप्राप्त छ ।
(पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको नयाँ कृति ‘बिर्सनै नहुने कृष्णप्रसाद’ को एक रोचक, ऐतिहासिक अंश ।)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप