केन्द्रीय संस्करण
भाषा संवाद

नेपाली भाषाको वर्णविन्यासमा शतप्रतिशत एकरूपता हुन सक्दैन : चूडामणि बन्धु

person explore access_timeफागुन १८, २०७५ chat_bubble_outline0
मोहन दाहाल

रातोपाटी

नेपाली भाषासाहित्यका विशिष्ट व्यक्तित्व डा. चूडामणि बन्धु रहबास, चिर्तुङ्धारा, पाल्पामा १९९५ जेठमा डिल्लीराम रेग्मी र हरिप्रिया देवीका सुपुत्रका रूपमा जन्मेका हुन् । उनले नेपाली भाषाविज्ञानमा विद्यावारिधि गरेका छन् । उनले ‘कर्णाली लोक संस्कृति’ ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन् । 
लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका बन्धु अहिले अवकास प्राप्त जीवन विताइरहेका छन् । अवकास पाए पनि उनी नेपाली भाषा, नेपाली लोकसाहित्यको अनुसन्धानमा निरन्तर लागिरहेका छन् ।  उनका ‘देवकोटा’ (जीवनी र समालोचना २०३६), ‘नेपाली भाषाको उत्तपत्ति’ (२०२५), भाषा विज्ञान (२०३०), ‘अनुसन्धान प्रबन्धको रूप र शैली, (२०३४), कर्णाली लोक संस्कृति (खण्ड–४, २०२८), ‘नेपाली व्याकरणका केही पक्ष, भाषाविज्ञानका सम्प्रदाय आदि प्रकाशित छन् । यसका अतिरिक्त उनले करिब आधा दर्जन साहित्यिक कृतिहरूको सम्पादन गरेका छन् भने केही अनुदित कृतिहरू पनि छन् । भाषा साहित्यको सेवा गरेबापत उनी विभिन्न समयमा पुरस्कृत पनि भएका छन् । २०२८ सालमा उनले कर्णाली लोक संस्कृति खण्ड–४ का लागि ‘मदन पुरस्कार’ प्राप्त गरेका छन् । यसैगरी ‘देवकोटा’का लागि २०३६ को साझा पुरस्कार पाएका छन् । २०३७ मा गुणाज स्मारक व्याख्यान पुरस्कारलगायत अन्य धेरै पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । प्रस्तुत छ, यिनै भाषासेवी चूडामणि बन्धुसँग नेपाली भाषाका वर्णविन्यासका उतारचढाव र मानक निर्धारण कसरी स्थापित गर्ने भन्ने विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी :

–  लामो समयदेखि भाषासाहित्यमा समर्पित हुनुहुन्छ, आजभोलि के कार्यमा व्यस्त हुनुहुन्छ ?
विभिन्न कार्यमा व्यस्त छु । कहिलेकाहीँ नेपाल प्रज्ञा प्रतिष्ठानका बैठकहरू हुन्छन्, त्यहाँ सहभागी हुन्छु । मलाई भाषा आयोगको सल्लाहकारका रूपमा पनि राखेका छन्, त्यसमा पनि जान्छु । त्यहाँ कहिलेकाहीँ कार्यशालाहरू हुन्छन्, कहिले चाहिँ मिटिङहरू हुन्छन्, त्यसैमा छु । अनि अरू अरू पनि त्यस्तै कार्य आइपर्छन् । मेरो विषय एउटा लोक संस्कृति, लोकवार्ता पनि हो । यो सुदूर पश्चिम विश्वविद्यालयले लोकवार्ताको एउटा एमएको पठनपाठनका लागि पाठ्यक्रम तयार गर्न लगाएको छ । म त्यसमा पनि लागिरहेको छु । 

– बेलाबेला वर्णविन्यास र व्याकरणको विषयलाई लिएर नेपाली भाषाप्रयोक्तहरूले विवाद उठाइरन्छन् ? यो नेपालीमा मात्र हो कि अरू भाषामा पनि यस्ता विवाद हुने गरेका छन् ? 
विवाद त अरू भाषामा पनि हुन्छन् । नेपाली भषाको विवाद चाहिँ आफ्नै किसिमको छ, यसको आफ्नै विशेषता छ । सुरुदेखि नै भाषाको लेखनलाई एक रूपतामा लैजाने, एक रूप गर्ने, एक रूपीकरण गर्ने भन्ने जुन प्रयास हो, त्यो प्रयासको सिलसिलामा जब अनेक रूपता हुन्छ, अनि विवाद सुरु हुन्छ । भाषा स्वभावैले अनेक रूपी हुन्छ । व्यक्तिपिच्छे फरक हुन्छ, समुदायपिच्छे फरक हुन्छ । भाषिकाहरू हुन्छन्  । भाषिका भौगोलिक र सामाजिक हुन्छन्, त्यसले गर्दाखेरी यसमा विविधता थुप्रै हुन्छन् । त्यो विविधताको बीचमा एक रूपता स्थापित गरेर लेख्नलाई एक रूपता देखाउने प्रयास चाहिँ हुन्छ । त्यस सन्दर्भमा सबैको एकरूपता हुन सक्दैन । अनि त्यहाँ विवाद जन्मन्छ । 

नेपाली भाषाको आफ्नै इतिहास छ । जब नेपाली लेखनमा बाह्य प्रभाव बढ्न थाल्यो, त्यो बेलामा एकथरी विद्वानहरूले झर्रोवादी आन्दोलन सुरु गर्नुभयो । आज नै त्यस झर्रोवादी आन्दोलनका मुख्य अभियान्ता स्व. बालकृष्ण पोखरेलज्यूको सम्झना हुन्छ । उहाँ दिवङ्गत हुनुभयो, उहाँप्रति श्रद्धाञ्जली । उहाँका साथसाथै झर्रोवादी आन्दोलनमा अरू पनि लाग्नुभयो । 

झर्रोवादी आन्दोलनले नेपाली भाषाको मौलिक पहिचान, आफ्नोपनको सुरक्षाको निम्ति प्रयास गर्दै रह्यो । साथै यसले बाह्य प्रभावलाई हटाउने र आफ्नो निजी पहिचानलाई अगाडि बढाउने काम गर्यो । त्यसै सिलसिलामा त्यसैबेला कतिपय वर्णविन्याससम्बन्धी कुराहरू पनि आए ।  त्यसैलाई पछ्याएर पछिल्ला वर्षहरूमा नेपाली भाषाको पठनपाठन हुन थाल्यो । त्यसका कतिपय विषयहरूलाई अगाडि बढाइयो । यिनै मान्यताका आधारमा त्यस बेलाको चलेका वर्णविन्यासका नियमहरूमा केही परिवर्तन आयो । त्यसोहुँदा त्यो परिवर्तन एक किसिमले झर्रोवादी आन्दोलनभित्रकै कतिपय कुराहरूलाई लिएर भएको हो । 

विसं २०४० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश आयो । उक्त शब्दकोश निर्माणमा बालकृष्ण पोखरेल पनि हुनुहुन्थ्यो । उहाँकै संयोजनमा त्यो शब्दकोश बन्यो र त्यसमा झोर्रोवादी कतिपय कुराहरू समावेश गरियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई त्यसैका आधारमा वर्णविन्यासका कुराहरू सिकाइयो । व्याकरणका कतिपय मान्यताहरूलाई सिकाइयो । यसरी त्यो अगाडि बढ्यो । यसैक्रममा पछिल्ला दिनहरूमा कतिपय केही परिवर्तनहरू भएका छन् त्यसमा परिष्कार भनौ, केही परिवर्तन भनौ परिवद्र्धनहरू भए । पछिल्लादिनमा चाहिँ त्यसमा विमती राख्नेहरू भए त्यसमा विवाद चर्कन थाल्यो । 

–नेपाली वर्णविन्यास निर्धारणमा तपाईंले देखे भोगेको अफ्ठ्याराहरू, रमाइला प्रसङ्ग केही छन्  ? 
त्यस्ता अफ्ठ्याराहरू मैले भोगेको छैन । निर्णायक तहमा बस्दा म मत्रै पनि थिइनँ, अरू पनि त्यसमा सहभागी हुन्थे । त्यसैले त्यस्ता निर्णयहरुको जिम्मा मेरो मात्रै कहिल्यै पनि भएन । तर अरू अरूले आफ्ना भाषासम्बन्धी मान्यता व्यक्त गर्दा, त्यसको प्रकाशन गर्दा मैले पनि कतिपय कुराहरू अगाडि राखेको थिएँ । तर के हुँदो रहेछ भने, लेखका रूपमा बाहिर प्रकाशित भएका कुराहरूमा हाम्रो ध्यान जाँदैन, गए पनि जे कुरा चलिराखेको छ त्यसैलाई नै चलाइन्छ । त्यो स्वाभाविक रूपमा त्यही किसिमबाट त्यो अगाडि बढ्दै गयो । 

अफ्ठ्यारा कहाँ देखापर्छन् भने आफ्ना मान्यता हुँदाहुँदै त्यसका विपरीत अथवा आफ्नो मान्यताभन्दा भिन्न कुरा जब लेख्नुपर्ने हुन्छ, त्यहाँनेर आफूलाई अलिकति अफ्ठ्यारो हुन्छ । तर त्यसमा एक किसिमको सम्झौता चाहिँ गर्नुपर्ने नै हुन्छ । कुनै प्रकाशकले पुस्तक प्रकाशित गर्दा उसको आफ्नै  शैली हुन्छ, त्यही शैलीपुस्तिका अनुसार पुस्तको वणविन्यास मिलाएको हुन्छ । उसले गरेको कुरालाई ल ठिकै छ, त्यहीअनुसार नै गर्नुस् भन्नुपर्ने हुन्छ ।

जसको त्यो आफ्नो किसिमको पद्धति छ त्योअनुसार भाषा मिलाएर प्रकाशन गर्दा भइहाल्यो । त्यसमा मेरै विचारअनुसार नै गर्नुपर्छ, मेरै वर्णविन्यासअनुसार गर्नुपर्छ भनेर मैले कहिल्यै भनेको छैन । कसैलाई लेख रचना दिँदा त्यसमा केही यतउति परेको छ भने तपाईं आफ्नो वर्णविन्यासअनुसार त्यसलाई मिलाएर प्रकाशन गर्नुहोस्, ठीक छ । त्यसमा मेरो आपत्ति हुँदैन, भन्ने गरेको छु । तर यससम्बन्धी मेरो आफ्नै एउटा सिद्धान्त र विचार चाहिँ छ । त्यो नभएको होइन । 

–तपाईंको खास विचार वा मान्यता चाहिँ के हो ?
अहिलेको नेपालीलाई अथवा अहिलेको लेखनमा दुईटा कुरालाई हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ । एउटा हाम्रो लेखन परम्परालाई विचार गर्नुपर्छ । लेखन परम्पराबाट ज्यादै नै टाढा हामी जान सक्दैनौँ । त्यसो हुँदा ‘विद्या’लाई ‘विद् या’ गरी छुट्याएर जब लेखियो, त्यसो गर्दा हामी परम्पराभन्दा ज्यादै पर गयौँ । त्यो कुरा बालबालिकालाई सिकाउँदा सजिलो भएको थियो भने त्यो कुरा अनुसन्धान गर्नुपथ्र्यो । अनि यस्तो सजिलो भयो है । यस्तो प्रकारको लेखनमा ज्यादै सजिलो भएको छ । त्यसो हुँदा सुरुको अवस्थामा केटाकेटीलाई यसरी नै सिकाऊँ भन्ने किसिमको अनुसन्धानका प्रतिवेदनहरू हेर्न पाउनुपर्यो नि त  हामीले । त्यस्तो किसिमको अनुसन्धान त भएको छैन । एक किसिमको धारणा मात्र बन्यो, गरौँ भन्ने भयो, त्यो गरियो । तर त्यो धेरैलाई मन परेन त्यसलाई फेरि पुरानै किसिमबाट लेखियो । त्यो कुरा बहस त भयो तर  अनुसन्धानमा आएन । अनुसन्धान र त्यसको परिणाममा आएन । 

एक दुई जना शिक्षकले ‘यो त छुट्याएर लेख्दा त केटाकेटीलाई सिकाउन सजिलो भएको छ’ भनेको पनि मैले सुनेको छु । तर जब हामी कुनै पनि शब्द हेर्छौं, एउटा चित्र जस्तो त्यो शब्दको स्वरूप हुन्छ । त्यसको छाप मानिसको मस्तिष्कमा बसिसकेको हुन्छ, त्यसमा परिवर्तत गरियो भने त्यो चित्रभन्दा फरक हुन्छ, अनि हामीलाई चाहिँ त्यो अफ्ठ्यारो लाग्छ । त्यसो हुँदा ‘विद्या’को जुन एउटा चित्र बनेको छ ‘द’ र ‘य’ संयुक्त ‘द्य’, त्यो चाहिँ आफ्नै किसिमको छ । त्यसलाई छुट्याउँदा धेरैलाई मन परेन । त्यसको विरोध भयो, त्यो स्वाभाविक नै हो । 

–संयुक्त अक्षर नेपाली भाषामा मात्रै कि अन्य भाषामा पनि छन् ? 
देवनागरी वर्णमालामा संयुक्त अक्षर भएको हुनाले कतिपय भारतीय भाषा पनि देवनागरीमा लेखिन्छन्, ती भाषामा पनि संयुक्त अक्षर हुन्छन् । हरेक भाषाको लिपि त आफ्नो आफ्नै हुन्छ । तिनका आफ्नै किसिमको विशेषता हुन्छन् । रोमन चाहिँ अलि बेग्लै खालको हुन्छ । किनभने त्यसमा संयुक्त अक्षर चाहिँ भएन । तर देवनागरी जस्तो लिपिमा चाहिँ संयुक्त अक्षर हुन्छन् । ती भाषा त्योभन्दा अझ जटिल पनि हुन सक्छन् । 

–अहिले नेपाली वर्णविन्यासमा एक रूपता ल्याउन मुख्य समस्या केके देख्नुभएको छ ? 
पहिलो कुरो, शत प्रतिशत एक रूपता हुनै सक्दैन, अलि अलि विभिन्नता त भइहाल्छ ।  त्यसो हुँदा जति नै कोशिस गरे पनि त्यो समस्या पछिसम्म रहिरहन्छ । अर्को कुरो, लेखनमा एक रूपता चाहिन्छ । त्यसको लागि हो अहिले समस्या देखिएको । हामीले भोगेको र सुरुदेखि अहिलेसम्म वर्णविन्यासमा धेरै परिवर्तन गरियो । त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानलगायत भाषासँग केन्द्रित भएर विभिन्न गोष्ठीहरू भए । प्रज्ञाले २०४० सालमा शब्दकोश छापेपछि शब्दहरूमा परिवर्तन गरेर प्रकाशित गरेको पाउँछौँ । भाषासँग सम्बन्धित विचार गोष्ठीहरू भए । विभिन्न नियमहरुमा सहमत भए । पदयोग गर्ने कुरा भयो । ह्रस्वदीर्घका कुराहरू आए, धेरै कुरा आए । त्यसो हुँदा यी कुराहरूमा सबैको मत विभिन्नता हुनु नै यसको समस्या हो ।   

अर्को समस्या,  विभिन्न पत्रकार मित्रहरू भाषाको सिर्जना हामी गर्छौं, भाषामा लेख्छौँ, लेख्ने त हामीले हो, त्यो अनुसार हुनुपर्छ पनि भन्नुहुन्छ । तर हामीले ती बालबालिकाहरूको विचार गरेनौँ । उनीहरुले लेख्छन् पनि, लेखेरै पास हुनुपर्छ । तिनलाई त पहिलेदेखि नै यो नियम सिकाइएको छ । परिवर्तित वर्णविन्यास नै सिकाइएको छ । शब्दकोशहरूमा पनि त्यही छ । तिनीहरूलाई त्रिभुवन विश्वविद्यालयका विभिन्न समयका गोष्ठीमा भएका परिवर्तनका कुरा सिकाइएको छ । यसैगर्ने भन्ने कुरा बताइएको छ । यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने हो । 

मुख्य कुरा अहिलेको नेपालीलाई बालबालिकाका निम्ति सजिलो पार्नुपर्यो । नभएदेखि उनीहरू यसबाट वितृष्णा  भएर जान्छन् । सरलीकृततिर पनि जानुपर्छ ।  उनीहरूको पठनपाठनका लागि अझ सरल पार्नुपर्यो । वर्णविन्यासलाई पनि त्यो किसिमबाट सरल पार्नुपर्यो ।  तर त्यसको तात्पर्य के पनि होइन भने त्यसको विपरीत पुरानो बन्दा पनि ज्यादै बेग्लै किसिमको पनि होइन । वर्णविन्यासमा सामान्य परिवर्तन चाहिँ समयअनुसार गर्नुपर्छ । 
 

–नेपाली भाषा अध्ययन अध्यापनमा संस्कृत व्याकरणको वर्चस्व कायम नै छ, यसको सट्टा नेपाली नियम बनाएर नै वर्णविन्यासमा एकरूपता ल्याउन सकिन्छ कि सकिँदैन होला ?
सकिन्छ, अहिलेसम्म हामीले जुन व्याकरण पढिराखेका छौँ ती व्याकरणका लेखकहरू संस्कृतका विद्वानहरू हुनुहुन्थ्यो । पुरानोका लागि सोमनाथ शर्माको ‘मध्य चन्द्रिका’ थियो । त्यसमा– ‘म जानेछु’, ‘हुनेछु’ भनिएको छ । ‘नेछ’ चाहिँ जोडिन्छ भनिएको छ । किन जोडिन्छ ? भने यो भविष्यत्काल हो । ‘नेछ’ भनेको भविष्यत्कालको प्रत्यय हो भन्ने कुरा सोमनाथले स्थापित गर्नु भएको हो । 

त्यो उहाँले किन स्थापित गर्नुभयो भने तर्कशास्त्रमा  हामी तीन काल भन्छौँ । भूत, भविष्यत् र वर्तमान । तर भाषामा चाहिँ तीनै काल हुन्छन् । सबै भाषामा ३ काल हुन्छन् भन्ने जरुरी चाहिँ छैन । त्यसो हुँदा अहिले हामी के भन्छौँ भनेदेखि ‘म भोलि पोखरा जान्छु ।’ ‘म भोलि चितवन जान्छु ।’ यो वाक्य ठीक छ नि । सर्वसाधारणले बोल्दा यही प्रयोग गर्छन् । ‘म भोलि चितवन जानेछु ।’ भन्दैनन् । त्यसकारण यो किसिमको व्याकरण कसरी बन्यो भन्दा त्यहाँ संस्कृतको प्रभाव पर्यो । 

अब भाषाको संरचना हेर्नुपर्यो । नेपाली भाषाका विशेषताहरूलाई हेर्नुपर्यो । र, के भन्नुपर्यो भने भूत, भविष्यत् वर्तमान होइन कि एउटा भूतकाल हुन्छ एउटा अभूतकाल हुन्छ । त्यो कुरा हामीले त्रिभुवन विश्वविद्यालयमा पनि पढायौँ, विद्यार्थीहरूबीचमा पनि गयो । त्यसकारण यो ‘नेछ’ भविष्यतकालको प्रत्यय होइन । ‘जाने’ र ‘छ’ चाहिँ दुईवटा जोडेर बनेको हो । जाने थियो भन्दा अर्कै हुन्छ, जाने छ भन्दा अर्कै हुन्छ । घर जाने कि नजाने भन्ने जाने हो । त्यही जाने नै शब्द प्रयोग भएको हो । नेछ प्रत्यय होइन । 

त्यो एउटा भयो अर्को पञ्चम वर्ण भन्ने छ नि ?
संस्कृत व्याकरणमा पञ्चम वर्ण बारे स्पष्ट छ । जस्तै, अङ्क भनियो यसमा ङ पछि क आयो । यसलाई लेख्दा माथि थोप्लो दिए पनि हुन्छ, ङ लेखे पनि हुन्छ । ङ, ञ, ण, म लाई शिरविन्दु राखे पनि हुन्छ । यस्तो चाहिँ संस्कृतको नियम हो । त्यही संस्कृतको नियमलाई हामीले अनुसरण गरेर अलिकति व्यवस्थित गरेर नेपाली लेखनमा ल्याउने हो भने, शिरविन्दु राख्ने हो भने पत्रकारलाई पनि सजिलो, विद्यार्थीलाई पनि सजिलो हुन्छ ।  किनभने ङ लेख्दा ‘ङ’ लेखेर हलन्त गर्नुपर्छ तर थोप्लो दिँदा एकै चोटि भयो । शिरविन्दु गर्दा लेखनमा सजिलो भयो नि । त्यसलाई संस्कृत व्याकरणले मानेको पनि छ । तर यस्ता कुरा संस्कृत शब्दमा मात्रै लागू हुन्छन्, तत्सम शब्दमा मात्रै, नेपालीमा मिल्दैन ।

कमसललाई कंसल बनाउन मिल्दैन, धनकुटालाई धंकुटा गर्न मिल्दैन तर संस्कृत शब्लमा चाहिँ मिल्छ । त्यो कुरा साथीहरूलाई भनेको र आफ्नो लेखहरूमा लेखेको छु, अरूलाई पनि भनेको छु । तत्सम शब्दमा भने प्रयोग गर्न त सकिन्छ । तर त्यसको रिस्क अथवा त्यसको समस्या के छ भने त्यसले कमसललाई पनि कंसल लेख्न प्रोत्साहन गर्न सक्छ । मान्छेहरूको सोचाइमा त्यो आउन सक्छ । यो तत्सम हो, यो तद्भव हो भनेर लेख्ने बेलामा सोचिरहँदैन । तर यो चाहिँ एउटा अभ्यासको कुरा हो । 

– हामीले तद्भव शब्दमा चाहिँ  हटायौँ भन्ने कुरा आएको छ ? ह्रस्वदीर्घका सन्दर्भमा चाहिँ ।
होइन, तद्भव त कसरी हट्छ र ? तद्भव भनेको ‘त्योबाट भएको हो’ भन्ने हो । त्यो त परिवर्तन भएको हो । भइहाल्छ । ह्रस्वदीर्घ लेख्ने सन्दर्भमा क्षतिपूर्ति दीर्घीभवन भन्ने एक किसिमको नियम चाहिँ शब्दस्रोत, भाषावैज्ञानिक पद्धतिमा नै आएको हो । त्यो नियम अरू कतिपय भाषामा पनि छ ।

कर्म भन्ने शब्द संस्कृतमा थियो, इपू २००० मा कर्म थियो भनेदेखि इपू ५०० जतिमा कम्म भयो, अनि इस्वीको दशौँ शताब्दीपछि काम भयो । त्यही काम अहिले चलिरहेको छ । धर्म को धम्म भयो, अनि धाम भयो । त्यो क्षतिपूर्ति चाहिँ के हो भने धम्ममा एउटा म हट्यो, एउटाको क्षति भयो, त्यसको पूर्तिको लागि चाहिँ आ आयो । त्यो पद्धति चाहिँ कतिपय भाषामा रहेको पाइन्छ । तर त्यसैको कारणले मात्र त्यस्ता शब्दलाई दीर्घ नै लेख्नुपर्छ भन्ने चाहिँ छैन । किनभने हामी दीर्घ बोल्दैनौँ नि त ।

मित्रको मित्त, अनि मीत भयो । पहिले मीत भनेर लेखिन्थ्यो । अहिले चाहिँ मित लेखिन्छ । दुग्धको दूध भयो । पहिले दीर्घ लेखिन्थ्यो । अहिले चाहिँ सबै ह्रस्व गर्ने भनेर भयो । किनभने सुरु र बीचमा सबै ह्रस्व गर्ने भनेपछि सबै ह्रस्व भयो । त्यो किसिमबाट त्यो आएको हो । 

–अत्यधिक चलनचल्तीमा रहेका शब्द (चीन, डीन, सम्धी, खसी) भनेर कतिपय नियमलाई नै बेवास्ता गर्ने गरिएको छ, यो कतिको उपयुक्त हो ? 
चीन भनेको संस्कृत शब्द नै हो । संस्कृतमा भएका कारणले त्यो दीर्घ भएको हो । तर चिनियाँ भन्दाखेरी ह्रस्व नै हुन्छ । अपवाद भनेको चाहिँ व्याकरणका कतिपय नियम बनाउँदाखेरी कसरी त्यसको व्याख्य गर्न सकिन्छ भनेर व्याख्या गरिएको मात्रै हो । तर त्यो सार्वभौम व्याख्या होइन । किनभने सम्धी अथवा खसीलाई ह्रस्व बनाउने कुनै कारण चाहिँ छैन । मेरो विचारमा त्यसलाई दीर्घ लेखे पनि हुने हो । जस्तो नाति शब्द पनि ह्रस्व लेखिन्छ नि त । त्यसलाई दीर्घै लेखे पनि हुन्थ्यो, त्यसले सरल बनाउँथ्यो ।  तर एक किसिमले चल्यो, त्यही कारणले यस्तो यस्तो शब्द अपवाद हो भनेर  देखाउनुपर्ने भयो ।  

भाषा भनेको वैज्ञानिक र तर्कपूर्ण हुनुपर्छ भनिन्छ तर सर्वसाधारणले प्रयोग गर्ने भाषा (रेष्टुरेण्ट, कम्युनिष्ट, नेशनल, एशोसिएशन, गरीब जस्ता धेरै) र शब्दकोशमा सङ्कलित भाषा (रेस्टुरेन्ट, कम्युनिस्ट, नेसनल, एसोएिसन, गरिब जस्ता धेरै)  मा भिन्नता देखिन्छ नि, सर्वसाधारणले प्रयोग गरेका शब्दहरूको सङ्कलन गरेर त्यसलाई बाँध्ने नियम बनाइनुपर्ने होइन ?

त्यसो होइन, यहाँ के भएको छ भने यो लेखाइको प्रभाव र कारण चाहिँ के हो भन्न सकिँदैन । वास्तवमा कम्युनिष्टमा मूधन्य ष लेख्ने सन्दर्भमा चाहिँ ट भन्दा अघि मूर्धन्य ष त्यो संस्कृतको प्रभाव हो । त्यस्तै मेजिष्ट्रेटमा पनि मूर्धन्य ष लेख्ने चलन भारतमा पनि छ । इण्डिया भन्दा ण नै लेख्छन् तिनीहरू, त्यस्तै किसिमले चलाए । त्यसैले हिन्दी र संस्कृतको प्रभावले त्यस्तो हुन गएको हो । मान्छेहरूको सोचाइमा त्यस्तो हुनुपर्छ भन्ने आएको हो ।  

यहाँ (नेपालमा) चाहिँ झर्रोवादी आन्दोलनको सिलसिलामा चाहिँ अरू भाषाबाट आएका शब्दहरूलाई नेपाली उच्चारणअनुसार लेख्ने परम्परा चाहिँ अगाडि बढ्यो । त्यो भनेको कम्युनिस्ट, रेस्टुरेन्ट गरी लेख्ने भन्ने भयो । त्यसो हुँदा झर्रोवादी आन्दोलनकै एउटा प्रभाव रह्यो ।  बृहत् नेपाली शब्दकोशमा पनि त्यही छ । 

–भाषा विवादलाई समाधान गर्न प्रज्ञाले खेलेको भूमिका कस्तो छ ? उसले के गर्दा चाहिँ विवाद कम हुने थिए ? 
प्रज्ञा प्रतिष्ठानले बेलाबेलामा आफ्नो किसिमको भूमिका खेलेकै छ । प्रज्ञा प्रतिष्ठनसँग सम्बद्ध विद्वानहरूले यसमा चिन्तन पनि गरेका छन् । त्यसैले काम चाहिँ अगाडि बढेकै छ । विवादलाई कम गर्नका निम्ति । तर सबैजना यसमा समाहित हुने स्थिति नहुँदो रहेछ ।

सबैलाई एकै ठाउँमा राख्न पनि गाह्रो हुँदो रहेछ । कतिलाई फुर्सद पनि हुँदैन, कतिलाई आउन पनि गाह्रो हुन्छ । कतिको आफ्नो विचार हुन्छ, छोड्नै चाहनु हुन्न । उपस्थित गराउन पनि गाह्रो हुन्छ । त्यसले गर्दा अलि अलि चाहिँ विवाद रहन्छ । लेखकहरू, विद्वानहरू त्यसमा अभ्यास गरिरहनुभएको हुन्छ, सधैँ लेखिराख्नुभएको छ त्यसमा त्यस्तै लेखेर प्रकाशित गरिरहनुभएको छ । उहाँहरू त्यसलाई परिवर्तन गर्न, फेर्न पनि इच्छा हुँदैन । यसले गर्दा विवाद निरन्तर भइरहन्छ । 

–प्रज्ञाप्रतिष्ठानले गरेका कुराहरू चाहिँ कति पर्याप्त छन् ?
प्रज्ञाले त आफ्नो तर्फबाट काम गरिराखेको छ । तर के हुन्छ त भनेदेखि बेलाबेलामा विवादहरू हुन्छ । त्यसलाई साम्य पार्ने, समाधान गर्ने प्रयास चाहिँ गरिराखेको छ । त्यो एक किसिमको काम हो । तर अझ अरू अझ गर्नुपर्ने आवश्यकता चाहिँ छ । खास गरेर अनुसन्धान गर्नुपर्ने आवश्यकता चाहिँ छ । 

–२०७५ मा शब्दकोश नै खारेज गर्नुपर्ने अवस्था आयो, यसलाई चाहिँ के भन्नुहुन्छ ? 
शब्दकोश नै खारेज गर्नुपरेको कारण चाहिँ विवाद बढी आयो । संस्थाले शब्दकोश निकाल्यो, त्यो शब्दकोश निकाल्दा पहिले निर्णय भएका कुराहरू कार्यान्वयनमा ल्याइएको हो । कुनै एक व्यक्तिले पनि गरेको होइन ।

त्यो शब्दकोशमा जस्तो विद्यालाई  विद् या गरेर (संयुक्त अक्षर छुट्याउँदा) विवाद आउने काम भयो । त्यो कुरा पनि कुनै बेला गोष्ठीमा निर्णय भएको छ । त्यसै आएको त होइन नि । के भयो त भन्दा प्रज्ञामा बेलाबेलामा निर्णय भए, ती निर्णयलाई तुरुन्तै लागू गरिएन । जब लागू गरियो लागू गरेपछि विवाद आयो । त्यो प्रयोगमा नआएसम्म विवादमा त्यति आउँदो रहेनछ । प्रयोगमा ल्याएपछि विवाद ल्यायो । अत्यधिक विवाद भएपछि त्यासलाई परिमार्जन गरियो । कसैलाई खारेज भन्ने शब्द पृय लाग्ला तर त्यो खारेज होइन । 

–२०६७ मा भएको भाषिक सम्मेलनले गरेका निर्णय २०७२ को शब्दकोश मार्फत कार्यान्वयन गरिएको हो ? कि के हो ?
करिब करिब त्यही नै हो । उदाहरणका लागि त्यही संयुक्त अक्षर छुट्याउनेसम्बन्धी, फुल फूल का कुराहरू, पदयोग र पदवियोगका कुराहरू, विद्या र विद् या, बुध्दि र बुद्धि का कुरामा छलफल नै भएको हो । तर छलफलका क्रममा आयो, छलफल भयो ।

जस्तो २० जना बसेका छन्, एक जनाले भने हैन यो होइन । यसमा मेरो सहमती छैन, मान्दिनँ भन्नुभयो । अनि त्यसमा असहमति पनि देखियो । यसमा केहीको असहमती पनि देखियो भन्ने कुरा पनि त्यहाँ लेखिएको छ । निर्णय गर्दाखेरी त्यो भएको छ । तर त्यसको अर्थ के भनेदेखि २० जनामा १ जनाले त्यहाँ उठेर मेरो सहमती छैन भन्नुभयो भयो । त्यस्ता कुराहरू भएका थिए त्यहाँ । त्यसले कतिपयलाई त्यहाँ के लाग्यो भने त्यो निर्णय भएको  होइन, नभए सहमती सबैको भएको छैन भने के निर्णय भयो त ? सही कुरा हो त्यो पनि । तर २० जनामा १ जनाले विमती जनाउनु भनेको त त्यो विषय निर्णय गराएको पनि हो । बहुमतले पारित गरेको हो । बहुमतले निर्णय गरेको पनि हो । त्यसलाई जसरी व्याख्या गरे पनि हुन्छ । 

शब्दकोशमा सम्बन्धित भाषाका शब्द मात्र होइन, त्यस समुदायको इतिहास, संस्कार, संस्कृति र परम्परा संरक्षण गरिएको हुन्छ भन्छन्, नेपाली बृहद् शब्दकोशमा त्यस्तो किसिमले संरक्षण भएको छ त ? 
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोशमा नेपाली संस्कृतिका धेरै कुरा आएका छन् । परम्पराका धेरै कुरा आएका छन् । जनआन्दोलनपछि जब सामाजिक परिवर्तन भयो, केही कुराहरूमा पनि परिवर्तन भयो । परिवर्तन भएपछि ती पुराना मान्यताहरूलाई झिकेर त्यसलाई विस्थापित पनि गरिएको छ, बनाइएको पनि छ ।

संस्कृतिका कुराहरू चाहिँ आएका छन् । तर अझै बढी समेटिनु आवश्यक छ । आजभोलि हुँदै गरेका भाषाका बैठकहरूमा यस विषयमा कुरा उठिरहेका छन् । संस्कृतिका कुराहरू, सांस्कृतिक विशेषताहरू, संस्कृतिक तत्वहरू, सांस्कृतिक तत्वहरू समेटेर अझ गहन बनाउने विषयमा समेट्ने कुरा भइरहेका छन् । 
 

– कालअनुसार, समयअनुसार चलन चल्तीमा रहेका (शिलापत्र, ताम्रपत्र, विभिन्न अभिलेख, भानुभक्तकालीन, मोतीरामकालीन, देवकोटाकालीन) भाषाका शब्दहरू सङ्लन गरेर कोश बनाइएको भए त्यतिबेलाका ती शब्दहरू हराउने थिएनन् भन्ने कुरा पनि बेलाबेला उठ्ने गरेको छ नि । अब त्यस किसिमका शब्दकोश तयार गर्न लाग्नुभएको हो ?
त्यस्तो तयार गर्न सकिन्छ तर त्यस्तो खालको प्रयास भएको छैन । त्यो चाहिँ अलिक कमै छ । जस्तो प्राचीनकालका जति पनि नेपाली शब्दहरू थिए, तिनको एउटा छुट्टै शब्दकोश बनाउन सकिन्थ्यो । मध्यकालको पनि बनाउन सकिन्थ्यो होला । त्यस्तो चाहिँ भएको छैन । अहिलेका शब्दकोशमा कतिपय त्यसबेलाका शब्दहरू समावेश भएका होलन् तर छुट्टै त्यस्तो छैन । यो कार्य महत्वपूर्ण हो, त्यो आवश्यकता र प्रयोगका दृष्टिले भन्दा पनि सन्दर्भसामग्रीका दृष्टिले महत्त्वपूर्ण हो । त्रिभुवन विश्वविद्यालयका केही विद्वनहरूले त्यसको अध्ययन र सङ्कलन गर्नुभएको छ । प्राचीन नेपालीका शब्दावलीहरूको अध्ययन गर्नुभएको छ तर शब्दकोश त्यस्तोखालको बनेको छैन । 

–‘आलि अटाली अटल करि अक्र्याचु’ जस्ता पुराना अभिलेखरुमा रहेका शब्दहरूको अर्थ राखेर बनाइएको छ ? 
त्यस्तो शब्दकोश नै चाहिँ बनाइएको छैन । अनुसन्धान गर्नेहरूले अनुसन्धाताहरूले तयार गर्नुभएको छ । शब्दकोश नै होइन कि त्यो अध्ययनको एउटा स्वरूपको रूपमा, अनुसन्धानका क्रममा सङ्कलन गर्ने  काम भएको छ । तर त्यसमा तपाईंले भनेजस्तै शब्दकोश बनेको छैन । 

अहिले अब बन्ने शब्दकोशमा चाहिँ त्यो संस्कार झल्काउने, भनौँ कुनै एउटा जातिको पूजा विधि हुन्छ, तामाङको होला, मैथिलकै होला तिनीहरूका वस्तुहरू खास सांस्कृतिक वस्तुहरू, खास सांस्कृतिक पद्धतिहरू, त्यस्ता विशेष शब्दहरू समेटेर तिनको व्याख्या पनि गरिन्छ ।
 

– शब्दकोशहरू परिमार्जनहरूमा पछिल्लो समयका शब्दकोशमा शब्द बढेर आएनन् भन्ने आरोप पनि छ नि ? गणतन्त्र पनि आयो, यसबेला पनि धेरै शब्दहरू प्रचलनमा आए, ती शब्दहरू कति समेटिए, के कति भए ? 
त्यो कुरा एक किसिमले सही पनि हो । किनभने पछिल्ला समयमा शब्दहरू जति बने, त्यसपछि यो बनाइयो । दसौँ संस्करणमा पनि त्यति ज्यादा शब्द राख्ने काम हुन सकेन । हतार हतारमा त्यो गर्नुपर्यो होला । यहाँले भनेजस्तो नयाँ शब्दहरू समेट्नुपर्ने त्यति भइसकेको छैन । अब त्यसमा संशोधन, परिमार्जन, परिवद्र्धन गर्नु आवश्यकता छ । नयाँ बन्नेमा चाहिँ त्यो सबै हुन्छ । 

अन्त्यमा, सङ्घीयतामा नेपाली भाषाको अवस्था कस्तो हुँदा उपयुक्त होला ? पत्येक प्रदेशमा भिन्न भिन्न भाषाको बाहुल्यता छ, यो अवस्थामा नेपाली भाषालाई मानक र स्तरीय कसरी बनाउन सकिएला ?
मलाई के लाग्छ भने नेपाली भाषा प्रत्येक प्रदेशमा रहिरहन्छ । त्यो संविधानमै भनिएको छ । त्यसको साथै अर्को एउटा भाषा पनि प्रदेशमा रहन सक्छ भन्ने कुरा छ । त्यसो हुँदा जहाँ नेपाली भाषा मात्रै हुन्छ, कुनै कुनैमा त्यस्तो हुन्छ । जस्तै कर्णाली प्रदेशमा त्यस्तो हुन सक्ला । किनभने अरू भाषा त्यति त्यस्तो अवस्थामा छैनन्, नेपाली नै छ त्यहाँ । अरू अरू प्रदेशमा कस्तो हुन्छ भन्ने निश्चित रुमा भन्न गाह्रो हुन्छ ।

तर अर्को एउटा भाषा राख्न सकिने व्यवस्था संविधान छ । तर नेपाली भाषा नै नरहने स्थिति चाहिँ हुँदैन । त्यो राख्नै पर्ने हुन्छ । किनभने उनीहरूले आफ्नो आन्तरिक प्रशासक प्रादेशिक प्रशासक मात्र होइन कि प्रदेश र सङ्घबीचको सम्बन्ध र एउटा प्रदेशको अर्को प्रदेशसँग बीचको सम्बन्धका लागि पनि नेपाली भाषा एउटा सरकारी कामकाजको भाषा चाहिन्छ । त्यसलाई प्रयोग गर्नु आवश्यक नै पर्छ । नेपाली भाषाको समस्या सबैतिरबाट हट्छ । तर अरू भाषाको बारेमा चाहिँ अझ अध्ययन गर्नु आवश्यक छ । किनभने तिनीहरूको सबलता, सक्षमता र तिनीहरूको प्रयोग गर्ने व्यक्तिहरूको चाहना, वक्ताहरूको चाहना, सबै कुरा भाषाको विकास एकातिर हेर्नुपर्यो अर्कोतिर स्थानीय व्यक्तिहरूको चाहना पनि हेर्नुपर्यो । 

त्यो सरकारले मात्र चाहेर पनि हुँदैन । भाषावैज्ञानिकले चाहेर मात्रै पनि हुँदैन । भाषा पनि सक्षम हुनुपर्छ र उनीहरूले त्यो प्रयोग पनि गर्नुपर्छ । त्यो रूपमा जान अझै पनि सबै ठाउँको त्यति स्पष्ट त छैन । तर आशा गरौँ, त्यो बहुसङ्ख्यकले प्रयोग गर्ने भाषालाई अगाडि बढाउन उनीहरू इच्छुक  छन् भने अवश्य अगाडि बढाउनुपर्छ । नेपाली मात्रै हुनुपर्छ भन्ने चाहिँ होइन, अर्को भाषा पनि त्यहाँ हुन सक्छ ।     

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...