शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि  गरिँदै, दिल्लीमा सुरक्षा सतर्कता बढाइयो

शुक्रबार, ०१ भदौ २०७५, १४ : ४८
शुक्रबार, ०१ भदौ २०७५

मोहिनी मिश्र रिसाल 
नयाँ दिल्ली– तीनपटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् । 

अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका  नेता वाजपेयीको बिहिबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ । 

उृनी भारतमा तीनपटक प्रधानमन्त्री बन्नु बनेका थिए । उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको बताएका छन् । उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताएका छन् । 

करिब ३६ घण्टादेखि उनको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको समाचारहरु आएका थिए । त्यसो त उनी लामो समयदेखि नै सो अस्पतालमा रहेका थिए । वाजपेयी भारतीय जनता पार्टी (बिजेपी) का संस्थापक नेता थिए । हाल भारतको राज्यसत्ता सोही पार्टीले चलाएको छ र सोही पार्टीका नेता नरेन्द्र मोदी यहाँको प्रधानमन्त्री रहेका छन् । प्रधानमन्त्री मोदीले उनलाई आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतका रुपमा लिने गर्छन् । 

मधुमेहका बिरामी ९३ बर्षीय वाजपेयी गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए। उनलाई मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । सो अस्पतालले बिहीबार उनको स्वास्थ्य अवस्था सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा उनको अवस्था ‘चिन्ताजनक’ भनेको थियो । त्यसको केही घन्टापछि उनको निधनको घोषणा भएको हो । 

बिहीबार साँझ वाजपेजीलाई दिल्लीस्थित निवासमा नै राखिएको थियो । उनको राजकीय सम्मानका साथ शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिने विजेपीका प्रमुख अमित शाहले बताएका छन् । 

वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म उनको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको छ । यसपछि उनको शवयात्रा निकालिने छ । यस यात्रामा लाखौँको सङ्ख्यामा जनसहभागिता रहने अनुमान गरिएको छ । 

वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभागितालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको छ । अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिने जानकारी दिइएको छ । 

पाकिस्तानका भावी प्रधानमन्त्री अर्थात तेहरिक इन्साफका नेता इमरान खानले पनि वाजपेयीको निधनति दुःख व्यक्त गरेका छन् । उनले पाकिस्तान र भारतको द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा वाजपेयीको योगदानलाई अविस्मरणीय रुपमा सम्झना गरिने उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् । 

त्यसैगरी भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले लाखौँ व्यक्तिले वाजपेयीलाई माया र सम्मान गर्ने बताएका छन् । उनले आफ्नो ट्वीटरमा भारतमाताले आज एक सपूत गुमाएको बताएका छन् ।  सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो ।

उनले कानपुरको डीएवी कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एमए उत्तीर्ण गरेका थिए । पछि उनले एलएलबीको पढाई शुरू गरेपनि छोडेर विद्यार्थी कालदेखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लागेका थिए। महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति ‘विजय पताका’ पढेर आफू उत्प्रेरित भएको बताउने बाजपेयीले डा.श्यामप्रसाद मुखर्जी र पं।दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए । 

भारतीय जनसङ्घका समेत रहेका संस्थापक वाजपेयीले सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गरेका थिए । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भएका थिए । 

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बनेका थिए  भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 

सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भएका थिए । उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए । 

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाएका थिए । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भएका थिए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाएका थिए । 

उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपेका थिए । 

वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो । त्यसपछि उनले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका थिए । 
 –एएनआइ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप