शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विरुवा रोपेर पहिलो चरणको ‘जागरण अभियान’ शुरु गर्दै काँग्रेस

महिलावक्ता अनिवार्य, माला–खदा प्रतिबन्ध !
बुधबार, २५ वैशाख २०७६, ०७ : ००
बुधबार, २५ वैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज(बुधबार)देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा निस्किएको छ ।

सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै  ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा वर्षभरि अभियान चलाउने काँग्रेसले जनाएको छ ।

आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ । आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ । अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ ।

दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसचूी सार्वजनिक गरेको छ । पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।

त्यसका लागि काँग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । साथै पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने काँग्रेसले जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र कोषा अध्यक्ष सीतादेवी यादवलाई सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन् । सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, महामन्त्री सशांक कोइराला प्रदेश नम्बर ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेश  र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा खटिएका छन् । उनीहरु एकै समयमा एकै किसिमले जागरण अभियानको प्रारम्भ गर्ने शर्माले रातोपाटीलाई जानकारी दिए ।

यो पनि

काँग्रेसको जागरण अभियान : सुरु नहुँदै पार्टीभित्र ‘ज्वरो’

जागरण अभियानबाट जुर्मुराउला काँग्रेस ?

यद्यपि बजेट अधिवेशन जारी रहेकोले सांसदहरुलाई जिल्लाका खटाउने यसअघिको निर्णयमा परिमार्जन गरिएको छ । पछिल्लो निर्णयअनुसार संघीय संसदमा रहेका सांसदहरु अभियानका लागि जिल्ला जान नपर्ने भएको छ।

उनले भने, ‘पार्टी पदाधिकारीहरुलाई सातवटै प्रदेशमा प्रमुख अथितिका रुपमा पठाइएको छ । यस्तै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ, एकै साथ सबै जिल्लामा अभियानको सुरुवात हुृन्छ । नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमका रूपमा अभियानको प्रारम्भ हुँदैछ ।’

यस्तै प्रवक्ता शर्माले देशबाहिर पनि विभिन्न ३३ मुलुकमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले अभियान गर्नुका १५ वटा उद्देश्य सुनाए ।

‘अभियानको पहिलो उद्देश्य पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने हो । अभियानका क्रममा काँग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामको पनि प्रचार गर्छाैं । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी पनि गर्छौँ । प्रवक्ता शर्माले भने, ‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ । जनता, मतदाता र काँग्रेस पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका मुद्दामा अग्रसर भई पार्टीलाई थप समर्पित गराउने हाम्रो मूल उद्देश्य हो ।’

यस्तै अभियानबाट राष्ट्रव्यापीरूपमा पार्टी पंक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकतासहित सुदृढीकरणका गतिविधि अघि बढाउने प्रवक्ता शर्माको दाबी छ ।

उनका अनुसार अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिलावक्ता अनिवार्य गरिएको छ । त्यस्तै आफूहरुले आजदेखि कुनैपनि कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको अन्त्य गर्ने शर्माले दाबी गरे ।

उनका अनुसार कार्यक्रमको उद्घाटन वरपिपल र स्वमीमध्ये कुनै एक विरुवा रोपेर गरिनेछ । जागरण अभियानका काँग्रेसले १२ भाषामा रहेको गीत प्रस्ुतत गर्ने छ । पार्टी प्रवक्ता शर्मा हुन् । ‘मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारू, राजवंशी, देउडा र नेपाली लयमा गीत तयार गरिएको छ । यसबाट सबै जातिका सबै तहका मानिसहरुलाई जागरण अभियानमा समेट्ने प्रयास गरेका छौँ । यो गीत कार्यकताको माहोललाई ध्यानमा राखेर प्रस्तुत गर्ने छौँ,’ गीतको रचनाकारसमेत रहेका प्रवक्ता शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप