शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभागी कोहली : फेरि अर्को शतक, फेरि अर्को हार

मङ्गलबार, ०३ पुस २०७५, १० : ३०
मङ्गलबार, ०३ पुस २०७५

एजेन्सी । अस्ट्रेलियाले पर्थमा खेलिएको दोस्रो टेस्टमा भारतलाई १ सय ४६ रनले पराजित गरेको छ । योसँगै अस्ट्रेलियाले शृङ्खलामा १–१ को बराबरी गरेको छ ।

जीतका लागि भारतले चौथो पारीमा २ सय ८७ रन बनाउनुपर्ने थियो । तर, भारत मात्र १ सय ४० रनमा अलआउट हुनपुग्यो ।

खेलमा कप्तान विराट कोहलीले पहिलो पारीमा १ सय २३ रन बनाएका थिए । अस्ट्रेलियामा उनको यो छैटौँ शतक थियो । तर, अस्ट्रेलियामा उनले शतक बनाउँदा भारतले कहिले पनि जित्न सकेको छैन ।

यसमध्ये चारमा भारत हारेको छ भने दुईमा टेस्ट बराबरी भएको छ ।

यसअघि मार्कस ह्यारिसको ७० रनको मद्दतले अस्ट्रेलियाले पहिलो पारीमा ३ सय २६ रन बनाएको थियो । जसको जवाफमा भारतले पहिलो पारीमा २ सय ८३ रन बनाएको थियो । 
यसमा कोहलीबाहेक अजिंक्य रहाणेले ५१ रन बनाएका थिए ।

पहिलो पारीमा अस्ट्रेलियाले ४३ रनको अग्रता बनाएको थियो । त्यस्तै, दोस्रो पारीमा २ सय ४३ बनाउँदै भारतसामु २ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतका लागि दोस्रो पारीमा मोहमद शामीले ६ विकेट लिए । यता, प्लेयर अफ द म्याच घोषित अस्ट्रेलियाका स्पीनर नाथक लियोनले खेलमा ८ विकेट लिन सफल रहे ।

अन्तिम दिन भारतलाई टेस्ट जित्न १ सय ७५ रनको आवश्यकता थियो । तर, उसँग मात्र ५ विकेट बाँकी थियो ।

हनुमा विहारी र ऋषभ पन्त क्रिजमा थिए । तर, सात रन नजोड्दै विहारी आउट भए । त्यसपछि कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् र एक घण्टाभित्रै भारत अलआउट हुनपुग्यो । भारतले अन्तिम चार विकेट ३ रनमा गुमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप