केन्द्रीय संस्करण

दोरम्बा : द्वन्द्वको घाउमा मलम लाउँदै भिटोफ नेपाल !

person explore access_timeबैशाख २०, २०७६ chat_bubble_outline0

गाउँ पर्यटन प्रवद्र्धन विकास मञ्च नेपाल (ख्क्ष्त्इँ(ल्भउब०ि ले वैशाख १२ र १३ गते दोरम्बा अध्ययन, अवलोकन भ्रमण तय गर्यो । यसअघि भिटोफ नेपालले अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा रामेछापको दोरम्बालार्ई पर्यटन गन्तव्य गाउँ घोषणा गरेको थियो । त्यस कारण दोरम्बाको पर्यटकीय विकास हेर्न हामी त्यहाँ जाँदै थियौँ । भ्रमणको संयोजक भिटोफका कोषाध्यक्ष राजकुमार धमला हुनुहुन्थ्यो । बिहान ७ः३० बजे सोह्रखुट्टेबाट हाम्रो यात्रा सुरु भयोे । विटोभ नेपालका पुर्व अध्यक्ष चित्र गुरुङ, वर्तमान कार्य समितिसहित यात्रामा ३८ जनाको सहभागिता थियो । धुलिखेलमा खाजा खाएपछि यात्राले निरन्तरता पायो । पर्यटन व्यवसायी तथा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका तीन नम्बर प्रदेश अध्यक्ष वासुदेव सिम्खडा पनि टिममा हुनुहुन्थ्यो । भिटोफ नेपालका वरिष्ठ उपाध्यक्ष दीपक दाहाल र उहाँबीच दोहोरी चल्यो । अरूले साथ दिए । सिन्धुलीको सित्खा पुगेपछि बस बिग्रियो । बनेपछि मोटर पुल पार गरी खाडाँदेवी गाउँपालिकाको भीरपानी पुग्यौँ । करिब ६ घन्टाको यात्रापछि गाल्पा भञ्ज्याङ पुग्यौँ । झरीले हामीलाई डाँडामा स्वागत गर्यो । ओरालो र समथर बाटो काटेर करिब आधा घन्टापछि एउटा सिँगारिएको रातो स्वागत गेटनेर पुग्यौँ । स्थानीयहरु छाता ओढेर उभिएका थिए । गेटमा लेखिएको थियो, ‘पर्यटकीय गाउँ दोरम्बामा हार्दिक स्वागत छ !’ उनीहरु गाजाबाजासहित खादा र माला लिएर अगाडि बढे । माला, कलिला आरूबखडा, गाजर, मूलालगायत फलफूल तथा तरकारीले बनेका थिए । त्यस भीडमा एक जनालाई चिने । उहाँ दोरम्बा हत्याकाण्डमा बच्न सफल हुनुभएका धनबहादुर तामाङ ‘अमिर’ हुनु हुन्थ्यो । हाल अमिर नेकपा रामेछापका सङ्घीय सांसद श्याम श्रेष्ठका स्वकीय सचिव हुन् । “दुई घन्टा भयो हामीले कुरेको,” एक जना महिलाले हर्षित हुँदै भनिन् । हाम्रा लागि बाटामुनिको हलमा खानाको व्यवस्था थियो । टेबलमा दाल, भात, लोकल आलुको अचार, आलु फ्राई, सिस्नु, मासु, भुइँ स्याउ र गुन्द्रुकको अचार राखिएको थियो । खाना खाएपछि हामी हल्का उकालो हिँडेर माथि कार्यक्रम स्थल पुग्यौँ । भिटोफ नेपाल र दोरम्बा गाउँ पर्यटन विकास समितिको संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरिएको थियो । त्यसै दोरम्बा गाउँको नामका आधारमा गाउँपालिकाको नाम पनि दोरम्बा राखिएको हो ।

भिटोफ नेपालकी महासचिव जस्फा पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभयो । अर्कोे दिन हुने सैलुङ महोत्सवका लागि कुन्ति मोक्तान र कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी टिम पनि त्यहाँ पुगेको थियो । भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडाले दोरम्बाको युद्ध पर्यटनको ऐतिहासिक महत्त्व भएकाले पर्यटन गन्तव्यमा पर्नु स्वाभाविक भएको बताउनुभयो । “पर्यटक यहाँ आउँदा स्थानीयपन तथा आत्मीयताका साथ स्वागत गर्यौँ भने उनीहरु फेरि पनि फर्केर आउने छन्,” उहाँको सुझाव थियो । साथै उहाँले अग्र्यानिक कृषि उत्पादनका फाइदाबारे चर्चा गर्दै भिटोफ नेपालले दूरदराजका नयाँ पर्यटन गन्तव्य उजागर गर्दै स्थानीयको जीवनस्तर उकास्न मद्दत गर्ने बताउनुभयो । कर्णाली प्रदेशको मुगुबाट नेकपाको राष्ट्रिय सभा सदस्य युटोल लामाले दोरम्बाले ओजिलो इतिहास बोकेको भन्दै  त्यसको त्याग र बलिदानको सबैले कदर गर्नुपर्ने बताउनु भयो । मान्य लामाले सुन्दर पर्यटकीय गाउँ दोरम्बामा हरेक नेपाली पुग्नुपर्ने बताउनुभयो । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले दोरम्बाको पर्यटकीय उचाइ र प्रचार प्रसारमा सबै क्षेत्रको विशेष भूमिका रहने बताउँदै भिटोफ नेपालले दोरम्बालाई पर्यटन गन्तव्य घोषणा गरेको कार्यप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले गाउँमा रहेका दसवटा होम स्टेहरुलाई बढाएर आगामी वर्षमा पच्चीस तीस पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । गुरुङ पर्यटन व्यवसायी सङ्घ नेपालका उपाध्यक्ष अम्बिर गुरुङले सबै सरोकारवालाहरुले गाउँ पर्यटन विकासका लागि हातेमालो गर्दै अगाडि बढे । सो अभियान सफल हुने बताउनुभयो । “पहिले पहिले गोरो छाला भएको र नेपाली न बोल्ने पर्यटक हुन्छ भन्ने सोच थियो । अब त्यो कुरा बदलिएको छ,” उहाँले अनुभूति राख्नुभयो । टानका सदस्य रितु ग्यामदानले नेपालको भिन्न संस्कृति पर्यटनमार्फत विश्वसामु उजागर गर्न सकिने बताउनुभयो । पर्यटनविज्ञ प्रेम शर्माले नेपाली सीप तथा कलाले स्थानीयहरुले आफ्नो आम्दनी बढाउन सक्ने उल्लेख गर्नुभयो । अन्य अथितिहरुमा नेकपाका प्रदेश सदस्य सुनीता गौतम, नेपाली काँग्रेसका दोरम्बा गाउँ सभापति केशवकुमार लामा लगायतको उपस्थिति थियो । दोरम्बा गाउँ पर्यटन विकास समितिका अध्यक्ष बमबहादुर मगरले स्वागत मन्तव्य राख्नु भयो । विभिन्न सांस्कृतिक झाँकीसहित कार्यक्रममा डम्फू र लामा नाच प्रस्तुत गरिएको थियो । सोही अवसरमा नेपालको लोक दोहोरी गीतमा विद्यावारिधि गरेकी हवाई विश्वविद्यालयकी प्राध्यापक आना स्टिर, टुङ्ना वादनमा विद्यावारिधि गरिरहेकी अमेरिकी हिलरी ब्रेडी मोरिस, मिस तामाङ २०१८ सिमरण स्याङ्बो, दोरम्बाका ६ वटा विभिन्न सांस्कृतिक नृत्य तथा झाँकी टिमहरु, पङ्क्तिकार लगायत पच्चीस जनालाई सम्मानित गरियो । औपचारिक कार्यक्रम समापनपछि आनाले दोहोरी गाउने इच्छा व्यक्त गर्नुभयो । वासुजीको खोजी भयो । आनाले छानेको भाकामा दाहोरी सुरु भयो, ‘पश्चिम पूर्वको अब भेट कहिले होला र दुईटा धु्रवको’ । 

“हे गर्दिनँ म कसैको हत्ते, दोरम्बावासीलाई मेरो छ नमस्ते । पश्चिम पूर्वको......!”

“कोही केटो छ कि बिहे गर्ने... । पश्चिम पूर्वको ...!”

“खाली त म पनि छु के रे.....। पश्चिम पूर्वको ...!”

“किन होला मलाई नै रोजेको, हो कि तिमी अमेरिका जान खोजेको । पश्चिम पूर्वर्को ..!”

“घास दाउरा गर्ने हो, दूध र भात खाने हो... । पश्चिम पूर्वर्को ....!”

घम्साघम्सी मेलमिलापमा परिणत भयो । विदेशीले दाहोरी गाएको देखेर सबै चकित परे । हिलरी पनि तामाङ पोसाकमा सजिएकी थिइन् । उनले टुङ्ना बजाइन् । झिसमिसे भइसकेको थियो । मुगुको मान्यज्यू, दुई जना गायिका र म एउटै होमस्टेमा बस्यौँ । हामीलाई लिन स्थानीय बाबुराम तामाङ आउनुभएको थियो । गफगाफका क्रममा पोखराबाट आएका एक जना विज्ञले आफूहरुलाई पाँच दिनको सरसफाइ तथा पाकशास्त्र बारे तालिम दिएको बाबुराम बाले बताउनुभयो । एक जना अग्ली सुन्दर आँखा भएकी युवतीले हामीलाई बाहिर खान बोलाउन आइन् । उनी घरबेटीबाकी छोरी आयुष्मा रहेछिन् । अर्को दिन हुने सैलुङ महोत्सवका लागि माइत आएकी थिइन् । पल्लो बूढो घरमा रहेको भान्सामा हामी गयौँ । ढोकाका दुवैतिर दुई 

वटा डाइनिङ टेबल थिए । बायाँ टेबलमा हामी बस्यौँ । दाहिने टेबलमा बाबुराम बा बस्नुभयो । ती नानी खाना पस्किन थालिन् । आमा अलि बिरामी हुनुहुँदो रहेछ । उहाँ अगेनानेर बसेर ठेकीबाट दही निकाल्न थाल्नुभयो । नजिकै किचन र्याकमा ग्यास चुलो पनि थियो । मीठो साकाहारी खाना खाएर सुत्न गयौँ । अर्को दिन बिहान बाहिर निस्किँदा पो हामी बास बसेको ठाउँको सुन्दरता देख्न पाइयो । चारैतिर हरियो बारीमा आलु थियो । अगाडितिर किवीको खेती र आँगनमा बाख्राका पाठा बुरुक्क बुरुक्क उफ्रिरहेका थिए । माथि डाँडाको सल्लेरी वनमा कुहिरो लागेको थियो । आयुष्माले खाजा खान बोलाइन् । घरको दूधको मीठो चिया, आलुको तरकारी र बाबरी रोटी खायौँ । “दिदी ढिला भयो,” भिटोफका केन्द्रीय सदस्य देवीकृष्ण रोकाया भाइको फोन आयो । बाबुराम बाले आँगनमा खादा लगाएर हामीलाई बिदाइ गर्नुभयो । तामाङ पोसाकमा सजिएकी आयुष्मा पनि, हामीसँग शैलुङ हिँडिन् । 

माथि बसमा सबै जना कुरिरहेका थिए । सुरुमा दोरम्बा हत्या काण्ड भएको ठाउँ डाँडाकाटे जाने कुरा थियो । २०६० श्रावण ३२ गते दोस्रो शान्ति प्रक्रिया चलिरहेकै बेला त्यहाँ २१ जना माओवादी कार्यकर्ताको वीभत्स हत्या गरिएको थियो । त्यहाँ सहादत प्राप्त गर्नेहरुमा बाबुराम लामा, अम्बिका दाहाल, प्रदीप दोङ, टेकबहादुर थापा मगर, विष्णुमाया मगर, यादव चौहान, श्याम तामाङ, उमा कार्की, पदमराज गिरी, हर्ष घिसिङ, चतुरमान तामाङ, सोमइ थामी, रामबहादुर लामा (ठूलो), लक्ष्मण तामाङ, राम बहादुर लामा (सानो), युवराज मोक्तान, लिला मोक्तान, हर्क लक्ष्मी राई, उषा (सिन्धुपाल्चोक घर भएकी जनमुक्ति सेना, हालसम्म पनि वास्तविक नाम न खुलेको), भवु लामा र जगत विश्वकर्मा हुनुहुन्थ्यो । ती महान सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै समाधीको गेटमा एक मिनेट मौन धारण गर्यौँ ।

ठूलो रामबहादुर लामा र सानो रामबहादुर लामा एकै घरका दुई भाइ हुनुहुन्थ्यो । त्यस्तै टेकबहादुर थापा मगर र विष्णुमाया मगर दाजुबहिनी हुनुहुन्थ्यो । रामेछाप घर भएका १६ जना पर्नुभएको थियो । मन्थलीबाट आएको तत्कालीन शाही सेनाले शिक्षक युवराज मोक्तानको घरबाट, उनी र उनका छोरासहित सबै माओवादी  कार्यकर्तालाई हात पछाडि बाँधेर त्यहाँ पुर्याएको थियो । शिक्षक बाबुरामको पार्टीमा समलग्नता थिएनन् । त्यसै दिन काठमाडौँबाट भेटघाटमा आएका उनका छोरा लीला मोक्तानलाई पनि छोडिएन । घटनाका बखत काठमाडौँमा रहेका शिक्षकका अर्का छोरा अमरलाल मोक्तानका अनुसार, त्यस दिन उहाँकी आमा घाँस काट्न गएकाले बाँच्नु भएको थियो । सेन्ट्री बस्नुभएको हर्क, लक्ष्मी राई र टेकबहादुर थापा मगरलाई गोली हानि सुरुमै घरबाहिर हत्या गरियो । एघार जना भागेर बाच्न सफल हुनुभयो । धनबहादुर तामाङ ‘अमिर’का अनुसार त्यहाँ खाना खाएर इलाका स्थरको बैठक बस्ने कुरा थियो । बिहानको करिब दस बजेको थियो । उहाँहरु माथि भान्सामा हुनुहुन्थ्यो । सेना आएको सबभन्दा पहिले हालको रामेछाप नेकपा  जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले झ्यालबाट देखेर थाहा पाउनु भयो । उहाँ सेना आयो भन्दै सुरुमै भाग्नुभएको थियो । माथि तलाको झ्यालबाट एकै पटक अमिरलगायत पाँच जना हाम फाल्नुभयो । घरको तल्नो तलामा ग्रिल भएको कारणले धेरै जना भाग्न सक्नुभएन । नेकपाका केन्द्रीय सदस्य हरी दाहाल अन्तिममा ढोकाबाट भाग्नुभएको थियो । तर उहाँकी श्रिमती अम्बिका दाहालको शहादत भयो । प्रत्यक्षदर्शी स्थानीय नोर्बु योन्जनकाअनुसार त्यस दिन सेना सादा पोसाकमा आएका थिए । सबभन्दा अन्तिममा माओवादीका जिल्ला जन सरकार प्रमुख बाबुराम लामाले प्राण त्याग्नु भएको थियो । उहाँलाई पाखुरामा गोली हानेर तड्पिएर मर्न छोडियो । बाँकीलाई लाइन लगाएर टाउकोमा गोली हानियो । त्यसै पर्खालभित्र ती एक्काइस जना सहिदहरुको प्रतिमा बनाउने योजना रहेको छ । आज पनि त्यहाँका स्थानीयहरुले त्योे अत्यन्तै पीडादायक घटना बिर्सन सकेका छैनन ! 

(लेखिका नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सचिव हुन् ।)

laxmipunntv@gmail.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...