केन्द्रीय संस्करण

सम्झना ती सादगी र साहसी नेताको

person access_timeभदौ २७, २०७५ chat_bubble_outline0


गणतन्त्र नेपालका प्रणेता । प्रखर प्रजातन्त्र र माक्र्सवादी अर्थतन्त्रका परिकल्पनाकार । जमिनदार परिवारमा जन्मेर पनि सादगी जिन्दगी बिताउने गान्धीवादी नेता अनि राजनीतिक कार्यनीतिमा चेग्वेवाराका चेला । अर्थात् रामराजाप्रसाद सिंह ।  

आफ्नो आस्थाप्रति अटल र साहसका पर्याय तिनै नेताको सातौँ स्मृति दिवस हो आज । यो स्मृति लेखमा रामराजाजीको सारा सङ्घर्ष र योगदानको बखान हैन, उहाँसँगको सङ्गतका प्रसङ्ग मात्र उल्लेख गर्दैछु ।  

मलाई ४० वर्ष रामराजाजीको प्रत्यक्ष–परोक्ष राजनीतिक सानिध्यमा रहने सौभाग्य मिल्यो । आजभन्दा ४७ वर्षअगाडि हो, रामराजाजीको नाम मैले पहिलोपल्ट सुनेको र परोक्षरूपमा उहाँलाई सघाएको पनि ।     
हामी सबैलाई थाहा भएकै ऐतिहासिक तथ्य हो– राजा महेन्द्रले २०१७ साल पुस १ गते सैन्यबलमा जननिर्वाचित सरकार अपदस्थ गरे । संसदीय व्यवस्था खारेज गरेर निर्दलीय पन्चायती प्रणाली लागू गरे ।

पञ्चायती प्रणालीको व्यवस्थापिका राष्ट्रिय पञ्चायतका सदस्य अप्रत्यक्ष निर्वाचन पद्धतिबाट छानिन्थ्यो । २०२३ सालमा निर्दलीय पञ्चायती व्यवस्थालाई ‘निर्विकल्प’ घोषणा गरियो । अप्रत्यक्ष निर्वाचन पद्धतिको आलोचना टार्न संविधान संशोधन गरी चार जना स्नातक क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरियो ।

त्यसैअनुरूप २०२४ र २०२८ सालमा स्नातक क्षेत्रबाट  चार चार जना राष्ट्रिय पञ्चायत सदस्यमा निर्वार्चित भएका थिए ।   स्नातक क्षेत्रका उम्मेदवार मात्र हैन, मतदातासमेत स्नातक हुन्थे र निर्वाचन क्षेत्र देशव्यापी हुन्थ्यो । 

२०२८ साल जेठमा भएको राष्ट्रिय पञ्चायत सदस्यको स्नातक क्षेत्रबाट रामराजाजी पनि उम्मेदवार बन्नुभएको रहेछ । हो, त्यतिखेरै हो मैले रामराजाजीको नाम सुनेको । 

एक त पञ्चायती चुनाव, त्यसमाथि पनि स्नातक क्षेत्रको ! चुनावी चासो बौद्धिक क्षेत्र र स्नातक विद्यार्थीहरूमा त अलिअलि थियो होला । तर मजस्तो जनसामान्यका लागि त्यो चासोको विषय हुने कुरै थिएन । 
दोस्रो कुरा, त्यतिखेर अहिलेकोजस्तो उन्नत सञ्चार प्रविधि र सञ्चार माध्यमको विविधता र बिगबिगी पनि थिएन । मोबाइल फोन मात्र हैन, टेलिभिजनसमेत थिएन । एफएम रेडियो थिएनन् । थोरै प्रति मात्र छापिने ट्याब्लोइट आकारका ८, १० वटा दैनिक पत्रिका र केही साप्ताहिक पत्रिका थिए । जनता होस् कि नेता सबैका लागि सूचनाको माध्यम भन्नु त्यति नै थियो ।

त्यस्तो अवस्थामा, २०२८ सालमा रामराजाजी अन्धकारमा बिजुली चम्केजस्तै सर्वत्र छाउनु भयो । २०१७ साल पुस १ गतेको कदमको विरुद्धमा केन्द्रित उहाँको वजनदार पर्चा सर्वत्र चासो र चर्चाको विषय बन्यो  । मैले पनि पहिलोपल्ट रामराजाजीको नाम सुनेँ । 

त्यसबेला म मातृभूमि साप्ताहिकको प्रेस घण्टाघरमा  स्टाफ थिएँ । गोविन्द वियोगीको सम्पादनमा प्रकाशित मातृभूमि साप्ताहिकमा गणेशराज पाण्डे, किशोरीरमण राणा, टीआर विश्वकर्माहरू काम गर्नुहुन्थ्यो । उहाँहरूकै सङ्गतले मैले पनि कहिलेकाहीँ सम्पादकलाई चिठी तथा ससाना लेखहरू लेख्ने गर्थें । त्यही पूर्वाधारको प्रतिफल हो आजको मेरो यो लेख पनि ।

रामराजाजीको सनसनीपूर्ण पर्चा पढेपछि मैले पाण्डे, राणा, विश्वकर्माहरूसँग सोधखोज गरेँ । उहाँहरूबाट के थाहा पाएँ भने रामराजाजी सप्तरी जिल्ला कोइलाडीको जिमिन्दार परिवारमा जन्मनु भएको रहेछ । दिल्ली विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए र बीएल गरेर आएपछि सर्वोच्च अदालतमा वकालत गर्नु हुँदो रहेछ ।  

चुनावी प्रचारमा देशव्यापी आँधीबेहरी नै ल्याउनु भएका रामराजाजी चुनाव हुन ८, १० दिन मात्र बाँकी हुँदा जनकपुरबाट प्लेनमा काठमाडौं आएर  विमानस्थलबाट सीधै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भैरहेको चुनावी सभामा पुग्नु भयो । क्रान्तिकारी पर्चाबाटै वाहवाही बटुली सक्नुभएका रामराजाजीले कीर्तिपुरमा ओजपूर्ण भाषण गरेर आफ्नो विजय झनै सुनिश्चित गराउनु भयो । 

त्यसबेलाको उहाँको चुनावी पर्चा भनौं वा चुनावी घोषणापत्र भनौं, नेपाली र अङ्ग्रेजी दुवै भाषामा छापिएको थियो र त्यो नै राजराजाजीको स्वस्फूर्त प्रचार सामग्री हुन पुगेको थियो । तर त्यो पर्चा नेपालमा छापिएको थिएन जस्तो लाग्छ मलाई, किनभने त्यसको कम्पोजको अक्षर र प्रिन्ट यहाँकोसँग मिल्दैन थियो ।

मलाई सम्झना छ, २०२८ सालको स्नातक क्षेत्रको निर्वाचनमा अन्य उम्मेदवारमध्ये कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद पन्त, देवेन्द्रराज दलीको चुनावी पर्चा, घोषणापत्र मातृभूमि साप्ताहिकको प्रेसमै छापिएका थिए । 

मातृभूमि साप्ताहिक मङ्गलबार प्रकाशित हुने भएकाले हामी सोमबार रातिसम्म प्रेसको काम गथ्र्याैं । आआफ्नो काम सकेर घर जान्थ्यौँ । तर चुनाव हुन चार दिन अगाडिको  सोमबार राति प्रेसका सबै स्टाफहरू घर फर्किसकेपछि हामी तीनजना– म, प्रेसम्यान र वितरण प्रवन्धकलाई एउटा विशेष जिम्मेवारी दिएर त्यहीँ राखियो । 

त्यो जिम्मेवारी अरू केही थिएन, रामराजाजीको पर्चा र घोषणापत्र कम्पोज गर्ने, छाप्ने र निश्चित गन्तव्यमा पु¥याउनुपर्ने थियो । मैले करिब ३ घण्टामा कम्पोज सकेर पेज डिस्पोज नै नगरी भत्काई ‘खाजा बनाएको’ सम्झना आलै छ । हामीले त्यो सामग्री उज्यालो हुँदा नहुँदै पद्मकन्या कलेजनजिकैको निश्चित गन्तव्यमा पु¥याइदिएका थियौं । पर्चा पढ्दा त रामराजाजीप्रति आकर्षित म उहाँको पर्चा पुनरुत्पादनमा जोडिन पाउँदा गदगद भएको थिएँ ।  

स्नातक चुनावको दिन पनि आयो । काठमाडौँमा भोटिङ बुथ टुँडिखेलको खुल्ला मञ्चमा थियो । उम्मेदवारहरू लहरै बसेर मतदातालाई आफ्नो पक्षमा पार्न शिष्टाचार गरिरहेका थिए । त्यहाँ मैले चिनेको मान्छेमा जुलुम दाइ (मार्सल जुलुम शाक्य) हुनुहुँदो रहेछ । उहाँ रामराजाजीको पक्षमा जुटिरहनुभएको थियो । म पनि त्यो हुलमा मिसिन पुगेँ र दिनभरी त्यहीँ बसेँ ।

त्यसको केही दिनपछि चुनावको परिणाम घोषणा भयो, प्रयागराज सिं सुवाल पहिलो नम्बरमा र रामराजाजी दोस्रो क्रममा विजयी हुनु भएछ । तर, रामराजाजीको विजय पञ्चायती शासकहरूलाई पाच्य भएन । उहाँलाई शपथ ग्रहण नै गर्न नदिने परिपञ्च रचियो । तर, रामराजाजी छापामार शैलीमा राष्ट्रिय पञ्चायत बैठक बस्ने ‘ग्यालरी बैठक’मा प्रकट हुनुभएको र त्यसपछि त्यहाँ हङ्गामा भएको कुरा मातृभूमिका सम्पादक र पत्रकारहरूबाट तात्तातै सुन्न पाएँ ।

रामराजाजी पञ्चायती व्यवस्थाको खोइरो खनेर स्नातक क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा विजयी भए पनि उहाँलाई बैठकमा भाग लिन दिइएन, जेलमा हालियो । जतिखेर उहाँ कारागार मुक्त हुनुभयो, त्यतिखेर पञ्चायती संविधानमा दोस्रो संशोधन गरी स्नातक निर्वाचन क्षेत्र नै खारेज गरी सकिएको थियो । 

समयको चक्रले मान्छेलाई कहाँ कहाँ पुर्याउँदो रहेछ ! निर्दलीय पञ्चायती व्यवस्था झन् झन् अनुदार हुँदै गएको बेला २०३३ पुस १६ गते प्रतिबन्धित नेपाली काँग्रेसका नेताहरू बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यहरू ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर भारत प्रवासबाट स्वदेश फर्कनुभयो । उहाँहरूलाई स्वागत गर्न म पनि  एअरपोर्टमा पुगेको थिएँ, पीएल (प्रेमलाल सिंह) दाइसँगै । 

त्यसबेला म गणेशमानको घर चाक्सीबारीमा पीएल दाइसँग जानेआउने गर्थें । मैले प्रेमकृष्ण पाठक, पुरुषोत्तम बस्नेतहरूलाई त्यहीँ चिनेको थिएँ । तत्कालीन युवानेता तथा वकिल प्रेमकृष्ण पाठकको सरसङ्गतले मैले पनि २०३४ सालमा काँग्रेसको चवन्नी सदस्य लिएको थिएँ । 

बीपी, गणेशमानलगायतका नेताहरूको काठमाडौं आगमन लगत्तै राजनीतिक माहौलले आकार लिँदै गरेको थियो । यतिकैमा, पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको विरोधमा जुर्मुराएका विद्यार्थीहरूमाथि पञ्चायती शासकले दमन गर्यो । त्यो दमनको विरुद्धमा विद्यार्थी आन्दोलित भए । आन्दोलन चर्कंदै जाँदा २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्र ‘निर्विकल्प’ भनिएको निर्दलीय पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने भन्ने विषयमा जनमत सङ्ग्रह हुने घोषणा गर्न बाध्य भए ।

समय चक्रले, त्यो परिघटनाले मलाई प्रत्यक्ष रूपमै रामराजाजीको समीपमा पु¥यायो । जेठ १० गते जनमत सङ्ग्रहको घोषणा भएको थियो, १६  गते वाक तथा प्रेस स्वतन्त्रता पनि खुल्ला गरियो । त्यसको भोलिपल्ट जेठ १७ गते बिहान रामराजाजी प्रेमकृष्ण पाठकको घरमा आउनु भयो, म पनि त्यहीँ थिएँ । मैले उहाँलाई नजिकबाट भेटेको, हात मिलाएको त्यहीँ हो पहिलो पटक ।

अब सुरु भयो आफ्नो गन्तव्यको मोड अर्कै सिराबाट । रामराजाजी र पाठकजी बहुदलीय जनवादी मोर्चाका नाममा बहुदलको पक्षमा जुट्न सहमत हुनुभयो । प्रखर प्रजातन्त्र र माक्र्सवादी अर्थतन्त्र मोर्चाको सिद्धान्त हुने तय भयो । (पछि, नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद रामराजाजीले परिकल्पना गर्नु भएकै सिद्धान्त हो ।) पुतली सडकमै रहेको भद्रकाली मिश्रको विजय प्रिन्टिङ प्रेसबाट मोर्चाको एउटा सानो पर्चा छापियो, दुवै जनाको नाम राखेर । 

त्यसको एक सातापछि मैले इन्द्रचोकमा ‘महिषासुर मर्दिनीको प्रतीक अङ्कित’ एकदम ठूलो कपडाको ब्यानर टाँगे । पञ्चे र मण्डलेलाई प्रहार गरेको त्यो कार्टुन ब्यानर हेरेपछि  रामराजाजीले मेरो प्रशंसा गर्नु भएको थियो ।

केही दिनपछि काठमाडौंबाट एक टिम रामराजाजीको गृह जिल्ला सप्तरीमा आमसभा गर्न गयौँ । हामी फर्केको केही समयपछि झिटिगुण्टा र रासनसमेत बोकेर सिरहा सप्तरीबाट मोर्चाका ५०, ६० जना नेता–कार्यकर्ता काठमाडौंमा आए । 

अहो, रामराजाजीको सरल स्वभाव ! त्यत्रो जमिनदारको छोरो, उहाँ त कार्यकर्ताहरूको माझमा बस्नखान पो रुचाउनु हुँदो रहेछ ! मानौं, रामराजा पार्टीको नेता हैन, परिवारको मुली पो हुनुहुन्छ !
बहुदलीय जनवादी मोर्चाको अफिस पुतलीसडकबाट डिल्लीबजार जाने मोडमा रहेको थियो । पछाडिपट्टि खुला जग्गा र टहरासमेत भएको सुमन श्रेष्ठको त्यही घरमा मोर्चाका नेता–कार्यकर्ता सामूहिक रूपमा बस्थे पनि । 

त्यहाँ बिहान बेलुकाको भान्छा नेवारहरूको भोजमा प्रयोग गर्ने भ्वय् सुकु (लामो सुकुल)मा बसाएर सालको पतरीमा खुवाउने गरिएको थियो । रामराजाजीसहित हामीहरू सबैको मेस एउटै थियो ।

साउन ८ गते टुँडिखेलको खुल्लामञ्चमा बहुदलीय जनवादी मोर्चाको पहिलो आमसभा भयो । वर्षातको बेला, पानी परिरहेको थियो । छाता हुनेले ओडेर र नहुनेले भिजेरै रामराजाजीको जोशिलो भाषण सुने ।

रामराजाजीले पञ्चायती शासकहरूलाई प्रजातन्त्रको विरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिनुभयो । षड्यन्त्र गरियो भने जनताले ‘मङ्गलमय विध्वंश’ गर्ने जनाउ पनि दिनुभयो । ‘ए, अतिक्रमणकारी शासकहरू हो, कान खोलेर सुन ! जनता जागेको दिन यी हातहरू नै तरबार बन्ने छन्, रुखमा आँप–अम्बा हैन, बम फल्ने छन् बम !’ रामराजाजीको शङ्खघोषमा स्रोताले गडगडाएर ताली बजाएका थिए ।     

नभन्दै, पञ्चायती शासकले षड्यन्त्र गरेरै छाड्यो ।  बहुदलको पक्षमा प्रचार प्रसार गर्दै नेपालगञ्ज पुग्नुभएका रामराजाजी र खेमराज भट्ट मायालुलाई जनमत सङ्ग्रह हुनु एक साताअघि पक्राउ गरियो । जनमत सङ्ग्रहको नतिजा घोषणा गरेको भोलिपल्टै २०३७ जेठ २ गते काठमाडौंमा म लगायत दर्जनौँ नेता–कार्यकर्तालाई पक्राउ गरी जेल चलान गरियो ।

महिनौँको जेलजीवनबाट मुक्त भएपछि रामराजाजीले भूमिगत हुने र सशस्त्र सङ्घर्ष गर्ने प्रस्ताव गर्नुभयो । हामी केही साथीहरूलाई त्यो उचित लागेन । तर आफ्नो विश्वासमा अटल रामराजाजी सहमत साथीहरू लिएर भूमिगत हुनुभयो ।  

पाँच वर्षको तयारीपछि २०४२ साल असार ६ गते रामराजाजीको नेतृत्वमा जनवादी मोर्चाले सिंहदरबार र नारायणहिटी राजदरबारसहित देशव्यापी बम विस्फोट  गराई क्रान्तिको विगुल फुक्ने काम ग¥यो । पञ्चायती राज्यसत्ताले रामराजाजीलगायत चार जनालाई मृत्युदण्डको सजाय सुनायो । तर उहाँहरू भूमिगत हुनुभएकाले त्यो सजाय कार्यान्वयन गर्न भने सकेन ।    

रामले १४ वर्ष बनबास बसेजस्तै रामराजाजी पनि १४ वर्ष नै भूमिगत रहनुभयो । उहाँ २०५१ सालमा खुल्ला राजनीतिमा आउनुभयो भने हाम्रो पुनर्मिलन पनि भयो । त्यसको अर्को वर्षबाट माओवादीले गणतन्त्र स्थापनाको लक्ष्यसहित सशस्त्र सङ्घर्ष सुरु गर्यो, जसलाई रामराजाजीले अनेक तरहले सघाउनु भयो ।

जनयुद्धको उत्कर्षमा, २०६२÷६३मा भएको जनआन्दोलनपछि गणतन्त्र नेपाल स्थापना भयो । तत्कालीन माओवादी पार्टीले उहाँलाई ससम्मान राष्ट्रपति उम्मेदवार बनायो । तर उहाँलाई अनेक तिकडम गरी हराइयो । त्यस बीचमा पनि उहाँले महत्वपूर्ण राजनीतिक निर्णय लिनुभएको थियो, तराईसम्बन्धी विषयमा ।

विचारका दृष्टिले सदाबहार तन्नेरी भए पनि रामराजाजीलाई अनेक रोगले गाँजेको थियो । उहाँलाई उपचारार्थ टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । हाम्रा लागि पितातुल्य रामराजाजी सिकिस्त भइसक्दा पनि हामीले भेन्टिलेटर पाउन सकेका थिएनौं । हातैले बल थिचेर उहाँलाई अक्सिजन दिइरहेका थियौं । मलाई त त्यसबेला के गर्ने, के नगर्ने भयो । 

हाम्रा साथी, त्यसबेलाका अन्नपूर्ण दैनिकका सम्पादक जिवेन्द्र सिम्खडालाई मैले यस्तो यस्तो भयो भनी फोनबाट समस्या जानकारी  गराएँ । उहाँले पनि जहाँ जहाँ भन्नुपर्ने हो भनेर आईसीयूमा भेन्टिलेटरमा राख्ने व्यवस्था मिलाई दिनुभयो । 

भनिन्छ नि, हुने हुनार कसैले नटार ! २०६९ भदौ २७ गते बिहान ४ बजेतिर रामराजाजी दिवंगत हुनु भयो । गणतन्त्र नेपालका प्रणेताको अन्तिम बिदाइमा राज्यबाट राजकीय सम्मानका साथ २१ तोपको सलामी अर्पण गरिएको थियो । 

रामराजाजीजस्ता सादगी र साहसी नेता, आस्थामा अटल रहेर निष्ठापूर्वक राजनीतिमा समर्पित नेता वर्तमान परिवेशमा बिरलै होलान् । रामराजाजी, तपाईंलाई नेपाल आमाका असल छोराका रूपमा हामी सदा सम्झिरहने छौँ । स्नेह–श्रद्धाका यिनै शब्दसुमनसहित नमन रामराजाजी !

याे पनि छुट्याे  कि
 

जो, गणतन्त्रका लागि ‘हजारौं मृत्यु मर्न र हजारौं जिन्दगी जिउन’ चाहन्थे

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ