शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसको प्रयासमा मच्छिन्द्र बाधक

आइतबार, ०२ मङ्सिर २०७५, १३ : ४१
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं–विभागीय टोली नेपाल पुलिस क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबसँग अंक बाँडेको छ ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा पुलिस र मच्छिन्द्रले गोलरहित बराबरी खेले । खेलको सुरुवात देखिनै आक्रामक देखिएको पुलिसले पहिलो हाफमा मात्र तीनवटा राम्रो गोल गर्ने अवसर खेर फालेको थियो । पुलिसविरुद्ध रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि गोल गर्न सकेन । पुलिसको गोल गर्ने प्रयास दोस्रो हाफमा पनि सफल बन्न सकेन ।

टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको पुलिसले दोस्रो हाफको अन्तिम १० मिनेट भोला सिलवाललाई उतारेको थियो । घाइते भएका कारण भोलाले दुई बर्षदेखि राष्ट्रिय टोली गुमाउँदै आएका थिए । उनी यही लिग मार्फत फुटबलमा फेरी जम्ने प्रयासमा छन् । बराबरीसँगै पुलिसले चार अंक बनाएको छ ।

पुलिसले पहिलो खेलमा जाउलाखेललाई १–० गोलले हराएको थियो । दुवै खेलमा बराबरी नतिजा आत्मसाथ गरेको मच्छिन्द्रले दुई अंक बनाएको छ । मच्छिन्द्रले पहिलो खेलमा च्यासलसँग गोलरहित बराबरी खेलेको थियो ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले जितका लागि खेलेपनि सम्भव नभएको बताए । ‘मिडिल लाइनमा रहन चाहने टोलीहरु बराबरीका नतिजाका लागि खेल्ने गर्दछन् । आज पुलिसले मच्छिन्द्रको रक्षापंक्ति तोड्न सकेन,’ अनत्तले भने ।

मच्छिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले बराबरी नतिजाबाट सन्तुष्ट रहेको बताए । ‘पुलिस जस्तो नियमित प्रशिक्षणमा रहने टोलीसँग तीनचार दिनको तयारीले यक्तिको खेल्नु राम्रो हो । आगामी खेलका थप सुधार गर्नेछौं,’ धनेश्वरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप