मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१२ बुँदे निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, हेर्नुस विज्ञप्ति सहित निर्णयहरु

सोमबार, ०९ साउन २०७४, २२ : १०
सोमबार, ०९ साउन २०७४

काठमाडौं – नेपाली कांग्रेसको  गत ७ गतेदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । बैंठकमा कांग्रेसले संविधान संसोधन प्रक्रृयालाई अघि बढाउने तथा स्थानीय तहको सँख्या थप गर्ने लगायत निर्णय गरेको छ ।


शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा  सम्पन्न भएको थियो ।   
बैंठक कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनको ऐतिहासिक अभिभारा पनि नेपाली कांग्रेसको काँधमा जारी प्रेस विज्ञप्तिमा जनाएको छ । समयमै स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन गर्नु राष्ट्रिय एजेण्डा  भएकोले २०७४ माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्न अघि बढ्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
                                                                   
                                                                                                                                                           

 श्रावण ९, २०७४

प्रेस विज्ञप्ति

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण ७ गते देखि जारी बैठक पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज सम्पन्न भयो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समिक्षा, प्रदेश नं. २ को चुनावको तयारी एवं समसामयिक विषयमा केन्द्रीत तीन दिनसम्म चलेको बैठकमा पार्टीका नेता श्री रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष श्री सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— श्री  प्रकाशमान सिंह, श्री कृष्णप्रसाद सिटौला, श्री विमलेन्द्र निधि, श्री पूर्णबहादुर खड्का, डा. रामशरण महत, श्री अर्जुननरसिंह के.सी., श्री बलबहादुर के.सी., श्री महेश आचार्य, श्री बालकृष्ण खाँण, श्री ज्ञानेन्द्रबहादुर कार्की, श्री रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, श्री फरमूल्लाह मन्सुर, श्री मानबहादुर विश्वकर्मा, श्री दिलेन्द्रप्रसाद बडू, श्री एन.पी. साउँद, श्री उमाकान्त चौधरी, श्री अर्जुनप्रसाद जोशी, श्री महालक्ष्मी उपाध्याय ‘डिना’, श्री भीष्मराज आङ्दम्वे, श्री जीवनबहादुर शाही, श्री आनन्दप्रसाद ढुंगाना, श्री दिपक गिरी, श्री नविन्द्रराज जोशी, श्री चन्द्र भण्डारी, श्री कमला पन्त, श्री अजयकुमार चौरसिया, श्री अम्बिका बस्नेत, श्री धनराज गुरुङ, श्री महेन्द्र यादव, श्री पुष्पा भुसाल, श्री सुरेन्द्रराज पाण्डे, श्री शंकर भण्डारी, श्री मीन विश्वकर्मा, श्री गगनकुमार थापा, श्री बद्री पाण्डे, श्री जीवन परियार, श्री ईश्वरी न्यौपाने, श्री सिता गुरुङ, श्री पार्वता डी.सी.चौधरी, श्री केशवकुमार बुढाथोकी, श्री श्यामकुमार घिमिरे, श्री गुरुराज घिमिरे, श्री प्रदीप पौडेल, श्री कल्याणकुमार गुरुङ, श्री रामकृष्ण यादव, श्री मोहनबहादुर बस्नेत, श्री देवेन्द्रराज कँडेल, श्री बीरबहादुर बलायर, श्री विश्वप्रकाश शर्मा, श्री रमेश लेखक, श्री किरण यादव, श्री सरिता प्रसाई, श्री बहादुरसिंह (लामा) तामाङ र श्री लक्ष्मी परियारले आ–आफ्नो धारणा राख्नु भयो । 

बैठकको निर्णयहरु यस प्रकार रहेको छ—
१.    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अन्य राजनीतिक दलहरुको सहमतिमा संयुक्त सरकारको गठन भएको थियो । पूर्ववर्ती सहमतिको आधारमा अहिले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को गठन भएको छ । श्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइँ ज्ञापन गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको लागि यो बैठक शुभ–कामना व्यक्त गर्दछ । 
२.    नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गर्न सहयोग गर्ने व्यवस्थापिका–संसदभित्र रहेका सबै राजनीतिक दलहरुलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक धन्यवाद व्यक्त गर्दछ । 
३.    नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनको ऐतिहासिक अभिभारा पनि नेपाली कांग्रेसको काँधमा आएको छ । संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समय सीमा भित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन गर्नु राष्ट्रिय एजेण्डा हुन् । यी एजेण्डालाई सम्पादन गर्न २०७४ माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी सफलताका साथ पुरा गर्न र यो अभियानको नेतृत्व लिन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ । निर्वाचन सम्पन्न गर्न कानूनी व्यवस्था र शान्ति सुरक्षा लगायतका सबै आवश्यक प्रबन्ध गर्न र राजनीतिक वातावरण बनाउन सरकारलाई अनुरोध गर्दछ । 
४.    नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गठवन्धन, राष्ट्रिय जनता पार्टी लगायत सबै राजनीतिक दलहरुसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ । नेपाली कांग्रेस व्यवस्थापिका–संसदमा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयक पूर्व सहमति अनुरुप पेश गरी पारित गर्न तयार रहेको छ । उक्त विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन प्रमुख प्रतिपक्ष नेकपा (एमाले) लगायत सबै राजनीतिक दलहरुलाई हार्दिक अपील गर्दछ । उल्लेखित सहमति अनुरुप कार्य गर्न सरकारसँग आग्रह गर्दछ । 
५.    आम नगारिकका जनजिविकाका सवाल र नेपालीले भोग्नु परेको विविध समस्याका प्रति अत्यन्त संवेदनशील भई जनताका हक हितमा कार्य गर्न र विकास निर्माणका कार्य दु्रत गतिमा सम्पन्न गर्न यो बैठक सरकारको ध्यान आकर्षण गर्दछ । 
६.    स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । संविधानको कार्यान्वयनको सन्दर्भमा यो अत्यन्त महत्वपूर्ण कार्य भएको छ । यो ऐतिहासिक कार्यमा नेतृत्व गर्न सफल भएकोमा नेपाली कांग्रेस गर्व गर्दछ । पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने श्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । नेपाली जनताले निर्वाचनमा उत्साहपूर्वक भाग लिएका छन् । निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, निर्वाचन आयोग, पत्रकार, राष्ट्र सेवक कर्मचारी, सबै सुरक्षा निकाय, प्राध्यापक, शिक्षक, वकिल, पर्यवेक्षक लगायत आम मतदाता सबैमा नेपाली कांग्रेस हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।  
७.    स्थानीय तहको दुई चरणको निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुसारको परिणाम प्राप्त गर्न सकेन । राष्ट्रिय राजनीतिमा महत्व राख्ने आर्थिक–सामाजिक एवं राजनीतिक सवालमा नेपाली कांग्रेस सदैव नेपाल र नेपालीको पक्षमा दृढ संकल्पीत भएर उभिएको छ । निर्वाचनमा उम्मेदवारी चयनमा ढिलाई हुनु, आन्तरिक द्वन्द, असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव र कतिपय स्थानमा पार्टीकै साथीहरुबाट असहयोग र अन्तरघात भएका कारण निर्वाचनमा अनपेक्षित परिणाम आएको छ । त्यसका वावजुद लोतान्त्रिक प्रकृयाबाट प्राप्त सबैको जितलाई उच्च सम्मान एवं मतदाताले नेपाली कांग्रेसलाई दिएको प्रत्येक मतप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दै निर्वाचनका मार्फत् व्यक्त जनमतको कदर गर्दछ । निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमी कमजोरी सच्याउने र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तरघात गर्ने पार्टी सदस्यहरुलाई पार्टीको विधान र नियमावली बमोजिम आवश्यक कारवाहीका लागि आन्तरिक प्रकृया प्रारम्भ गर्ने निर्णय गर्दछ । 
८.    तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा २०७४ श्रावण ५ र ६ गते प्रदेश नं. २ का नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापति, संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासी, नगर सभापति समेतका नेताहरुको काठमाडौँमा सम्पन्न भेलाले निकालेको निष्कर्षलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गर्दछ । 
९.    नेपाली कांग्रेसलाई अग्रता दिलाउन प्रदेश नं. २ का पार्टीका सबै निकाय, भ्रातृ संस्था, शुभेच्छुक संस्था सहित पार्टीका सबै सदस्यहरुलाई परिचालन गर्ने निर्णय गर्दछ । नेपाली कांग्रेस सदैव समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी जनताको पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका पक्षमा मतदान गर्न सबै मतदातामा हार्दिक अपील गर्ने निर्णय गर्दछ । 
१०.    हालै सप्तरी, कास्की, सिन्धुपाल्चोक लगायत देशका विभिन्न भू–भागमा गएका बाढी पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितलाई उचित राहत, क्षतिपूर्ति तथा उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । 
११.    न्यून वर्षाका कारण सुख्खा भई देशका विभिन्न भू–भागका खेतीयोग्य जमीनमा धानखेती लगायत अन्य कृषिवाली लगाउन नपाएका किसानहरुलाई उचित राहत वितरण गर्नका लागि नेपाल सरकारसँग मांग गर्दछ । 
१२.    देशका विभिन्न जिल्लामा हालसालै घटेका महिला तथा बालबालिकाप्रतिको लैङ्गिक हिंसा एवं अमानवीय घटनाहरुको निन्दा गर्दै त्यस्ता घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याई तत्काल कार्वाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति सहित न्याय दिलाउन नेपाल सकारसँग मांग गर्दछ । 

शोक प्रस्ताव ः
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मार्शल जुलुम शाक्य, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेल, सिन्धुलीका पूर्व महासमिति सदस्य शोभा कोइराला, नेपाली कांग्रेस कास्कीका उपसभापति हरिप्रसाद आचार्य, खोटाङका महाधिवेशन प्रतिनिधि अटलेश्वर राई र सिरहाका पूर्व सांसद नथुनीसिंह दनुवारको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, उहाँहरुका शोक सन्तप्त परिवारजनहरुप्रति यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ । 

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप