शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाहरुको रिसमाथि काबु पाउन यति सजिलो

सोमबार, २८ साउन २०७५, १२ : ५३
सोमबार, २८ साउन २०७५

नबीन नेगी/ बीबीसी

केही दिन अघि पत्रिका पढिरहेका बेला एउटा खबरले ध्यान आकृष्ट गर्यो । यसमा दिल्लीको कृष्णा नगर इलाकाको एक सरकारी स्कूलमा एक छात्रले अर्का छात्रमाथि चक्कुले हमला गरेको खबर प्रकाशित थियो ।

खबरका अनुसार दुबै छात्रबीच बिहानको प्रार्थनापछि झगडा भएको थियो । झगडा यति बढ्यो कि एकले अर्कोमाथि चक्कुले नै हमला गरे ।

स्कूलका विद्यार्थीबीच भएको आपसी झगडा यो पहिलो घटना भने होइन । यसअघि पनि स्कूलमा छात्रमाथि झैझगडाको आरोप लागिरहन्छन् ।

याद गर्नुपर्ने कुरा के छ भने हिंसाको यस्तो घटनामा किशोरहरु समावेश छन् । बच्चाहरुमा यस्तो प्रवत्तिले चिन्ताको स्थिती पैदा गरिरहेको छ ।

किशोरमा बढिरहेको रिसः

संयुक्त राष्ट्रको संस्था युनिसेफको एक रिपोर्ट अनुसार संसारभरीका कूल एक सय २० करोड किशोर छन् जसको उमेर १० देखि १९ वर्षबीच छ । संसारभरीका धेरैजसो किशोर विकासशील देशमा बस्छन् ।

बच्चाहरुमा रिसको प्रवृत्ति उनको उमेर अनुसार परिवर्तन हुने गर्छ । सन्  २०१४ मा इन्डियन जर्नल साइकोलोजिकल मेडिसिनमा प्रकाशित एक अनुसन्धान अनुसार किशोरीभन्दा किशोर धेरै रिसाउने गर्छन् ।

यो अनुसन्धानमा संलग्न जुन समूहको उमेर १६ देखि १९ वर्ष बीच थियो उनीहरुमा धेरै रिस देखियो जबकी २० देखि २६ उमेर समूहमा थोरै कम रिस भेटियो । यसले युवावस्थाभन्दा किशोरावस्थामा धेरै रिस उठ्ने स्पष्ट हुन्छ ।

यसै गरी किशोरीको तुलनामा किशोरलाई धेरै रिस उठ्छ । यद्यपी, यसै अनुसन्धान अनुसार १२ देखि १७ आयुवर्गका किशोरीमध्ये करिब १९ प्रतिशत स्कूलमा कुनै न कुनै प्रकारको झगडामा समावेश हुन्छन् ।

यो अनुसन्धान भारतका ६ प्रमुख स्थानका कूल पाँच हजार चार सय ६७ किशोर र युवामा गरिएको थियो । यस्तोमा प्रश्न यो उठ्छ कि आखिर बच्चाहरुको यस्तो हिंस्रक प्रवृत्तिको कारण के हो ?

मोबाइल गेमको असरः

मनोवैज्ञानिक र म्याक्स अस्पतालमा बच्चाका डाक्टर दिपाली बत्रा बच्चा हिंस्रक हुनुका विभिन्न कारण बताउँछिन् । उनका अनुसार सबैभन्दा ठूलो कारण यो पत्ता लगाउनु हो कि बच्चामाथि उनीहरुको परिवारले कति नजर राखिरहेका हुन्छन् ।

डाक्टर बत्रा भन्छिन्, ‘ठूला शहरमा आमा–बुवा बच्चामाथि पूर्ण निगरानी राख्न पाउँदैनन् । बच्चालाई व्यस्त राख्नका लागि उनीहरुलाई मोबाइल फोन दिइन्छ । मोबाइलमा बच्चा हिंस्रक प्रवृत्तिका गेम खेल्छन् ।’

कुनै भिडियो गेमले बच्चाको मस्तिष्कमा कस्तो असर पुर्याउन सक्छ भन्ने प्रश्नको जवाफमा डा. बत्रा भन्छिन्, ‘मलाई जतिपनि हिंस्रक स्वभाव भएका बच्चा भेट्न आउँछन् उनीहरु दिनमा तीनदेखि चारघण्टा भिडियो गेम खेल्ने गर्छन् । यस्तो खेलमा जित हाँसिल गर्नका लागि अर्कोलाई मार्नुपर्ने हुन्छ । सबैजना आफू जित्नै चाहने भएकाले भिडियो गेमले बच्चाको स्वभावमा परिवर्तन ल्याइदिन्छ ।’

सन् २०१० मा अमेरिकाको सर्वोच्च अदालले बच्चालाई हिंस्रक प्रवृत्ति जस्ता हत्या वा यौन हिंसालाई बढाउने खालको भिडियो गेम खेल्न नदिने निर्णय गरेको थियो ।

यो निर्णयको पाँच वर्ष अघि क्यालिफोर्नियाका गर्भनरले आफ्नो राज्यमा भोएलेन्ट भिडियो गेम कानून बनाएका थिए जसअनुसार १८ वर्षभन्दा कम उमेरका बच्चाहरुलाई हिंस्रक भिडियो गेमबाट टाढा राख्ने कुरा थियो ।

यसका साथै, अमेरिकन साइकोलोजीको तर्फबाट गरिएको अनुसन्धानमा पनि भिडियो गेमले मानिसको स्वभावलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा साबित गरिएको थियो ।

पोर्नसम्म पहुँचः

मोबाइलसम्म बच्चाको पहुँचका साथै इन्टरनेट पनि सहज उपलब्ध हुने गर्छ र त्यसपछि सुरु हुन्छ युट्युबदेखि पोर्न भिडियोको दुनियाँ ।

देहरादूनमा बस्ने पुनम असवालका छोरा आयुष पाँच वर्षका छन् तर उनले इन्टरनेटमा आफूलाई मनपर्ने भिडियो निकै सजिलै खोज्ने गर्छन् । पुनमका अनुसार उनको छोराले उनीबाटै मोबाइल चलाउन सिकेका हुन् ।

पुनम आफ्नो बच्चाको यो बानीका कारण चिन्तामा छिन् । आफ्नो समस्याबारे कुरा गर्दै उनी भन्छिन्, ‘सुरुमा त आयुष मोबाइलमा व्यस्त छन् र चुप लागेर बसिरहेका छन् भने ठिक लाग्यो । तर अब यो तनावको कारण बनिरहेको छ । उनी हिंस्रक कार्टुन हेर्ने गर्छ । इन्टरनेटमा गाली गलौच र अश्लिल सामग्रीको लिंक पनि हुन्छ त्यसकारण त्यसमा क्लिक गरेर गलत सामग्री त हेरिरहेको छैन भनेर डर लाग्छ ।’

डाक्टर बत्रा पनि यसबारे बिस्तारपूर्वक बताउँछिन्, ‘इन्टरनेटको सहज पहुँचका कारण बच्चहरु निकै सजिलै पोर्न हेर्न सक्छन् र यसले एक लतको रुपमा काम गर्छ । यसमा देखिने हिंसाको बच्चाको मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ ।’

पोर्नको असर मापन गर्नका लागि सन् १९६१ मा मनोवैज्ञानिक एलबर्ट बंडुराले एक प्रयोग गरेका थिए । उनीहरुले बच्चाहरुलाई एउटा भिडियो देखाए जसमा एक व्यक्तिले खेलौनालाई कुटिरहेका थिए, त्यसपछि उनले बच्चालाई पनि एउटा–एउटा खेलौना दिए । खेलौना पाएपछि ती बच्चाहरुले पनि आफूसँग भएका खेलौनासँग त्यही गरे जुन भिडियोमा देखिएका व्यक्तिले गरिरहेका थिए ।

आमा–बुवाको आपसी सम्बन्धः

आजकाल आमाबुवा दुबै कामकाजी हुन्छन् त्यसकारण बच्चाको लागि समय निकाल्न निकै मुश्किल हुन्छ । यसका साथै विवाहेत्तर सम्बन्धका घटना पनि अत्यधिक सुन्नमा पाइन्छ ।

आमा–बुवाको आपसी सम्बन्ध कस्तो छ, त्यसले बच्चालाई प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ ।

डाक्टर बत्रा यसबारे भन्छिन्, ‘आफूलाई  सधैं शान्त र सभ्य रहन सम्झाउने आमा बुवा एक आपसमा झगडा गरिरहन्छन् भने बच्चा पनि रिस उठ्दा हिंस्रक व्यवहार गर्न थाल्छ । स्थिती आफूले भनेको जस्तै हुनुपर्ने बच्चाको मनस्थिती हुन्छ । जब कुनै कुरा उनीहरुको बुझाई विपरित हुन्छ भने उनीहरु भिन्न तरिकाले प्रतिक्रिया गर्ने गर्छन् र यसको नतिजा थुप्रै मौकामा हिंस्रक रुप लिने गर्दछ ।’

डाक्टर बत्राका अनुसार आमाबुवाको आपसी सम्बन्धका साथै उनीहरुले बच्चाप्रति कस्तो व्यवहार गर्छन् त्यसले पनि निकै फरक पार्ने गर्दछ ।

आफ्नो एक क्लाइन्टबारे डाक्टर बत्राले भनिन्, ‘मेरा एक क्लाइन्ट थिए जो आफ्नो बच्चालाई स–सानो गल्तीमा पनि नराम्रोसँग कुट्ने गर्थे । यसको नतिजा ती बच्चाले आफ्नो सबै रिस साथीमाथि खन्याउने गर्दथे । त्यसकारण उनी स्कूलमा अत्यधिक झगडा गर्थे ।’

बीबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार लामो समयसम्म आमा बुवाको सम्बन्ध खराब चलिरहेको छ भने यसले बच्चाको उमेर अनुसार असर पुर्याउँछ जस्तै नवजात शिशुको मुटुको धड्कन बढ्ने गर्छ । ६ महिनासम्मका बच्चाको हर्मोनमा तनाव महसुस गरिन्छ र अलि ठूलो भएपछि निन्द्रा नलाग्ने समस्याको सामना गर्नुपर्ने हुन्छ ।

 हर्मोनमा परिवर्तनः

मोबाइल फोन, इन्टरनेटको उपलब्धता र आमा बुवाको जागिर, यी सबै आधसनिक जीवनको उदाहरण हो तर बच्चामा हिंस्रक प्रवृत्ति सुरुवाती अवस्थामा देख्न पाइन्छ ।

जब मोबाइल वा इन्टरनेटको त्यति चलन थिएन, त्यति बेला पनि बच्चाहरु हिंस्रक व्यवहार देखाउँथे, यसको कारण के हो ?

डाक्टर बत्रा भन्छिन्, ‘किशोर अवस्थामा आइपुग्दा हर्मोनमा परिवर्तन हुने गर्छ, उनीहरुको मस्तिष्क र शरिरका अन्य अंग तीब्र रुपमा विकसित भइरहेको हुन्छ ।’

उनी भन्छिन्, ‘११ देखि १६ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । यो बेला निकै तीब्र रुपमा दिमाग विकसित भइरहेको हुन्छ । यो उमेरमा दिमागभित्र तार्किक पाटो विकसित भइरहेको हुन्छ तर भावनात्मक पाटो भने विकसित भइसकेको हुन्छ । त्यसकारण बच्चाहरु धेरैजसो निर्णय भावनामा बगेर लिने गर्दछन् ।

यसै कारण यो उमेरमा बच्चाको व्यवहारलाई वरिपरिको स्थितीले सबैभन्दा बढि असर पुर्याउने गर्छ त्यसकारण उनीहरु चिड्चिडे, रिसाहा र थुप्रै मौकामा हिंस्रक हुने गर्छन् ।

कसरी थाहा पाउने बच्चाहरुको परिवर्तित व्यवहारः

बच्चाको व्यवहारमा परिवर्तन आइरहेको छ, यसको पहिचान कसरी गर्ने । यसबारे डाक्टर बत्रा भन्छिन्, ‘यदि सानो उमेरमा बच्चा स्कूल जाँदा आनाकानी गर्न थाले, स्कूलबाट दैनिक भिन्न प्रकारको उजुरी आउन थाले, साथै अन्य बच्चालाई गाली गर्न थाले, कुनै एक कुरामा ध्यान लगाउन नसके, यी सबै लक्षण देख्नासाथ बुझ्नुहोस् कि बच्चाको व्यवहारमा परिवर्तन आउन थालेको छ र अब उनलाई ध्यान दिने समय आएको छ ।

यस्तो स्थितीमा बच्चालाई समय दिन निकै आवश्यक छ । उसलाई बाहिर घुमाउन लैजानुपर्छ । उनीहरुसँग विभिन्न खेल खेल्नुपर्छ, कुराकानी गर्नुपर्छ, बच्चाको कुरालाई धेरै नै बुझ्नुपर्छ । हरेक कुरामा उसको गल्ती देख्नुहुँदैन ।

बच्चाको व्यवहारका लागि ११ देखि १६ वर्षको उमेर निकै महत्वपूणै हुन्छ । यो समयमा नै उनको पूरा व्यक्तित्व विकास हुन्छ । त्यसकारण यो उमेरमा विशेष ध्यान दिन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप