केन्द्रीय संस्करण
राजनीति

गुटबन्दीमा गुटमुटिएको काँग्रेसमा ‘हिरोवाद’ हाबी

person explore access_timeफागुन २६, २०७५ chat_bubble_outline0

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस आन्तरिक गुटबन्दीमा गुटमुटिएको छ ।

गत वर्ष सम्पन्न स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस नराम्रोसँग पराजित भएपछि पनि शीर्ष नेताहरू पार्टी सुधारतर्फ लाग्नुको सट्टा ‘गुट’ सुधारमा तल्लीन छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता राचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालागायतका नेताहरू आगामी १४औँ महाधिवेशनलाई ‘टार्गेट’ बनाउँदै गुटको बलमा शक्ति सञ्चय गर्नतर्फ लागेका हुन् ।

कुनै पनि राजनीतिक पार्टीमा फरक विचार र समूह हुनु अनौठो होइन । तर काँग्रेसभित्र विचार फरक भएका कारण गुट निर्माण भएको भने अवश्य होइन । पार्टीलाई नयाँ गति र दिशामा लैजाने भन्ने विचारमा गुटगत भेला हुनुपर्ने अवस्थामा नेताको निजी स्वार्थमा केन्द्रित गुटगत भेला र गतिविधि हुने गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

काँग्रेसमा देउवा, पौडेल र सिटौला गुट प्रष्ट रूपमै देखिन्छ । तर उनीहरू पृथक विचार र एजेन्डाका आधारमा गुट सञ्चालन भने गरिरहेका छैनन् । उनीहरूको गुट पदको भागबण्डाका लागि मात्रै चल्ने गरेको छ ।

काँग्रेसमा गुट चलाउने रोग शीर्ष नेतादेखि युवा नेताहरूमा समेत देखापर्ने गरेको छ । यसैका आडमा काँग्रेसका युवा नेताहरूले पनि समय समयमा ‘गोप्य’ भेला गर्नेगरेका छन् । उनीहरूको भेलाले पनि न पार्टीलाई नयाँ गति दिन सक्ने सामथ्र्य राखेको छ न जनजीविकाका विषयमा पार्टीलाई प्रभावकारी निर्णय गर्न बल नै पुर्याएको छ । काँग्रेसमा अहिलेका अधिकांश युवा नेताहरूको सोच, संस्कार र व्यवहार पुराना पुस्ताका नेताहरूको भन्दा फरक नभएको कतिपयको तर्क छ ।

समाजवादी चिन्तक एवम् काँग्रेस केन्द्रीय सदस्य प्रदीप गिरी काँग्रेसमा गुटबन्दीको लफडा स्थापना कालदेखि कायम रहेको बताउँछन् । विगतमा फरक मतका साथ गुट भन्ने गरे पनि अहिले ‘मेरो मान्छे वा तेरो मान्छे’ भनेर आफ्ना खासखास पार्षदहरूलाई जोगाउने र जोगाउनकै लागि गुट सञ्चालन गरिएको गिरीको तर्क छ ।

गुट ‘गिरोह’ बनेकोमा चिन्ता

 ‘नेता पार्टीभित्रका साथीहरूले कुनै लक्ष्य र कार्यक्रमका बारेमा मतभेद राखेर समूह बनाउँदा त्यसलाई गुट भन्न सकिन्छ,’ नेता गिरीले भने, ‘त्यो आफैमा त्याग्न लायक हुँदैन । तर त्यस्तो कुनै मतभेद छैन र मतभेदको आधार पनि छैन, तापनि तँ मेरो मान्छे कि उसको मान्छे भन्ने कुराले मात्र मान्यता पाएको छ । यसले पार्टीलाई राम्रो गर्दैन भन्नेमा मेरो चिन्ता छ ।’

काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा कुनै लक्ष्य र कार्यक्रमका बारेमा मतभेद राखेर गुट निर्माण हुनु स्वाभाविक रहेको उनको तर्क छ ।

‘काँग्रेसभित्र गुट हुनु आफैमा चिन्तनको कुरा होइन । तर गुट गिरोहहरूमा परिणत भएका छन् । एउटै गुट चाँडै दुई–तीनवटा गिरोहमा परिणत भएका छन् । अहिले काँग्रेसभित्र देउवा पक्ष र पौडेल पक्ष भन्ने छ । तर फेरि देउवा गुटभित्र पनि अनेक उपगुट सिर्जना भएको छ । पौडेल गुटभित्र पनि त्यस्तै उपगुटहरू हाबी छन्,’ नेता गिरी भन्छन् ।

गुट गिरोहमा परिणत हुने कुरा काँग्रेसमा मात्र सीमित नरहेको भन्दै यसबाट देशको भविष्यमाथि नै प्रश्न खडा हुनसक्ने गिरीको तर्क छ । ‘सबै राजनीतिक दलमा सैद्धान्तिक निरूपणलाई बिर्सिएर तँ ठूलो कि म ठूलो, तँ मन्त्री बन्ने कि म मन्त्री बन्ने, तँ संसदीय दलको नेता बन्ने कि म बन्ने भन्नेमा होडबाजी छ,’ उनले भने, ‘सबै राजनीतिक दलका प्रमुख नेतामा यस्तो स्वभाव रहेको छ । यसले गिरोहवाद फस्टाउँछ’ गिरीको भनाइ छ ।

काँग्रेसमा गुटको इतिहास

काँग्रेसको इतिहासमै पनि गुट निर्माण भएका दस्ताबेज छन् । नेपाली राष्ट्रिय काँग्रेसको स्थापनापछि बीपी कोइराला र डा. डिल्लीरमण रेग्मीले गुट चलाएका थिए । त्यसपछि सात सालको क्रान्तिलगत्तै पार्टीमा मातृकाप्रसाद कोइराला र बीपी गुट देखियो । सहोदर दाजुभाइ मातृका र बीपीबीचको गुटबन्दीले अन्ततः पार्टी विभाजन नै भयो । तर त्यसयता काँगे्रसले गुटबन्दीकैबीच आफ्नो एकता कायम राखेको थियो । एकताकै कारण काँग्रेसले २०१५ सालको आम चुनावमा विजय हुन सफल भएको थियो । तर १ पुस ०१७ सालमा पार्टी सत्ताच्युत र प्रतिबन्धित भयो । प्रतिबन्धित पार्टी निर्वासित हुँदै प्रतिबन्धकालमा पनि काँग्रेसभित्र बीपी र सुवर्णशमशेर राणा गुट देखा परे । बीपी र सुवर्णबीच प्रजातान्त्रिक सङ्घर्षको सञ्चालन, राष्ट्रिय मेलमिलापको नीति, राजासँग सम्बन्धका विषयमा मतान्तरका देखिँदै आएको थियो । तर त्यस्तो गुटबन्दीले पार्टीलाई त्यस्तो शिथिल बनाएको थिएन । त्यसपछि पनि ०४७ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि प्रतिबन्धकालको गुटबन्दी र बैमनस्यको पुनरावृत्ति देखियो । नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचमा मतभेद थियोे ।

गुटकै कारण सिंह र भट्टराई उत्तराद्र्धमा काँग्रेस पार्टी परित्याग गर्ने अवस्था सिर्जना भयो । यस्तै गिरिजा र वर्तमान सभापति देउवाबीच पनि गुटगत लडाइँकै कारण पार्टी नै विभाजन हुन पुग्यो । बीपी कोइरालाको निधनपछि सिर्जित तीन गुट भट्टराई रहुन्जेल यथावत रह्यो । तर फेरि सुशील कोइरालाको निधनपछि काँग्रेसमा तीन गुट प्रष्ट रूपमा सतहमा आएका छन् । साथै देउवा गुटभित्र पनि अनेक उपगुट सिर्जना भएको छ । यता पौडेल गुटभित्र पनि उपगुटहरू हाबी छन् । देउवा–पौडेलमाथि चुनौती दिँदै सिटौला आफ्नै रफ्तारमा गुट सञ्चालन गरिरहेका छन् । 

कृष्णप्रसादमाथिको त्यो ‘अन्तर्घात’

गत वर्ष सम्पन्न भएको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा लज्जास्पद हार व्यहोर्दै इतिहासकै कमजोर अवस्थामा काँग्रेस सङ्घर्षरत छ । पार्टीका वरिष्ठ नेताहरू नै बडारिएका छन् । जसका कारण पार्टीमा अन्तर्घात भयो भन्ने आवाज पनि उठ्न पुग्यो । काँग्रेसका तत्कालीन सभापति भट्टराईलाई उपनिर्वाचनमा ‘अन्तर्घात’ भयो भन्दै उनले काँग्रेस पार्टीको सदस्यता नै त्याग्नुपरेको काँग्रेस वृत्तमा अहिले पनि चर्चा हुने गरेको छ ।

तर त्यो अन्तर्घातको अन्तर्वस्तु के थियो भन्ने कुरा अझै प्रष्ट भएको छैन । गत वर्षको निर्वाचनमा भएको अन्तर्घात भएको भनिए पनि नेताहरू विभाजित हुन पुगेका थिए । काँग्रेसमा अन्तर्घातको अन्तर्वस्तु कहिलै केलाइँदैन । जुन परिघटना, हाँगाबिँगा र जरा रामचन्द्र पौडेलदेखि विश्वप्रकाश शर्मासमेतले भोगेको काँग्रेस नेताहरू बताउँछन् ।

नेताहरूबीच अङ्कमाल र ‘डिप लभ’

काँग्रेसमा विगत तीन महिनादेखि ‘इमोसनल अट्याचमेन्ट र डिप लभ’को चर्चा चलिरहेको छ । गत पुस पहिलो साता महासमिति बैठकको समापनमा सभापति देउवा र वरिष्ठ नेता पौडेल आफूहरूबीच ‘इमोसनल अट्याचमेन्ट र डिप लभ’ रहेको बताएका थिए । ‘पार्टी सञ्चालन गर्न एउटा महत्त्वपूर्ण तत्व चाहिन्छ, त्यो हो– इमोसनल अट्याचमेन्ट । त्यसैले जतिसुुकै विमति र घोचपेच भए पनि हामीमा एक हुन इमोसनल अट्याचमेन्टले भूमिका खेलिरहेको छ’, महासमित बैठकको समापनमा पौडेलले भनेका थिए । त्यसको प्रतिउत्तरमा देउवाले आफूहरूबीच केटा केटीझैँ ‘डिप लभ’ रहेको बताएका थिए । साथै उनीहरूले सँगै हात उठाउँदै पार्टीमा एकता कायम भएको सन्देश पनि दिएका थिए ।

महासमितिमा सहभागी हुन आएका महासमिति सदस्यहरू पार्टीभित्र देउवा–पौडेल एकताको सन्देश लिएर गाउँ फर्किएका थिए । त्यसको केही दिन साँझ लगातार लञ्च मिटिङ नै चल्यो, देउवा–पौडेलको । तर पौडेलको ‘इमोसनल अट्याचमेन्ट’ र देउवाको ‘डिप लभ’ लामो समय टिक्न सकेन । यतिबेला देउवा–पौडेल ‘डिप लभ’ बे्रकप भइसकेको पौडेलले नै बताइसकेका छन् । यस्तो काँग्रेसमा नौलो कुरा होइन् । वितमा पनि पार्टी एकताका नाममा रमाइला परिदृश्यहरू बारम्बार देखिन्थे । कार्यकर्ताको होहल्ला र हानथापकाबीच कृष्णप्रसाद, गणेशमान र गिरिजाबाबु पनि यस्तै भइरहने हुन्थ्यो । नेतात्रय पनि अङ्कमाल गर्ने, सँगै फोटो खिचाउने र हात उठाउने चलन रहेको नेता गिरी बताउँछन् ।

गिरीको स्मरण छ, ‘उनीहरूले अब हाम्रो झगडा सिद्धियो भन्थे तर झगडा कसरी सिद्धिने ? झगडाको जरोतिर चिहाउने र जाने कुनै प्रयास नै भएन । पार्टी एकता यान्त्रिक विषय होइन । यो एक राजनीतिक प्रक्रिया हो । यो भावनात्मक विषय होइन । काँग्रेसका सामु यो राजनीतिक चुनौती यथावत छ ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...