संसदीय सुनुवाई समितिमा उठ्यो प्रधानमन्त्रीकी सालीको कुरा
काठमाडौं– संसदीय सुनुवाई समितिमा आइतवार ४ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भएको छ । बैठकमा भारतका लागि प्रस्तावित निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि प्रस्तावित अञ्जान शाक्यको बारेमा सुनुवाई भएको हो ।
बैठकमा प्रस्तावित राजदूतहरुको सुनुवाई भैरहँदा इजरायलका लागि प्रस्तावित राजदूत अञ्जान शाक्यको विषयमा सांसदहरुले विषय उठान गरेका थिए । बैठकको चौथो चरणमा शाक्यको बारेमा सुनुवाई भएको थियो । आफ्नो बारेम सुनुवाई सुरु भएलगत्तै शाक्यले आफ्नो कार्ययोजना प्रस्तुत गरिन् । उनले दुइ देशबीचको कुटनीतिक र राजनीतिक सम्बन्ध बलियो बनाउन पहल गर्ने, इजरायलको आधुनिक कृषि प्रणालीलाई नेपालमा भित्र्याउने, नेपालका सातवटै प्रदेशमा इजरायलको कृषि प्रणालीबारे तालिम दिने संस्था खोल्ने लगायतका कार्ययोजना सुनाएकी थिइन् ।
शाक्यले नेपालमा ३५ अर्ब बराबरको खाद्यान्न र तरकारी आयात हुने बताउँदै इजरायलको आधुनिक कृषि प्रणाली भित्र्याएर विकास गर्नेमा जोड दिएकी थिइन् । उनले इजरायलमा रहेका नेपाली कामदार महिलाहरुको हक हितका लागि काम गर्ने प्रतिबद्धता समेत जनाइन् । उनको कार्ययोजना सुनेपछि सांसदहरुले उनको प्रस्तुतिकरण धेरै राम्रो भएको प्रतिक्रिया दिएका थिए । सांसदहरुले उनको कार्ययेजनाको प्रशंसा मात्र गरेनन्, प्रधानमन्त्री ओलीसँग जोडिएको उनको नातासम्बन्धको विषयमा समेत विषय उठान गरेका थिए ।
बैठकमा बोल्दै कांग्रेसका सांसद भिमसेनदास प्रधानले प्रश्न गरेका थिए । सांसद प्रधानको प्रश्न थियो, ‘तपाईको प्रधानमन्त्रीसँग नाता जोडिएको हो कि होइन ? तपाई राजदूतका लागि योग्य हुनुहुन्छ, मिडियाले तपाईहरुको नाताको विषय पनि उठाइदिएको छ । यसबारे स्पष्ट पारिदिनुपर्छ ।’
त्यस्तै संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले पनि शाक्य र प्रधानमन्त्रीको नाता सम्बन्धका बारेमा कुरा उठाएका थिए । सांसद श्रेष्ठले भने शाक्य प्रधानमन्त्री ओलीकी साली भन्ने कुरा आएपनि त्यो सही नभएको बताए । सांसद श्रेष्ठले थर मिल्दैमा साली नहुने बताउँदै भने, ‘शाक्यको माइती घर र मेरो घर सँगै छ, उहाँको बारेमा धेरै कुरा मलाई थाहा छ । मिडियामा आएको हल्ला सही होइन ।’
सांसद श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पहिले देखिनै अन्तरजातीय विवाह गर्ने चलन भएको र त्यस्तो प्रस्ताव आफुलाई पनि आएको भन्दै ठट्टा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न